धरानः धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई र केन्द्रीय पार्षद् गोपाल दाहाललाई धम्क्याएपछि उनीहरू प्रहरीमा पुगेका छन् ।
‘हर्क साम्पाङको मनमौजी शासन, बेथितिको दलदलमा धरान’ शीर्षकको समाचार प्रकाशित भएपछि मेयरको साम्पाङको धम्कीपूर्ण भाषापछि उनीहरूले सुरक्षा माग्दै प्रहरीमा पुगेका हुन् ।
शान्ति-सुरक्षा र अनुसन्धानको माग गर्दै उनीहरूले उजुरी समेत दिएका छन् । मेयर साम्पाङले धम्कीपूर्ण भाषा प्रयोग गर्दै धम्क्याएको र उनको समर्थकले मार्नेसम्मको धम्की दिएको र बिहीबार इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएको पीडित पत्रकार दाहालले जानकारी दिए । ‘मेयर साम्पाङले मात्रै होइन, उनका समर्थक र साइबर सञ्जालमा जोडिनेहरूले समेत धम्क्याएका छन्’, उनले भने, ‘धम्क्याउनेलाई कानुनी कारवाहीको माग गर्दै उजुरी दिएका हौं ।’
प्रहरीले यस विषयमा ‘थ्रेट’ का रुपमा लिँदै दुई पत्रकारको घरमा सादा पोशाकमा प्रहरी समेत पठाएको जनाएको छ । पत्रकार दाहालले हिजोदेखि प्रहरीले चासो दिएको बताए । ‘हिजो पनि प्रहरीले सबै लोकेसन माग्यो, मैले सबै डिटेल दिएको छु’, दाहालले भने, ‘अहिले पनि छेऊछाऊ सादा पोशाकमा प्रहरी खटाएका छौं भन्नुभएको छ । त्यसैले पनि सुरक्षित भने महसुस गरिरहेको छु ।’
धम्कीपछि सुरक्षा खतराको महसुस भइरहेको छ र घरभन्दा टाढा कतै निस्किएको छैन भनेर विभिन्न सञ्चार माध्यममा समाचार आउन थालेपछि उनले आफूलाई मुख्यमन्त्रीदेखि सबैले फोन गर्दै आएको समेत बताए । ‘मलाई मुख्यमन्त्रीदेखि गृहमन्त्रालयको सचिवालयबाट फोन आयो, उनीहरूले नडराउनु केही हुँदैन भन्नुभएको छ’, उनले थपे, ‘राष्ट्रिय मानव अधिकार आयोग, पत्रकारसँग सम्बन्धित संघसंस्थाले सोधपुछ गरिदिँदा केही मनोबल उच्च भएको छ ।’
यसअघि मेयर साम्पाङका बारेमा थोरै आलोचनात्मक टिप्पणी लेख्ने, बोल्ने पत्रकारमाथि उनी सिधै जाइलाग्थे । उनीसँग कडा प्रतिवादमा बोल्ने पत्रकारहरूमाथि अस्पतालमै उनका समर्थकले आक्रमण गरेका थिए । आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिएपछि उनका समर्थकले सडकमा उत्रिएर प्रदर्शन गर्दै आक्रमणकारी छुटाउनुपर्छ भनिरहन्थे ।
मेयर साम्पाङले पत्रकार दाहाल र जनकऋषिलाई धम्क्याउँदै पत्रकारिता सिध्याइदिने बताएका छन् । उनले दाहालले खोज पत्रकारिता केन्द्र (खोपके) का लागि ‘हर्क साम्पाङको मनमौजी शासन, बेथितीको दलदलमा धरान’ शीर्षकमा समाचार लेखेको र जनकऋषिले समाचार शेयर गर्नुका साथै ‘नक्कली माओवादीको आरोपित मेयर अब कता लुक्ने ?’ शीर्षक बनाएर युट्युबमा बोलेका थिए ।
दाहालले लेखेको समाचारमा हर्क साम्पाङ नक्कली माओवादी बनेको, तत्कालीन वाईसीएल कार्यकर्ताहरुले उनलाई नियन्त्रणमा लिएर कुटपिट गरेको लगायतका प्रसंग पनि छन् । आफूले सोही समाचार लेखेकाले साम्पाङले धम्क्काउँदै सामाजिक सन्जाल फेसबुकमा बुधबार स्टाटस लेखेको दाहालले बताए ।
हर्कले लेखेका छन्, ‘खोज पत्रकारिता केन्द्रका गोपाल दहाल या कोही प्रतिनिधि भोलि १० बजे तुरुन्तै धरान १८ को ग्रीन टीमा हाजिर हुनु अन्यथा तेरो खोज पत्रकारिताको अन्त्य गरिनछु भने मेरो नाम हर्क साम्पाङ होइन !’ फेरि अर्कोपटक पनि साम्पाङले निशाना साँध्दै स्टाटस लेख्दै ‘शीर ठाडो पारेर’ हिँड्न नसक्ने बनाइदिने भन्दै धम्क्याएका छन् ।
दाहालले समाचार लेखेकै कारण मेयर साम्पाङले धम्की दिएपछि नेपाल पत्रकार महासंघ लगायतका संघसंस्थाले विज्ञप्ति निकालेर विरोध जनाएका छन् ।
उनले सामाजिक सञ्जालमा स्टाटस लेखेपछि बुधबार राति नेपाल पत्रकार महासंघ सुनसरीले विज्ञप्ति जारी गरेको छ । ‘मेयर साम्पाङले धम्क्याएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा सार्वजनिक पदको गरिमालाई ख्याल गर्नुपर्ने, मेयरबाट पत्रकारमाथि यस किसिमको व्यवहार हुनु आफैंमा निन्दनीय र लज्जास्पद हर्कत हो समेत भनिएको छ ।
दाहालले ‘हर्क साम्पाङको मनमौजी शासन, बेथितिको दलदलमा धरान’ शीर्षकमा समाचार लेखेका थिए । कानुनी विपरीत पार्क निर्माण, देउताका नाममा प्लटिङ, नक्कली माओवादीदेखि मेयरसम्म, लहडमा योजना, अनावश्यक खर्च, कर्मचारीको हुर्मत लिँदै, दलकोे बदमासीः साम्पाङको सफलता आदि उपशीर्षकमा खोज पत्रकारिता केन्द्रको सहयोगमा दाहालले समाचार लेखेका थिए । उनले लेखेको समाचार हिमाल खबर डटकम र सिआइजे नेपाल डटकम लगायतका अनलाइन संस्करणमा छापिएका थिए ।
आफू अनुकुल समाचार नलेख्ने र टिकाटिप्पणी मात्रै गर्दै आउने पत्रकार र सञ्चार माध्यमलाई उनले पटक पटक गालीगलौज र धम्की दिँदै आएका छन् । यसअघि पनि मेयर साम्पाङले पत्रकार र मिडिया हाउसलाई धम्की दिँदै आएका छन् । यसअघि सुम्निमा पारुहाङको मूर्ति बनाउन भन्दै च्यारिटी कन्सर्ट गर्ने भनेर कार्यक्रम नगरी पैसा उठाएर विदेश भाग्न लागेको भनी उजुरी पर्न सक्ने भन्दै पत्रकार जनकऋषिले फेसबुकमै लेखेका थिए । उनी निर्वाचित भएलगतै पत्रकारहरूले जनताको प्रश्न गरे ‘यी सबै पार्टीका झोले हुन्’ भन्दै गाली बेइज्जती गर्दै आएका थिए । उनको स्टाटसको अहिले राजनीतिक दलले समेत विरोध गर्दै आएका छन् ।
साम्पाङको अराजक र अशोभनीय अभिव्यक्तिले पत्रकारलाई पेसाप्रति हतोत्साहित र त्रसित बनाएको महासंघको ठहर छ । महासंघ प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न र यस किसिमका घटना दोहोरिन नदिने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।
मेयर साम्पाङले भने पत्रकार सम्मेलन गर्दै पत्रकारले लेखेको जस्तो आफू नभएको प्रष्टयाएका छन् ।
सुनौं, हेरौं भिडियो