धरानः कोशी लोकमार्गअन्तर्गत धरान–इटहरी सडक खण्डमा लागूऔषध सेवन गरेर यात्रुबाहक बस तथा मालवाहक सवारी साधन चलाएको आरोपमा १४ जना चालक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमन तिम्सिनाका अनुसार १४ जना चालक, सहचालकलाई प्रमाणसहित पक्राउ गरेर थप अनुसन्धान भइरहेको छ । सो स्थान हुँदै आवतजावत गर्ने सवारी साधनका चालक, सहचालकले लागूऔषध सेवन गरी सवारी चलाउने गरेको गुनासोपछि प्रहरीले चेकजाँच गरेको थियो ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका वडा नं. ८ बस्ने वर्ष २१ को अमिन राई, मोरङ बेलबारी नगरपालिका वडा नं. २ बस्ने वर्ष २६ को चालक उज्जल श्रेष्ठ, तेह्रथुम लालीगुराँस नगरपालिका वडा नं. ३ बस्ने वर्ष २५ को निश्चल कार्की, उदयपुर त्रियुगा नगरपालिका वडा नं.३ बस्ने वर्ष २८ को किरण थापा, झापा गौरदह नगरपालिका वडा नं. ४ बस्ने वर्ष ३९ को हरिबहादुर ठकुरी, मोरङ कानेपोखरी गाँउपालिका वडा नं. ४ बस्ने वर्ष ४६ को श्याम चौधरी, झापा कन्काई नगरपालिका वडा नं.१ बस्ने वर्ष ३५ को रूपलाल ऋषिदेव रहेका छन् ।
यस्तै, झापा मेचीनगर नगरपालिका वडा नं. १२ बस्ने वर्ष १९ को सुमन विक, इटहरी उपमहानगरपालिका वडा नं. १३ बस्ने छोरा वर्ष २० को समिर मगर, मोरङ उर्लाबारी नगरपालिका वडा नं. ६ बस्ने वर्ष २२ को भुवन न्यौपाने, उदयपुर त्रियुगा नगरपालिका वडा नं. ५ बस्ने वर्ष २२ को राहुल राई, सुनसरी इटहरी उपमहानगरपालिका वडा नं. २० बस्ने वर्ष ४१ को कृष्ण सुवेदी, इटहरी उपमहानगरपालिका वडा नं. १२ बस्ने वर्ष २८ को सुवोध चौधरी, इटहरी उपमहानगरपालिका वडा नं. २ बस्ने वर्ष ४१ को दीपक घले गुरूङ रहेको प्रहरीले जनाएको छ ।
यात्रुबाहक बस तथा मालबाहक सवारी साधनका चालकहरूले लागूऔषध सेवन गरी सवारी साधनहरू चलाउछन् भन्ने सुइँको पाएको प्रहरीले इटहरी–२० स्थित सडक खण्डमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय इटहरी, कोशी प्रदेश प्रहरी अस्पताल र प्रहरी चौकी तरहराबाट खटिएको संयुक्त प्रहरी टोलीले सवारी साधनहरुको चेकजाँच तथा सवारी चालक, सह–चालकहरूको स्वास्थ्य परीक्षण गर्दा सवारी चालक तथा सह–चालकहरू पक्राउ परेको उनले जानकारी दिए ।
कोशी प्रदेश प्रहरी अस्पताल सुनसरीबाट खटिएका चिकित्सक डाक्टर सत्रुधन बहरदारले स्वास्थ्य परीक्षण गर्दा उनीहरूले लागूऔषध मोरफिन र मारिजुउना सेवन गरेको पाएपछि उनीहरूलाई तत्कालै पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।