Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा ‘नयाँ राजा’ घोषणा (६६ तस्वीर र भिडियोसहित)

हाम्रो कोशी आवाज
पुष १५ २०८१, सोमबार
धरानमा ‘नयाँ राजा’ घोषणा (६६ तस्वीर र भिडियोसहित)

धरानः धरानमा गुरूङ (तमु) जातिले धुमधामसाथ नयाँ वर्ष तमु ल्होसार मनाएका छन् ।
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै मेयर साम्पाङले मौलिक चाडपर्वले मौलिकता जोगाउन भूमिका खेलेको बताउँदै मौलिकता, पहिचान र जातीय अस्तित्वलाई बचाउन यस्ता चाडपर्वले सघाउन पुग्नुका साथै पुस्तान्तरण गर्न पनि सहयोग गर्ने समेत बताए ।
नेपाल बौद्ध गुम्बा गुरुङ सेवा समिति र तमू ह्युंल छेंज धीं गुरुङ राष्ट्रिय परिषद धरान कार्य समितिको आयोजनामा धरानमा तमू ल्होसार मनाइएको हो ।
तमु राजा घोषणा
यसैबीच सोमबार आयोजित कार्यक्रममा तमु राजा घोषणा गरिएको छ । घैला फुटाउने प्रतियोगिता आयोजना भएसँगै यस वर्ष धरान–११ का नरेश गुरुङलाई धरानको ‘नयाँ तमु राजा’ घोषणा गरिएको हो । करिब १३ जना घैला फुटाउने कार्यक्रममा सहभागी भएका उनले मात्रै घैला फुटाएका थिए । घैला फुटाउन सफल भएपछि उनलाई धरान क्षेत्रका ‘नयाँ तमु राजा’ घोषणा गरिएको हो । धरान–११ निवासी उनी हाल बेलायत (युके) मा सपरिवार बस्दै आएका छन् । उनी सपरिवार नै धरान आइपुगेका हुन् । उनलाई सम्मान गरिनुका साथै १५ तोला चाँदीको तक्मा (मेडल), फेटा गुथिएको थियो ।
अर्को वर्ष पुनः अर्को नयाँ राजा चयन गरिन्छ । उनी राजा चयन भएपछि अधिकांशले खदाले स्वागत गर्दै गुम्बामा घुमाएका थिए । ‘उनलाई अब एक वर्षका लागि तमु राजा भनेर बोलाइने अर्थात् सम्बोधन गरिन्छ’, नेपाल बौद्ध गुम्बा पूर्वाञ्चलका अध्यक्ष बकसमान तमु गुरुङले भने । उनलाई गुम्बामा हुने विविध कार्यक्रममा राजाको रुपमा बोलाएर आसन ग्रहणसहितको कार्यक्रम गरिने उनले जानकारी दिए । धरानमा यसरी नै वर्षेनी तमु राजा चयन हुने गरेको गुम्बाका उपाध्यक्ष यम तमु गुरुङले जानकारी दिए । ‘गुरुङको परम्परा जोगाउन यस्तो कार्य गर्दै आएका छौं’, उनले भने ।
तमु हयुल छोंज धी गुरुङ राष्ट्रिय परिषद्की जिल्ला उपाध्यक्ष टंककुमारी गुरुङका अनुसार पहिला पहिला तमुहरुको राज्यमा जो वीर छ उसैलाई राजा घोषणा गरिने गरिन्थ्यो । ‘त्यसको लागि दौडिने, छेलो हान्ने, घैलो फुटाउने प्रतियोगिता भइरहन्थ्यो । जसले जित्छ उही राजा हुन्थ्यो, त्यसैको निरन्तरता हो यो ।’ उनले भनिन् ।
कार्यक्रममा अन्य जातिका मानिसहरु पनि गुरुङ पहिरनमा सजिएर आएको देखिन्थ्यो । धरान–११ की सन्जीता लिम्बूले आफूलाई गुरुङ जातिको पहिरन मनपर्ने हुनाले र यो चाडबारे जानकारी लिन आइपुगेको बताइन् ।
हरेक पुस १५ गते मनाइने यो परम्परागत चाडका अवसरमा शुक्रबार विविध सांस्कृतिकलगायतका कार्यक्रम पनि भए । कार्यक्रममा म्युजिक चियर, सांस्कृतिक कार्यक्रम, लोकप्रिय नृत्य कौडा नृत्य पनि पस्किइएको थियो ।
यस वर्ष गरुड (तो ल्हो) लाई विदा गरेर सर्प (सप्री ल्हो) वर्गलाई स्वागत गरिएको छ । तमु हयुल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् धरान नगर समितिले धरान–१८ स्थित नेपाल बौद्ध गुम्बा पूर्वाञ्चलमा भेला भई कार्यक्रम आयोजना भएको हो । नेपाल बौद्ध गुम्बा पूर्वाञ्चलका अध्यक्ष अध्यक्ष बकसमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संरक्षक भद्रमान गुरुङ, गुम्बाका लामा गुरु खेम्पो नरेश गुरुङलगायत विभिन्न जातजातिहरुको पनि सहभागिता रहेको थियो ।
‘ल्हो’ भन्नाले वर्ष तथा ‘सार’ भन्नाले नयाँ भन्ने बुझाउँछ । प्रत्येक वर्ष ल्होसारका अवसरमा आफ्ना मान्यजनबाट आशिर्वाद लिने र शुभकामना आदानप्रदान गरिन्छ । प्रत्येक १२ नयाँ वर्षमा युग परिवर्तन हुने र यी वर्षलाई मुसा, गोरु, बाघ, खरायो, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, कुकुर र बँदेलका प्रतीकका रुपमा लिइन्छ । यो पर्व चीनमा विकास भएर तिब्बत हुँदै नेपाल आइपुगेको संस्कृतविद्हरु बताउँछन् । राम्रो लगाउने र मीठो खाने यो सांस्कृतिक पर्व नेपाललगायत चीन, सिङ्गापुर, मङ्गोलिया, मलेसिया, भारत, थाइल्यान्ड, भियतनाम, भुटान, लाओस, म्यान्मार, जापानलगायतका देशमा मनाइन्छ ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

 

प्रकाशित मिति: पुष १५ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend