धरानः धरान मेघा कलेजको आयोजनामा आयोजित धरान मेघा यु १८ रेवाहाङ मेमोरियल बास्केटवल प्रतियोगिताको फाइनलमा आयोजक धरान मेघा ए र होलिल्याण्ड स्कुल फाइनलमा भिड्ने पक्का भएको छ ।
बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक धरान मेघा ए टिमले सियोन स्कुललाई ५१–३९ अंकले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित बनाएका हुन् । प्रतिस्पर्धात्मक भएको खेलको पहिलो क्वाटरमा सियोन स्कुल ८–४ अंकले अघि रह्यो भने दोस्रो, तेस्रो र चौथो क्वाटरमा धरान मेघा कलेज १४–११, १३–११ र २०–९ अंकको अन्तर बनाउँदै फाइनल यात्रा तय गरयो ।
सेमिफाइनल खेलमा होलिल्याण्ड स्कुलले टावर टेम्पल स्कुल झापालाई ५९–३७ अंकको अन्तरले सहज जीत निकाल्दै फाइनल पुगेको हो । होलिल्याण्ड र टावर टेम्पल स्कुल झापाले प्रत्येक क्वाटरमा १४–६, ४–१४, २०–५ र २१–१२ अंक जोडेका जोडेका थिए ।
१२ कक्षासम्मका विद्यार्थीहरुले मात्र सहभागिता हुन पाउने प्रतियोगितामा १४ टिमले सहभागिता जनाएको थियो । प्रतियोगिताका विजेता टिमले नगद २५ हजार, उपविजेताले नगद १२ हजार ५ सय, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका उत्कृष्ट खेलाडी मोस्ट भ्यालुएवल प्लेयर र उदयीमान खेलाडीले नगद पुरस्कारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगितामा धरान बास्केटबल संघ, सुनसरी बास्केटबल संघ र रेवाहाङ रुछेन्बुङ राई स्मृति प्रतिष्ठानको विशेष सहयोग रहेको छ । फाइनल खेल शुक्रबार बिहान ८ बजे धरान मेघा कलेजको बास्केटबल कोर्टमा हुनेछ ।