Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा वडास्तरीय महिला फुटबल, धरान-१७ लाई उपाधि, हौसला दिन आइपुगिन् राष्ट्रिय खेलाडी अन्जना (४७ तस्वीर र भिडियो)

हाम्रो कोशी आवाज
मंसिर ३० २०८१, आइतबार
धरानमा वडास्तरीय महिला फुटबल, धरान-१७ लाई उपाधि, हौसला दिन आइपुगिन् राष्ट्रिय खेलाडी अन्जना (४७ तस्वीर र भिडियो)

धरानः धरानमा पहिलोपल्ट वडास्तरीय महिला नकआउट फुटबल आयोजना भएको छ । यसको चर्चा अहिले सर्वत्र छ । कारण– धरान खेलकुदको सहर हो । धरानमा अन्तर्राष्ट्रिय बुढासुब्बा गोल्डकप, गोधुली कप (वडास्तरीय पुरुष खेल) लगायत चर्चित प्रतियोगिता हुँदै आएको र स्थानीय सरकारदेखि केन्द्र सरकारसम्मको यसमा केही भएपनि सहयोग रहँदै आएको छ तर पहिलोपटक आयोजना भएको यस प्रतियोगितामा धरान–१६ वडा कार्यालयले नै आयोजना गरयो ।
वडाले आफैंले पनि केही बजेट विनियोजन गरयो, धरान–१६ का संघसंस्था गुहारयो, देशविदेशबाट केही भएपनि सहयोग जुटायो अनि प्रतियोगिता आयोजना गरयो । करिब ६ लाख ४० हजार रुपैयाँको लगानीमा आयोजना भएको प्रतियोगितामा बिजेता टिमलाई ८० हजार नगद, ट्रफीलगायतको पुरस्कार दिइयो । यस्तै, उपविजेता र प्रथम, द्वितीय रनिङलाई क्रमशः ४० हजार, ३० हजार र १० हजार प्रदान गरिएको वडाध्यक्ष मुरारी भट्टराईले जानकारी दिए ।
मंसिर २२ गतेदेखि ३० गतेसम्म आयोजना भएको प्रतियोगितामा धरानका १५ वटा वडाका महिलारूबीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगिता जनपथ जागरण समाजको संयोजनमा भएको हो ।
प्रथम धरान वडा स्तरीय महिला नक आउट रनिङकपको उपाधि १७ नं. वडाले आफ्नो हातमा पारेको छ । आईतबार धरान १६ स्थित रंगशालामा भएको खेलमा वडा नं. ११ लाई टाईब्रेकरमा ४–३ को गोल अन्तरले हराउँदै वडा नं. १७ ले उपाधि हात पारेको हो ।
धरानका विशेषतः पुरुष केन्द्रित खेलहरू मात्रै हुने गरेको र महिलाहरूको हौसलाको लागि यस्तो प्रतियोगिता आयोजना गरिएको समाजका अध्यक्ष टिका लिम्बूले जानकारी दिए । खेल हेर्न दर्शकहरूको बाक्लो उपस्थिति रह्यो । वडास्तरीय पुरुष खेलमा जति दर्शक थिए, त्यति नै दर्शकको उपस्थिति रहेको थियो ।
कडा प्रतिस्पर्धाबीच धरान–१७ लाई उपाधि
‘प्रथम धरान वडास्तरीय महिला रनिङ कप फुटबल प्रतियोगिता’ नाम दिइएको प्रतियोगिताको उपाधि धरान–१७ ले जितेको छ । आइतबार धरान– १६ स्थित रंगशालामा भएको खेलमा धरान–११ लाई ४–३ को गोल अन्तरले टाइब्रेकरमा हराउँदै १७ ले उपाधि चुमेको हो ।
फाइनल खेलको पहिलोहाफमा धरान–११ र धरान–१७ का दुवै टिमका खेलाडीले कुनै गोल गरेनन् । दोस्रो हाफको २६ औं मिनेटमा धरान–११ की खेलाडी शिक्षा संयोहाङले १ गोल गरिन् । त्यसलगत्तै धरान–१७ की सुनिता राईले १ गोल थपेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
टाइब्रेकरमा धरान–१७ की सुनिता राई, जीनु राई, नम्रता राई र योगिता निरौलाले प्रहार गरेको गोल नै खेलको निर्णायक गोल सावित भएको थियो । प्रतिमा घिमिरे र निकिता राईले प्रहार गरेको बल बाहिरिन पुगेको थियो ।
धरान–११ की अमृता राई, आयुषा राई र शिक्षा संयाहाङले गोल गरेपनि प्रमिशा राई, अनिशा राई र प्रशंसा राईले गोल गर्न सकेनन् ।
खेलमा सर्वोत्कृष्ट खेलाडी धरान–१७ की जीनु राई घोषित भइन् । उनले नगद ५ हजार प्राप्त गरिन् भने धरान–१७ की जुना राईले सर्वाधिक १२ गोल गर्दै सर्वाधिक गोलकर्ता घोषित भइन् । सर्वोत्कृष्ट गोलरक्षक १७ की जीना मगर भइन् । सर्वोत्कृष्ट डिफेन्डर ११ की आयुष्मा राई, वेस्ट मिड फिल्डर ११ की अमृता राई घोषित भइन् । यस्तै खेलको वेस्ट कोच १७ का मोहन राई घोषित भए । उनीहरूले क्रमशः नगद ३ हजार प्राप्त गरेका छन् । खेलको प्लेयर अफ द म्याच ११ की शिक्षा संयोहाङ घोषित भइन् । उनले नगद १ हजार ५ सय पाइन् ।
प्रतियोगितामा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्रालयका मन्त्री सदानन्द मण्डल, एन्फा महिला फुटबल संघकी अध्यक्ष पेमा लामा, नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी गोलकिपर अन्जना राना मगर समेतको उपस्थिति थियो । उनी दर्शकको रोजाइमा पर्नुका साथै खेलमा पनि रोमान्चक र महिला खेलाडीलाई हौसला प्रदान गरेकी थिइन् । उनीसँग साना बालबालिकादेखि युवापुस्ता फोटो खिच्न तँछाडमछाड गरिरहेको दृश्य कम रोमान्चक थिएन ।
कार्यक्रममा प्रमुख अतिथि मन्त्री मण्डल, खेलाडी मगरलगायतले पुरस्कार तथा ट्रफी प्रदान गरे । कार्यक्रममा अधिकांश वडाका वडाध्यक्ष र कार्यपालिका सदस्यहरूको समेत उपस्थिति थियो ।
तस्वीरहरूः हाम्रो कोशी आवाज/खेल नेपाल डटकम

प्रकाशित मिति: मंसिर ३० २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend