Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा छोराको स्मृतिमा बास्केटबल, मुख्यमन्त्री कार्कीद्वारा उद्घाटन

हाम्रो कोशी आवाज
पुष १ २०८१, सोमबार
धरानमा छोराको स्मृतिमा बास्केटबल, मुख्यमन्त्री कार्कीद्वारा उद्घाटन

धरानः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले धरानको खानेपानी समस्याको सधैंका लागि हल गर्न आफूहरूले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।
धरान–१२ स्थित धरान मेघा हिमालयन कलेजमा तेस्रो रेवाहाङ बास्केटबल प्रतियोगिताको उदघाटन कार्यक्रममा बोल्दै उनले भने, ‘‘डेढ वर्षअघि प्रदेश सांसदहरुको पहलमा खानेपानीको स्रोत थप गर्न बजेट विनियोजन गरेको थिएँ, त्यसले थोरै भएपनि योगदान भयो भन्ने विश्वास व्यक्त गर्छ चाहन्छु, सधैको लागि खानेपानी समस्या हल गर्न, व्यवस्थापन गर्न कोशी प्रदेश सरकार उच्च प्राथमिकताका साथ नीतिगत प्रबन्ध र बजेटको व्यवस्थापन गर्न तयार छ, यस कुरामा सबै सहयोग, सद्भाव रहने विश्वास व्यक्त गर्न चाहन्छु ।’
धरान मेघा हिमालयन कलेजका अध्यक्ष कैलाश लिम्बूको अध्यक्षतामा सम्पन्न उदघाटन कार्यक्रममा कोशी प्रदेशका सांसद रमेश बस्नेत, विजय राई, यशोदा कायस्थ, पूर्व प्रतिनिधिसभा सदस्य जयकुमार राई, धरान उपमहानगरपालिका निवर्तमान मेयर तिलक राई, नेकपा एमाले केन्द्रीय सदस्य एवं धरान निवर्तमान उपमेयर मञ्जु भण्डारी, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय अध्यक्ष भीमज्वाला राई, धरान उपमहानगरपालिका उपमेयर अइन्द्रविक्रम बेघा, सुनसरी बास्केटबल संघ अध्यक्ष नारायण सुवेदी, धरान १८ न. वडाध्यक्ष नरेन्द्रकुमार राई प्रविण, रेवाहाङ रुछेन्वुङ राई स्मृति प्रतिष्ठानका अध्यक्ष एवं दिवंगत रेवाहाङका वुवा रेवतिरमन राई, आमा सुजता राईलयायतको उपस्थिति रहेको थियो ।
बास्केटबल शुरु, पहिलो दिन धरान आदर्श, धरान मेघा ए र सियोन स्कुल विजयी
प्रतियोगिताको उदघाटन खेलमा धरान आदर्श कलेज विजयी भएको छ ।
धरान मेघा हिमालयन कलेजको आयोजनामा आयोजित प्रतियोगिताको मुख्यमन्त्री कार्कीले पानसमा दीप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । मुख्यमन्त्री कार्कीले रेफ्रीलाई बल हस्तान्तरण गरेपछि खेल शुरु भएको थियो । उदघाटन खेलमा धरान आदर्शले सुनाखरी स्कुललाई ६६–४७ अंकको अन्तरले पराजित गरेको छ । खेलमा धरान आदर्श र सुनाखरीले प्रत्येक क्वाटरमा २०–१०, १०–११, १७–१७ र १५–९ अंक जोडेका थिए ।
धरान मेघा ए टिमले डिपो वि टिमलाई ४१–२६ र सियोन स्कुलले युनाइटेड गोर्खा एकेडेमीलाई ५९–११ अंकको विशाल अन्तरले पराजित गरयो । मेघा ए र डिपो बि टिमले प्रत्येक क्वाटरमा ९–२, १३–७, ११–४ र ९–१३ अंक जोडेका थिए । यसैगरी सियोन स्कुल र युनाइटेड गोर्खाले प्रत्येक क्वाटरमा २३–१, १०–५, १०–३ र १६–२ अंक जोडेका थिए ।
दिवंगत पूर्व बास्केटबल खेलाडी रेवाहाङ राईको स्मृतिमा विगत तीन वर्ष अघिदेखि धरान मेघा हिमालयन कलेज, बास्केटवल संघ र रेवाहाङका परिवारको सहकार्यमा प्रतियोगिता थालिएको थियो । धरान–१८ निवासी रेवाहाङ राईको १६ वर्षको उमेरमा २०७७ माघ २० गते निधन भएको थियो ।
कार्यक्रममा बोल्दै स्व. रेवाहाङका बुबा रेवतीरमण राईले समाजमा केही भएपनि योगदान गरौं र खेल क्षेत्रको विकासमा टेवा दिनुपर्छ भनेर आफूहरु लागिपरेको बताए । उनले स्थानीय र प्रदेश सरकारले यस प्रतियोगितालाई सहयोग गर्नुपर्ने बताए । उनले हालसम्म प्रतियोगिता टिकाइरहन ५ हजार, १० हजार माग्दै हात लम्काइरहनुपर्ने बाध्यता समेत रहेको समेत बताए ।
१२ कक्षासम्मका विद्यार्थीहरूले मात्र सहभागिता हुन पाउने प्रतियोगितामा १४ टिमले सहभागिता जनाएको छ । प्रतियोगिताका बिजेता टिमले नगद २५ हजार, उपविजेताले नगद १२ हजार ५ सय, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट खेलाडी, मोस्ट भ्यालुएवल प्लेयर र उदयीमान खेलाडीले नगद पुरस्कारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । पुस ५ गते सम्म सम्पन्न हुने प्रतियोगिताको सम्पूर्ण खेल धरान मेघा कलेजको बास्केटल कोर्टमा हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: पुष १ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend