Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा चासोक तङनाम उल्लासपूर्ण उत्सवकै रुपमा मनाउने तयारी

हाम्रो कोशी आवाज
मंसिर २५ २०८१, मंगलबार
धरानमा चासोक तङनाम उल्लासपूर्ण उत्सवकै रुपमा मनाउने तयारी

धरानः आदिवासी समुदायको उँधौली पर्वका अवसरमा धरानमा चासोक तङनाम उत्सव मनाइने भएको छ । पाँच दिनसम्म मनाइने उत्सवलाई उल्लासपूर्ण बनाउने तयारी भइरहेको छ ।
प्रकृति पूजक आदिवासीहरुको पर्व याक्थुङ-लिम्बु समुदायले चासोक तङनामको रूपमा मनाउँछन् । धरानमा प्रत्येक वर्ष किरात याक्थुङ चुम्लुङको आयोजनामा धरान–१५ स्थित चुम्लुङ हिम परिसरमा सांस्कृतिक मेला हुँदै आएको छ ।
मंसिरे पूर्णिमा ३० गते सुरु हुने चासोक तङनाम उत्सवको तयारी धमाधम भइरहेको चुम्लुङ नगर अध्यक्ष तीर्थ मादेम्बाले बताए । उनका अनुसार बिहीबार बसेको चुम्लुङ केन्द्रीय, जिल्ला, नगर तथा वडा समितिका पदाधिकारीहरूको संयुक्त बैठकले उत्सव सञ्चालनका लागि १०१ सदस्यीय आयोजक समिति गठन गरेको छ ।
उत्सवका लागि चुम्लुङ हिम परिसरमा २१ वटा स्टलहरू रहने छन् । प्रत्येक साँझ आयोजना हुने सांस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकार सहित याक्थुङ, लिम्बु कलाकारहरूद्वारा गायन तथा नृत्य प्रदर्शन हुनेछ । यसपालि लिम्बु समुदायको लोकप्रिय ‘धान नाच’ प्रतियोगिता पनि आयोजना गरिने भएको छ । यस्तै, परम्परागत बाजा च्याब्रुङ प्रतियोगिता हुनेछ ।
परम्परागत खेलकुद प्रतियोगिता, कपडा बुन्ने ‘थाकथाक्मा’ प्रतियोगिता पनि आयोजना हुने जनाइएको छ । चासोक तङनाम उत्सवको अवसरमा याक्थुङ-लिम्बु जातिको पहिरन, च्याब्रुङ सहित सांस्कृतिक र्याली प्रदर्शन गरिने छ ।
पूर्णिमाकै दिन किरात सिरिजंगा लिपिका प्रवर्द्धक सिरिजंगा जयन्ती पनि मनाइने भएको छ । धरान-८ सिरिजंगा (तीनकुने) चोकस्थित सिरिजंगाको शालिकमा माल्यार्पण र च्याब्रुङ नृत्य गर्दै परिक्रमा गरी जयन्ती मनाइने किरात याक्थुङ चुम्लुङ धरान नगर समितिले जनाएको छ ।

प्रकाशित मिति: मंसिर २५ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend