धरानः पूर्वको आधुनिक एवं विकसित शहर धरान स्थापना भएको १२४ औं वर्ष पुगेको छ ।
हरेक वर्ष पुस २० गते स्थापना दिवस मनाउँदै आएको धरान उपमहानगरपालिकाले यो वर्ष पाँचदिने धरान डे उत्सव आज शनिबारदेखि आयोजना गरेको छ । आधुनिक धरान शहरको जग वि.स.१९५७ सालमा बस्ती बस्न थालेको र त्यही आधारमा तत्कालीन धरान नगरपालिकाले २०५७ सालमा शतवार्षिकी महोत्सव आयोजना गर्ने गरेको थियो । त्यसैबेलादेखि धरानमा पुस २० गतेलाई धरान स्थापना भएको मानककोरुपमा लिएर धरान दिवससँगै उत्सवका रुपमा मनाउन थालिएको हो ।
धरान–१२ स्थित पब्लिक स्कुलको मैदानमा भेला भएर सांस्कृतिक झाँकीसहितको रयाली निकालिएको थियो । रयालीमा विद्यार्थी, सामाजिक संघसंस्था साथै धरानबासीको उपस्थिति रह्यो । सांस्कृतिक झाँकीसहितको रयालीमा धरान उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्षहरूको पनि उपस्थिति रहेको थियो ।
मेयर हर्कराज राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जेष्ठ नागरिक तथा ज्येष्ठ श्रमदाता ८८ वर्षीय काजीमान गुरुङ प्रमुख अतिथि थिए । उनले नै कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा पूर्व प्रदेश प्रमुख गोविन्द तुम्वाहाम्फे, कोशी प्रदशका सांसद रमेश बस्नेत, उपमेयर अइन्द्रविक्रम बेघा, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठ, नेपाली कांग्रेसका सभापति श्याम पोख्रेललगायतले बोलेका थिए । उनीहरूले धरान बनाउन सबैको हातेमालो जरुरी रहेको बताएका थिए ।
कार्यक्रममा बोल्दै मेयर साम्पाङले सप्तकोशीको पानीको लागि केन्द्र सरकारले सहयोग नगरेको गुनासो गरे । उनले भने, ‘खासमा भन्ने हो भने म निर्वाचित भएदेखि नै खानेपानीका लागि मरिहत्ते गरिरहेको छु जति गरेको छु त्यो धरानबासीको लागि पर्याप्त होइन तर केन्द्र सरकारले भने कतिपटक केन्द्रमा धाएपनि सप्तकोशीको पानी ल्याउन बजेटको व्यवस्था गर्न सकेको छैन ।’ उनले आफूले केन्द्र सरकारको ढोका ढक्ढक्याइरहेपनि नसुनेपछि थाल लिएर ठटाउन सिंहदरबार पुग्ने समेत बताए ।
धरान उत्सवमा धरानमा योगदान पुरयाएका व्यक्तिहरू साथै उत्कृष्ट करदातालाई पनि सम्मान गरिएको थियो । धरानको लागि योगदान गर्ने सचेत धराने समूह, स्वतन्त्र नागरिक समाज, धरान–समाज युके, हर्क साम्पाङ सपोर्ट कमिटी युकेलगायत दर्जनौं संघसंस्था र व्यक्तित्वहरूलाई समेत सम्मान गरिएको थियो ।
‘घुम्न जाऔं धरान’ नारासहित शुरु भएको उत्सवमा व्यापारिक स्टलहरु राखिएका छन् भने विभिन्न जातीय समुदाय तथा संघसंस्थाहरुले मौलिक सँस्कृति झल्कने स्टलहरु पनि राखिएको छ । साथै, विभिन्न जातीय परिकारको स्टलहरुले उत्सवको आकर्षण बढाएको छ । यस्तै, उत्सवमा शैक्षिक प्रदर्शनी, कला साहित्य कार्यक्रम, खाद्य र पुष्प प्रदर्शनी तथा बिक्री कक्ष राखिएका छन् उत्सव अवधिभर बेलुकी ५ बजेपति साँस्कृतिक कार्यक्रमहरु पनि आयोजना हुनेछ ।
भोलि पुस २१ गते साइक्लिङ र साहित्य सम्मान कार्यक्रम, पुस २२ गते इस्टर्न सिङ्गीङ सुपर स्टार सिजन–१ र लोकदोहोरीसहितको जुहारी कार्यक्रम, पुस २३ गते वाकाथून, रस्सी तान र छेलो हान्ने कार्यक्रम रहेको प्रचारप्रसार संयोजक दिनेश गजमेरले जानकारी दिएका छन् ।
तस्वीरहरूः हाम्रो कोशी आवाज













































