Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका मेयर साम्पाङले धम्की दिएको भन्दै प्रशासन पुगे पत्रकारहरू, धम्की दिएर विदेश जान लागेकी समर्थकको हारगुहार

हाम्रो कोशी आवाज
मंसिर २५ २०८१, मंगलबार
धरानका मेयर साम्पाङले धम्की दिएको भन्दै प्रशासन पुगे पत्रकारहरू, धम्की दिएर विदेश जान लागेकी समर्थकको हारगुहार

धरानः धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) ले प्रेस अभिव्यक्तिको स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप गर्दै तथानाम गालीगौलज र धम्की दिएपछि सुनसरीका पत्रकारहरू अहिले आन्दोलित छन् ।
नेपाल पत्रकार महासंघ सुनसरीको पहलमा अहिले धरानका पत्रकार आन्दोलित भएका हुन् । धरानमा सोमबार मौन जुलुस निकालिसकेका पत्रकारहरू अहिले राज्यको निकायबाटै ‘असुरक्षित भयौं’ भन्दै हिँडिरहेका छन् ।
यसैबीच मङ्गलबार मेयर साम्पाङ र उनका समर्थकले पत्रकार गोपाल दाहाललाई धम्की दिएको विरोधमा प्रशासनको ध्यानाकर्षण गराइएको छ । नेपाल पत्रकार महासंघ सुनसरीले मङ्गलबार इलाका प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको हो ।
इलाका प्रशासन कार्यालय धरानका प्रमुख लक्ष्मीप्रसाद रेग्मीलले पत्र बुझ्दै कानुनी प्रक्रियाका लागि सबै जानकारी सबै निकायमा गराइने बताए । ‘कुन कानुन कतातर्फ आकर्षित हुन्छ, सोही दिशामा हामी अगाडि बढ्छौं’, उनले भने, ‘तपाईहरू ढुक्क हुनुहोस् ।’ उनले कानुनविपरीत कार्य गर्ने, समुदायलाई आतंकित बनाउने जुनसुकै व्यक्ति र पदीय मर्यादामा रहेका जोसुकै भएपनि कानुनी नियन्त्रणमा लिएर सजायको भागिदार हुनुपर्ने बताए ।
खोज पत्रकारिता केन्द्रको खोजमूलक समाचार प्रकाशित गरेका दाहालले समाचार लेखेपछि मेयर साम्पाङ गालीगौलजमा उत्रिएका थिए । मेयर साम्पाङ गालीगौलजमा उत्रिएपछि समर्थकले समेत ‘ज्यान’ मार्ने धम्की दिएको पीडित पत्रकार दाहालले जानकारी दिए ।
कला राई नाम गरेकी व्यक्तिको मोबाइल नम्बर ९७०७३६८७०७ बाट ‘व्हाट्स एप’ मा आएको म्यासेजमा ‘ज्यान’ मार्ने सम्बन्धी धम्की आएको हो ।
म्यासेजमा ‘तेरो दिन धेरै छैन’ भनेर धम्क्याइएको उनले जानकारी दिए । धरानका मेयरले विकास गरिरहेको र उनको कामका विरुद्ध लेखेको भन्ने आशयले म्यासेज गरिएको छ । सो मोबाइल नम्बरमा प्रहरीले सम्पर्क गर्दा उनले आफ्नो नाममा दर्ता भएपनि अरुलाई दिएको बताउँदै रोइकराइ गरेको पीडित पत्रकार दाहालले जानकारी दिएका छन् । ‘मैले म्यासेज गरेकी होइन, यो नम्बर अरूले चलाएका छन्, म विदेश जान लागेको प्लीज यस्तो म विरुद्ध उजुरी नगरिदिनुहोस् ल ।’ उनले यसो भनेको पीडित पत्रकार दाहालले जानकारी दिए ।
यसअघि मेयर साम्पाङले पनि दाहाल र पत्रकार महासंघ, धरानका अध्यक्ष राईलाई धम्की दिएका थिए । यस विषयमा दाहाल र राईले सुरक्षाको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिइसकेका छन् । उनीहरूले इलाका प्रहरी कार्यालयमा शान्ति सुरक्षाको माग गर्दै निवेदन दिएका छन् भने गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाएका छन् ।
सोमबार पत्रकारहरूले नगर प्रमुखको हर्कतविरुद्ध मौन रयाली निकालेका थिए । नेपालको संविधानको मौलिक हकअन्तर्गत धारा १६ सम्मानपूर्वक बाँच्न पाउने हकमाथि मेयर साम्पाङले गत बिहीबार समाचार लेखेकै निहुँमा पत्रकारहरुलाई धम्क्याएका थिए ।
नेपालको संविधानले प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको र स्वतन्त्रतापूर्वक बोल्न र लेख्न पाउने मौलिक हक प्रदान गरेको भए पनि मेयर साम्पाङले पत्रकारिताको अन्त्य गरिदिने, नेपालमै बस्न नसक्ने बनाइदिने समेत बताएका छन् ।
मेयर साम्पाङले पनि आफ्नो मानहानी हुने गरेर समाचार बनाएको बताउँदै गृहमन्त्री लेखकलाई पत्र पठाएका छन् ।
अग्रज पत्रकार हर्ष सुब्बाले समाचार गलत भए लेख्ने पत्रकार पनि दण्डित हुनुपर्ने आफूहरूले बताउँदै आएको बताए । उनले समाचारमा चित्त नबुझे पत्रकारको निगरानी र कारवाही गर्ने संस्था प्रेस काउन्सिल रहेको बताएका छन् । ‘उनलाई यसमा पनि चित्त नबुझे अदालतसम्म पुग्ने बाटो हुँदाहुँदै उनी पत्रकारविरुद्ध खनिएका छन्, यो शोभनीय होइन’, उनले भने, ‘अझ भन्ने हो भने मेयर साम्पाङले समाचार सही भए जस्तोसुकै सजाय भोग्न तयार छु अहिलेसम्म नभन्नु दुःखद् हो ।’

प्रकाशित मिति: मंसिर २५ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend