Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा तमु ल्होसार धुमधामले मनाउने तयारी, सर्पलाई स्वागत, देशभर सार्वजनिक विदा

हाम्रो कोशी आवाज
पुष १५ २०८१, सोमबार
धरानमा तमु ल्होसार धुमधामले मनाउने तयारी, सर्पलाई स्वागत, देशभर सार्वजनिक विदा

धरानः धरानमा गुरूङ (तमु) जातिले धुमधामसाथ नयाँ वर्ष ल्होसार मनाउने भएका छन् ।
हरेक पुस १५ गते मनाइने यो परम्परागत चाड धरानमा पनि भव्यता र धुमधामका साथ मनाइने भएको छ । धरान–१८ स्थित नेपाल बौद्ध गुम्बा पूर्वाञ्चलमा भेला भएर गुरुङ समुदायले तमु ल्होसार धुमधामसाथ मनाउने भएका हुन् । प्रत्येक पुस १५ गते झकिझकाउ पाराले गुम्बा सजिसजाउ गर्दै गुरुङ समुदायले ल्होसार मनाउने गरेका छन् ।
गुम्बाका सचिव एवम् तमु हयुल छोंज धीं धरान नगर उपाध्यक्ष यम तमु गुरुङले यस वर्ष भव्यताका साथ कार्यक्रम आयोजना गरिने बताए । यस वर्ष गरुढ वर्ग (मुप्रि ल्हो) लाई लाई विदा गरेर सर्प (सप्री ल्हो) लाई स्वागत गरिने सचिव यमले जानकारी दिए । धरानमा वर्षेनी धुमधामका साथ यो चाड मनाउँदै आएको पनि बताए । आदिवासी तमूहरुले मनाउँदै आएका मुख्य चाडपर्वहरु धेरैजसो प्रकृतिसँग सम्बन्धित रहेको उनको भनाइ छ ।
तमु हयुल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् धरान नगर समितिले धरान–१८ स्थित नेपाल बौद्ध गुम्बा पूर्वाञ्चलमा भेला भई कार्यक्रम सम्पन्न गरिने र तयारी पनि पूरा भएको सचिव यमले जानकारी दिए ।
पौष १२ गते सोमबार गुम्बा सरसफाइ तथा सजिसजावट, पौष १३ गते बिहान ७ बजेदेखि बज्र किलाया पूजा (ग्रहशान्ति पूजा), पौष १४ गते बज्र किलाया पूजा दिनको २ बजे सामूहिक ग्रहशान्ति, पौष १४ गते बेलुका सांस्कृतिक कार्यक्रम (आमा समूहबाट) पुरानो वर्गलाई विदाइ र स्वागत गरिने (बुद्ध युवा परिवार), पौष १५ गते बिहान ६ः३० बजेदेखि गणकजक्र पूजा, आयु अभिषेक, पौष १५ गते बिहान ११ः३० बजेदेखि सामूहिक भोजन, खेलकुद तथा शुभकामना आदानप्रदान, (बुद्ध युवा परिवार, तमु सांस्कृतिक कलाकार संघ) कार्यक्रम रहेको उनले जानकारी दिए ।
जसमा तोला ल्होसार पनि एक हो । यो तमुहरूको पहिचानजन्य चाड हो । ‘ल्हो’ भन्नाले वर्ष तथा ‘सार’ भन्नाले नयाँ भन्ने बुझाउँछ । प्रत्येक वर्ष ल्होसारका अवसरमा आफ्ना मान्यजनबाट आशिर्वाद लिने र शुभकामना आदानप्रदान गरिन्छ । प्रत्येक १२ वर्षमा युग परिवर्तन हुने र यी वर्षलाई मुसा, गोरु, बाघ, खरायो, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, बँदेल र कुकुरका प्रतीकका रुपमा लिइन्छ ।
तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । राम्रो लगाउने र मीठो खाने यो सांस्कृतिक पर्व नेपाललगायत चीन, सिङ्गापुर, मङ्गोलिया, मलेसिया, भारत, थाइल्यान्ड, भियतनाम, भुटान, लाओस, म्यान्मार, जापानलगायतका देशमा मनाइन्छ । फैलिएका गुरूङहरू बढ्दो भूमण्डलीकरणका कारण संसारभर छरिएर रहेका छन् नै आफू जहाँ रहेपनि आफ्नो भाषा, संस्कार संस्कृतिलाई माया गर्ने गुरुङ समुदायले पुस १५ गतेलाई तमु ल्होसारका रूपमा संसारभर धुमधामले मनाउँछन् ।

प्रकाशित मिति: पुष १५ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend