Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

येशु ख्रीष्ट जन्मोत्सवमा आज ‘क्रिसमस डे’ मनाइँदै, देशभर सार्वजनिक बिदा

हाम्रो कोशी आवाज
पुष १० २०८१, बुधबार
येशु ख्रीष्ट जन्मोत्सवमा आज ‘क्रिसमस डे’ मनाइँदै, देशभर सार्वजनिक बिदा

धरानः नेपालसहित विश्वभरका इसाई धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदैछन्।
अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा जिसस क्राइस्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मावलम्बीले आज क्रिसमस मनाउन लागेका हुन्।
दुई हजार वर्षअघि जेरूसेलमको बेथलेहममा मारियमको कोखबाट जिसस क्राइस्टको जन्म भएको मानिन्छ। उनले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । ‘क्रिसमस डे’ का अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।
क्रिसमस डेमा इसाई धर्मावलम्बीहरूले येशुको शिक्षा एवं उपदेशको मनन गर्नाका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गर्छन्।
क्रिसमसका अवसरमा सहरमा बढीजसो विशेष रौनक छ। बजार र ठूला व्यापारिकस्थलमा क्रिसमस ट्री लगायतले सजाइएको छ।
आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएको नेपाल ख्रिष्टियन महासंघका अध्यक्ष सिबी गहतराजले बताए ।
उनले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रुपमा मनाउने गरेका छन् । मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रुपमा आजको दिनलाई मनाउने गरिएको उनले सुनाए । विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महासंघले महोत्सवका रुपमा मनाउने थालेको हो ।
दिवसका अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । यस अवसरमा विसं २०७५ देखि २०७७ सम्म भने क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो । विसं २०७८ देखि यस अवसरमा फेरि सबैलाई सार्वजनिक बिदा दिन थालिएको छ ।
हाल नेपालमा ३५ लाख क्रिश्चियन धर्मावलम्बी रहेको महासंघको दाबी छ । १५ हजारभन्दा बढी चर्च बनिसकेको पनि महासंघले बताउँदै आएको छ । नेपालमा क्रिश्चियनका १३ वटै सम्प्रदायका चर्च रहेको जनाइएको छ ।

प्रकाशित मिति: पुष १० २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend