धरानः धरान उपमहानगरपालिकाले भोलि शनिबार धरान दिवस मनाउँदैछ । धरानले हरेक वर्ष पुस २० गतेलाई धरान दिवसका रुपमा मनाउने गरेको छ ।
धरान दिवस ‘धरान उत्सव’ कै रुपमा मनाउन लागेको हो । धरान–१६ स्थित रंगशाला परिसरमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले जानकारी दिए ।
भोलिदेखि ४ दिनसम्म अर्थात २४ गतेसम्म धरान उत्सवको आयोजना हुनेछ । भोलि विभिन्न संघसंस्थाका झाँकी र रयालीसहित बजार परिक्रमापछि रंगशाला परिसरमा उत्सवको उद्घाटन हुने उनले जानकारी दिए ।
उद्घाटन कार्यक्रममा धरानमा योगदान पुरयाएका व्यक्तिहरुलाई सम्मान, उत्सवस्थलमा शैक्षिक, कला साहित्य, खाद्य प्रदर्शनी तथा बिक्री कक्ष राखिने भएको छ । पुस २१ गते साइक्लिङ र साहित्य सम्मान कार्यक्रम, पुस २२ गते इस्टर्न सिङ्गीङ सुपर स्टार सिजन–१ र लोक दोहोरीसहितको जुहारी कार्यक्रम राखिएको छ भने पुस २३ गते वाकाथुन, रस्सी तान र छेलो हान्ने कार्यक्रम रहेको प्रचारप्रसार संयोजक दिनेश गजमेरले जानकारी दिए । यस्तै, पुस २४ गते श्रमदाता रयाली, सांस्कृतिक झाँकी प्रस्तुति, प्रशंसापत्र वितरण र धन्यवाद ज्ञापन कार्यक्रम गरेर उत्सवको समापन गरिने उनले जानकारी दिए ।
फुटबलमा मेयरदेखि वडाध्यक्षसम्मको सहभागिता
विशेषतः उत्सवको प्रचारप्रसारमा सहयोग पुरयाउने उद्देश्यले आयोजित मैत्रीपूर्ण फुटबल आयोजना भएको छ । प्रतियोगितामा भाग लिन मेयर साम्पाङ, सबैजसो वडाका वडाध्यक्षहरू सहभागी थिए ।
कर्मचारी र जनप्रतिनिधिबीच आयोजित फुटबल प्रतियोगितामा धरान उपमहानगरपालिकाका कर्मचारीको समूह विजयी बनेको छ । जनप्रतिनिधिको समूहसँग ३–० गोल अन्तरले कर्मचारीको समूह विजयी बनेको हो । फुटबलमा नगर प्रहरी सरोज राईले २ गोल, अधिकृत हिमाल गौतमले १ गोल गरेका थिए ।
धरान–१३ का वडाध्यक्ष नेत्र काफ्लेले यस्ता कार्यक्रमले सबैलाई एक ठाउँमा पार्ने बताउँदै फुटबलले कर्मचारीदेखि जनप्रतिनिसम्मलाई एकै ठाउँमा जुटाएको बताए । धरान–११ का वडाध्यक्ष लोकेन्द्र फागोले आपसी सदभाव , भाइचारा कायम गर्न यस्ता कार्यक्रमहरू गरिरहनुपर्ने बताए ।
रमाइलो खेल कवडडीमा वडा सदस्य र कर्मचारीको भव्य उपस्थिति
प्रचारप्रसार गर्ने उद्देश्यले नै शुक्रबार दिउँसो धरानका वडा सदस्य, कार्यपालिका सदस्य र कर्मचारीबीच कबड्डी प्रतियोगिता आयोजना भएको छ । मेयर साम्पाङले १३ हजार र धरान–१८ का वडाध्यक्ष प्रविन राईले २ हजार गोजीबाटै झिकेर दिएपछि महिला वडा सदस्य, कार्यपालिका सदस्य र महिला कर्मचारीहरू हौसिएर खेल खेलेका थिए ।
फाइनलमा कर्मचारीको समूहले जनप्रतिनिधि महिलालाई ४०–१२ को फराकिलो अन्तरले पराजित गरयो । कार्यक्रममा उपस्थित धरान–११ का वडाध्यक्ष लोकेन्द्र फागो, धरान–५ का वडाध्यक्ष मनप्रसाद लिम्बू, धरान–१ का वडाध्यक्ष यज्ञमणि आचार्यलगायतले उनीहरूलाई पुरस्कार प्रदान गरे । बिजेता बनेको कर्मचारी टिमले ६ हजार, उपविजेता टिमले ३ हजार नगद रुपैयाँ पाएको छ ।































