धरानः धरानमा राजनीतिक दल खोल्ने हिसाबले चार संगठन मिलेर ‘संयुक्त पहिचानवादी मोर्चा’ गठन गरेका छन् ।
धरानमा शुक्रबार पत्रकार सम्मेलन गरेर घोषणा गरिएको मोर्चामा प्रा.डा. महेन्द्र लावती संयोजक रहेको पहिचानवादी मोर्चा, केपी पालुङ्वा अध्यक्ष रहेको नेपाल जनमुक्ति पार्टी, डकेन्द्र सिंह थेगिम संयोजक रहेको प्रदेश नं. १ पुनः नामांकन अभियान समिति र ज्ञानबहादुर गुरुङ संघीय अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीका प्रदेश समिति आबद्ध छन् ।
मोर्चालाई दल बनाएर आगामी २०८४ सालको निर्वाचनमा भाग लिने योजनाका साथ आफूहरू अघि बढेको जनमुक्तिका योगेन्द्र पालुङवाले जानकारी दिए । ‘मोर्चालाई वैकल्पिक राजनीतिक शक्ति बनाउने हाम्रो घोषणा हो’, उनले भने । उनका अनुसार नयाँ दल निर्माण नभएसम्म चक्रीय प्रणालीका आधारमा डकेन्द्रसिंह थेगिमको संयोजकत्वमा मोर्चाको चार सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ ।
संयुक्त पहिचानवादी मोर्चा बनाउन सात महिनायता निरन्तर छलफल चलिरहेको थियो । आज डकेन्द्रसिंह थेगिम संयोजक, मधुराज केरुङ सदस्य–सचिव र केदार धिमाल सदस्य रहेको ‘एकीकृत शक्ति निर्माण अन्तरसंवाद समिति’ गठन भएपछि मोर्चा घोषणा गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
भविष्यमा नयाँ राजनीतिक शक्ति (दल) निर्माण गर्नको लागि पहिचानवादी मोर्चा गठन गरेको संयुक्त पहिचानवादी मोर्चाका सदस्य मण्डलका एक नेता प्रा.डा. महेन्द्र लावतीले बताए ।
पहिचानवादीको संयुक्त मोर्चा बनाउन सात महिना देखि कसरत गरेका थिए । यसबीच सात पटकसम्म गम्भीर छलफल, बैठक, अन्तक्रिया भएको उनले जानकारी दिए । संयुक्त पहिचानवादी मोर्चाले नयाँ दलको विचारधारा, कार्यदिशा, सांगठनिक संचरनालगायत बारे छलफल गर्दै टुङ्गो लगाउन कार्यदल पनि निर्माण गरेको जनाएको छ ।
मोर्चाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा विभिन्न जनसंघर्षहरुले राणा शासन, पञ्चायत र राजतन्त्रको अन्त्य गरे पनि कायमै रहेको एकल जातीय राज्यले भ्रष्टाचार, विभेद र असमानाता व्यापक बनाएको र देशलाई समृद्ध हुनबाट अवरोध सृजना गरेको छ । नश्लवादी ठूला दलका नीतिगत भ्रष्टाचार र दलाल पुँजिवादी पोस्ने नीतिका कारण लाखौँ नेपाली युवाहरू विदेशिन बाध्य छन् ।’
चरणवद्धरुपमा अन्य पहिचानवादी शक्तिहरूलाई पनि मोर्चामा आबद्ध गराउँदै लैजाने नीति खुल्ला रहेको पनि मोर्चाले जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘सांस्कृतिक विविधताले भरिपूर्ण समाजमा बहु सांस्कृतिक, बहुराष्ट्रिय र बहुल राष्ट्रिय राज्य स्थापना गर्न, पहिचानमा आधारित न्यूनतम १० प्लस १ सक्कली संघीयता सुनिश्चित गर्न, भ्रष्ट्राचार नियन्त्रण तथा सुशासन स्थापना गर्न इमानदार जनमुखी राष्ट्रिय राजनीतिक शक्तिको आवश्यकता भएकाले विस्तारित छरिएर रहेका पहिचानवादी संगठनलाई एक ठाउँमा ल्याउँदै पाँच महिनाभित्र देश जिम्मा लिन सक्षम राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले मोर्चा निर्माण गरिएको हो ।