धरानः धरानमा आयोजित बास्केटबल प्रतियोगिताको उपाधि आयोजक धरान मेघाले आफ्नै पोल्टामा पारेको छ ।
धरान मेघा कलेजको आयोजनामा आयोजित धरान मेघा यु १८ रेवाहाङ मेमोरियल बास्केटबलमा अत्यन्तै प्रतिस्पर्धात्मक भएको फाइनल खेलमा भएको थियो । आयोजक धरान मेघा कलेजले होलिल्याण्ड इन्टरनेशनल स्कुललाई थप समयमा ६२–५९ अंकको अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।
निर्धारित समयसम्ममा दुवै टिमले ५५–५५ बराबर अंक जोडेपछि चार मिनट समय थप गरिएको थियो । थप समयमा धरान मेघाले ७–४ अंगको अग्रता लिदै उपाधी जितेको हो । निर्धारित समयको प्रत्येक क्वाटरमा धरान मेघा र होलिल्याण्डले १६–८, ४–८, २०–१९ र १५–१० अंक जोडेका थिए । फाइनल खेलमा धरान मेघाका प्रशान्त तामाङले उत्कृष्ट प्रदशन गर्दै ब्यक्तिगत ३३ अंक जोडेका थिए ।
उपाधिसँगै धरान मेघा कलेजले नगद २५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । उपबिजेता होलिल्याण्ड स्कुलले नगद १२ हजार ५ सय रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिताको मोस्ट भ्यालुएबल प्ल्यरको (एमभिपी) उपाधि आयोजक धरान मेघाका प्रशान्त तामाङ घोषित भए । उनले नगद दुई हजार ५ सय, ट्रफी, प्रमाणपत्र र फ्रेन्ड्स सिनेमाको दुइ ओटा फ्री कुपन प्राप्त गरे । प्रतियोगिताको उदयीमान खेलाडी राइजिङ प्लेयरको उपाधि मेघा अलेजका सिजन गुरुङले प्राप्त गरे उनले नगद १ हजार ट्रफी, प्रमाणपत्र र फ्रेन्ड्स सिनेमाको दुईओटा फ्री कुपन प्राप्त गरेको छ ।
बिजेता तथा उपबिजेताहरूलाई कार्यक्रमका सभाध्यक्ष धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्बू, प्रमुख अतिथि धरान उपमहानगरपालिका उपमेयर अइन्द्रबिक्रम बेघा, सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी, रेवाहाङ रुछेन्बुङ स्मृति प्रतिष्ठानका अध्यक्ष रेवतीरमण राई, धरान १८ वडा सदाय जमुना त्रिखत्री मोक्तानलगायतले पुरस्कार वितरण गरेका थिए ।
१२ कक्षा सम्मका विद्यार्थीहरुले मात्र सहभागिता हुन पाउने प्रतियोगितामा १४ टिमले सहभागिता जनाएको थियो । प्रतियोगितामा सुनसरी बास्केटबल संघ र धरान बास्केटबल संघको सहयोग रहेको थियो ।







