धरानः धरान–१ स्थित धरान आदर्श माध्यमिक विद्यालयमा मंगलबारदेखि खेलकुद सप्ताह शुरु भएको छ ।
कलेजका प्रिन्सिपल लोकेन्द्र श्रेष्ठले रिवन काटेर शुरु गरेको खेल सप्ताहमा अधिकांश विद्यार्थीको सहभागिता थियो । कलेजले पढाइका साथै अतिरिक्त क्रियाकलापमा पनि सक्दो जोड दिँदै आएको र पठनपाठनसँगै विद्यार्थीहरुलाई अन्य अतिरिक्त क्रियाकलापमा जागरुप गराउन खेलकुद सप्ताह आयोजना गरिएको प्रिन्सिपल श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार खेलकुद सप्ताहअन्तर्गत फुटबल, बास्केटबल, भलिबल, टेबलटेनिस, ब्याडमिन्टन, एथ्लेटिक्स, सटपुट, क्रिकेट, चेसलगायतका दर्जनौं खेलहरू खेलाइने भएको छ । यस्तै, ओरेटरी कन्टेस्ट, नृत्यलगायतका विधामा पनि प्रतिमा प्रदर्शन गरिने भएको छ ।
खेलकुद प्रतियोगितामा कुल २१ वटा खेलहरूमा विद्यार्थीहरूले प्रतिस्पर्धा गर्ने उनले जानकारी दिए । उनका अनुसार सबै खेलकुदका नतिजा समापनको अवसरमा सार्वजनिक गर्दै विजयी विद्यार्थीलाई समापनको अवसरमा पुरस्कार प्रदान गरिनेछ ।
धरान आदर्श शैक्षिक गतिविधि साथै खेलकुदमा पनि अब्बल छ भन्ने देखाउन यस्ता प्रतियोगितात्मक खेलकुदमा जोड दिँदै आएको शैक्षिक निर्देशक डा. मोहन पोख्रेलले जानकारी दिए । उनका अनुसार शिक्षा क्षेत्रमा धरान आदर्श ले उत्कृष्ट नतिजा निकाल्नुका साथै खेलकुद, नृत्यलगायतका अतिरिक्त क्रियाकलापमा पनि अब्बलता सावित गर्दै आएका छन् ।
‘शैक्षिक नतिजा हेर्दा कलेजका विद्यार्थीले धरान साथै कोशी प्रदेशमै उत्कृष्ट नतिजा निकाल्दै आएको छन्’, उनले थपे, ‘अतिरिक्त क्रियाकलाप फुटबल, भलिबल, टेबलटेनिस, बास्केटबल, ब्याडमिन्टन, नृत्य, गायन, वक्तृत्वकलालगायतका विभिन्न प्रतियोगितामा हाम्रा विद्यार्थीले हारेका छैनन् ।’
तस्वीरहरुः हाम्रो कोशी आवाज




































