धरानः धरान–१६ मा लागूऔषधसहित युवा पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय धरानले लागूऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो । धरान–१६ पुलचौकस्थित शंका लागि चेकजाँच गर्ने क्रममा प्रदेश १–०२–०५१ प.११२६ नं.को स्कुटरमा सवार धरान–११ हिमालयन चौक बस्ने २३ वर्षीय मनकुमार मगर र पृथ्वीचौक बस्ने १९ वर्षीय रोजन राईको साथबाट लागूऔषध ट्रामाडोल ४७ क्याप्सुल र नियन्त्रित औषधी ४७ ट्याब्लेट भेटेपछि उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यस्तै, धरान–१६ कै नौलो बस्तीमा अस्थायी प्रहरी पोष्ट जोरसखुवाबाट खटिएको प्रहरी गस्ती टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा पैदल हिँडिरहेको १६ वर्षीय सुनिल राईको साथबाट ट्रामोल ४० क्याप्सुल र नियन्त्रित औषधि स्पासपेन ४० ट्याब्लेट फेला परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।