Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका मेयर साम्पाङले पत्रकारमाथि कारबाही माग्दै गृहमन्त्रीलाई पत्र

हाम्रो कोशी आवाज
मंसिर २३ २०८१, आइतबार
धरानका मेयर साम्पाङले पत्रकारमाथि कारबाही माग्दै गृहमन्त्रीलाई पत्र

प्रशासकीय अधिकृत नहुँदा कामकाज प्रभावित भएको भन्दै समेत पत्र पठाए
धरानः धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले आफू विरुद्ध समाचार लेखेका पत्रकारलाई कारबाही गर्न माग गर्दै गृहमन्त्रीलाई पत्र लेखेका छन् ।
पत्रमा उनले आफूविरूद्ध समाचार लेखेका खोज पत्रकार केन्द्रका पत्रकारलाई कारबाही गर्न माग गरेका छन् । उनले नक्कली माओवादी बनेर साम्पाङले विगतमा चन्दा असुल गरेकोबारे मंसिर १४ गते पत्रकार गोपाल दाहाल एक समाचारमा उल्लेख गरेका विषयमाथि केन्द्रित रहेर मेयर साम्पाङले आफ्नो चरित्र हत्या भएको भन्दै पत्रकारलाई कारबाही माग गर्दै पत्र लेखेका हुन् ।
आइतबार सामाजिक सञ्जालमा शेयर गरेको पत्रमा साम्पाङले खोज पत्रकारिता केन्द्रका पत्रकार गोपाल दाहाल र नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषिलाई कारबाही गर्न पत्रमा माग गरेका छन् । उनले समाचारले आफ्नो मानहानी गरेको जनाएका छन् । यसअघि पत्रकारहरूले मेयर साम्पाङले धम्कीपूर्ण अभिव्यक्ति दिने गरेको भन्दै गृहमन्त्री रमेश लेखकलाई शनिबार ध्यानाकर्षण पत्र बुझाएका थिए ।
उनले पत्र मार्फत गृहमन्त्रीलाई लेखेका छन्, ‘म जस्तो दिनरात जनताको सेवामा लागिरहने घोटिइरहने जनप्रतिनिधिहरूले निर्वाध रूपमा काम गर्न सकियोस् अन्यथा देशको भलो कहिल्यै हुने छैन । आशा छ तपाईं जनताको मर्म बुझ्नुहुन्छ होला । पार्टी भन्दा ठूलो हुन्छ देश । हो त्यही देशको जनताको अभिमत पाएका हामीले देशलाई बिर्सनुहुँदैन ।’
उनले आइतबार नै संघीय सरकारलाई तीन वटा पत्र पठाएका छन् । दुइटा पत्र गृह मन्त्रालयका लागि हो भने एउटा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई छ ।
उनले ले प्रमुख प्रशासकीय अधिकृत तुरुन्त पठाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेका छन् । जनताको काम अड्किएर गाह्रो भएको उल्लेख गर्दै साम्पाङले आइतबार मन्त्रालयलाई पत्र पठाएका हुन् । ‘प्रमुख प्रशासकीय अधिकृत कहिले पठाउने हो? यहाँ जनताको काम अड्किएर गाह्रो भइसक्यो,’ उनले पत्रमा लेखेका छन्, ‘लौ न तुरुन्तै पठाइदिन प¥यो । धराने जनता पनि नेपाली नागरिक नै हुन् ।’
धरानमा लामो समयसम्म प्रशासकीय अधिकृत कहिल्यै बसेका छैनन् । यसले पनि कामकाज प्रभावित हुँदै आएको छ ।
मेयर साम्पाङले गृह मन्त्रालयलाई पनि पत्र पठाएका छन्। तस्करीको गाडी नियन्त्रणमा लिन माग गर्दै उनले गृहलाई पत्र पठाएका थिए । नेपाली कांग्रेसका कार्यकर्तासमेत रहेका धरान ५ का सन्तोष लिम्बुले सरकारी जग्गामा ढुंगा निकालेर बिक्री गरेको पत्रमा मेयर साम्पाङले उल्लेख गरेका छन् । मंसिर ४ गतेदेखि नगर प्रहरीलाई ढुंगा झिक्ने गरेको ठाउँमा खटाउनु परेको र नेपाल प्रहरीले सहयोग पनि नगरेको मेयर साम्पाङको भनाइ छ ।

प्रकाशित मिति: मंसिर २३ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend