धरानः धरानमा कारमा बन्दक र हातहतियार भेटेपछि प्रहरीले पाँचजना पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरानबाट रासतालतर्फ जाँदै गरेको बा।४ च ४३३ नम्बरको कारमा चेकजाँच गर्दा भरुवा बन्दुकसहितका हातहतियार फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए । प्रहरीले १ थान भरूवा बन्दुक, भरूवा बन्दुकमा लाग्ने फलामको गोली ३ थान, टोटा बन्दुकको गोली २ थान, बारूद र एकथान खुकुरीसहित पाँचजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कारको पछाडिको सिटको मुनि सो हातहतियार फेला परेको प्रहरीले जनाएको छ ।
धरान–१९ स्थित हरियाली सामुदायिक वन परिसर (चारकोशे जंगलमा) बाट उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका वडा नं १३ बस्ने ३५ वर्षीय ज्योतिस चौधरी (चालक), रामधुनी नगरपालिका वडा नं ७ बस्ने ३३ वर्षीय सन्जु राई, रामधुनी नगरपालिका वडा नं ७ बस्ने ३१ वर्षीय विनय राजधामी, रामधुनी नगरपालिका वडा नं ७ बस्ने २८ वर्षीय दिवश माझी, मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं २ बस्ने ४१ वर्षीय मेहरमान भुजेल रहेको प्रहरीले जनाएको छ । कारमा सवार उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
