धरानः धरान–८ बाट लागूऔषधसहित युवा पक्राउ परेका छन् ।
धरानमा लागूऔषध भित्रयाउन लागेका उनलाई प्रहरीले चेकिङका क्रममा प्रहरीले समातेको हो । धरान–८ दुर्गापथ सडक खण्डमा प्रहरी सहायक निरीक्षक आत्माराम कार्कीको कमाण्डमा खटिएको प्रहरीले चेकिङका क्रममा प्र.१–०२–०४६ प ७२६७ नम्बरको मोटरसाइकलमा सवारी दुई युवाको साथबाट लागूऔषध फेला परेको थियो ।
लागूऔषधसहित ३० वर्षीय सन्जोग तामाङ र २४ वर्षीय रुक्सन पाख्रिनले बोकेको प्लास्टिकको झोला चेक गर्दा झोलाभित्र लागूऔषध ट्रामाडोल १०३ पिस र नियन्त्रित औषधि स्पासपेन १०३ गरी जम्मा २०६ पिस प्रतिबन्धित लागूऔषध फेला पारेपछि उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ ।
यसैबीच सुनसरी प्रहरीले अवैध लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ। टेम्पोमा गाँजा लोड गरी भारततर्फ जाँदै गरेका उनीहरूलाई नेपाल भारत सीमानजिकै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी रामप्रसाद तिमसिनाले बताए ।
सुनसरीको हरिनगरा गाउँपालिका-७ यादव टोलस्थित भित्री सडक खण्डमा देवानगञ्जबाट घुस्कीतर्फ जाँदै गरेको को १ ह २२६१ नम्बरको टेम्पोलाई चेकजाँच गर्ने क्रममा एकसय ७ केजी गाँजा बरामद गरिएको डीएसपी तिमल्सिनाले बताए।
उनका अनुसार टेम्पोमा गाँजा ओसारपसार गर्ने अटो चालक देवानगंज गाउँपालिका वडा नम्बर-२ बस्ने २० वर्षीय आलम अन्सारी र मञ्जुल मियालाई पक्राउ गरिएको छ । पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएर थप अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले बताएको छ।