धरान: धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जवाफी पत्र पठाएका छन् ।
उनीविरुद्ध श्रम संस्कृति पार्क निर्माण, खानेपानी आयोजनाहरु निर्माण र सुम्निमा पारुहाङकाे प्रतिमा निर्माणमा अख्तियारको दुरुपयोग गरेको र अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको छ । उजुरी परेपछि अख्तियारले पठाएको पत्रको जवाफ लेख्दै अख्तियारले आफूलाई मुद्दा लगाएको छक्क परेको बताएका छन् । शुक्रबार प्रमुख सापाङले अख्तियारले पठाएको श्रम संस्कृति पार्कबारेको पत्रको जवाफ दिदैं फोहोरै फोहोर रहेको पार्कलाई बगैँचाको रूपमा परिणत गरेको बताएका छन् ।
सापाङले पठाएको पत्रको जवाफमा ऐन विपरीत कुनै किसिमको योजना नगरिएको उल्लेख छ । उनले अख्तियारलाई लेखेको जवाफमा भनेका छन्- विदेशीले हाम्रो हून र चिन्यो तर नेपाल सरकार र यसका अङ्ग अख्तियारले मलाई मुद्दा लाको लाकै लाको लाकै लाको लाकै …लाको लाकै गर्छ । छक्क पर्छु ।
‘यो पार्क कुनै बजेटको योजना नभएर जनताको श्रम प्रतिको सम्मान र धमदान अनि योगदानको इतिहास हो । बजेटको काम नभएकोले सार्वजनिक खरिद गर्न नपरेको जानकारी गराउँदछु, जे गर्दैछन् जनताले आफ्नै खर्चले गर्दैछन् ।’ उनले पत्रमा भनेका छन्, ‘सरकारी पैसा प्रयोग भएको छैन । दाताले खाना खानु भनेर दिएको पैसाको खाना खाको कुरा सरकारले खोज्नु हुन्न । नेताहरूले विदेश भ्रमणमा कति खाए कार्यकर्ताले सभा सम्मेलनमा कति खाए राज्यको कोष कसरी दुरुपयोग भयो र हुँदैछ त्यसतर्फ ध्यान दिनु उचित हुन्छ ।’
उनले आफू अभियन्ता हुँदा धरानमा ५६ करोड ऋण बोकाएर एडिबी को आयोजनाले पानी खुवाउन नसक्दा पनि अख्तियारले छानबिन समेत नगरेको आरोप लगाएका छन् ।
उनले भनेका छन्, ‘आयोजना फेल भयो भनेर छानबिन गरिपाऊँ भनी मैले नै अभियन्ता हुँदा उजुरी लगाएँ। अख्तियारले सुनेन पत्याएन। उनले आफू आएर धरानमा पानीको दुःख नहोस् भनेर निर्वाचित भए देखिने खोला खोली जोडेर धरानेलाई पानी खुवाएको दाबी गरेका छन् । उनले अख्तियारलाई लेखेका छन् मलाई देखि नसहेर खोइ कसले बारम्बार उजुरी हालिरहन्छ ।’
यस्तो छ साम्पाङको पत्र
