धरानः धरान-९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयले थप शैक्षिक गुणस्तरका लागि अतिरिक्त क्रियाकलापमा समेत सक्दो जोड दिँदै गएको छ ।
यसैबीच आइतबार प्लस टु (कक्षा–११ र १२) छात्रछात्राले खुलेर प्रतिभा प्रदर्शन गरेका छन् । विद्यार्थीले आफूभित्र लुकेको रहेको प्रतिभा प्रदर्शन गरेर दक्षता देखाउने प्रयास गरे ।
विद्यालयले स्कुल प्राङ्गणमा ‘सिङगीङ र डान्सिङ स्टार सिजन १’ को आयोजना गरेपछि विद्यालयले आफ्नो प्रतिभा देखाउने अवसर पाएका हुन् । विद्यालयले नृत्य र गायन प्रतियोगिताअन्तर्गत प्रतिभा प्रदर्शन गर्ने ‘प्लेटफर्म’ आयोजना गरेको प्रिन्सिपल निलमकुमार श्रेष्ठले जानकारी दिए । ‘विद्यार्थीमा लुकेर रहेको प्रतिभा बाहिर ल्याउन यसपल्टदेखि स्टार आयोजना गरिएको हो’, उनले भने ।
प्रतियोगितात्मक कार्यक्रममा कक्षा–१२ का छात्र रिजन थापाले आफूभित्र लुकेको गायन प्रतिभा प्रदर्शन गर्दै प्रथम स्थान हात पार्न सफल बने । यस्तै, कक्षा–११ मिक्साम लिम्बू द्वितीय र कक्षा–१२ का सुजल केसी तृतीय बनेका छन् ।
यस्तै, एकल नृत्यतर्फ कक्षा–१२ की विभूति उदास पहिलो, कक्षा–११ कि रुचि तामाङ दोस्रो र कक्षा–११ कै प्रसित गुरुङ तेस्रो बन्न सफल भए । सामूहिक नृत्यतर्फ कुसुम र समूह पहिलो, कृषला र समूह दोस्रो र अन्सु र समूह तृतीय बनेका छन् ।
प्रतियोगिताको निर्णायकहरूमा सोही स्कुलमा अध्ययन सकेर गायन क्षेत्रमा सक्रिय भएर लागेका सुरज भुजेल साथै एनोष थापा मगर, सुदीप पाख्रिन, आयुष्ना राई रहेका थिए ।
पढाइका साथै अतिरिक्त क्रियाकलापअन्तर्गत वर्षेनी यस्तो प्रतियोगितात्मक कार्यक्रम आयोजना गर्दै आएको प्लस टु इन्चार्ज नविन शाक्यले जानकारी दिए । ‘मानसिक, शारीरिक साथै भावनात्मकरुपमा विकासका लागि विद्यार्थीलाई सन्तुलित र गुणस्तरीय शिक्षा प्रदान गर्न हदैसम्मको कोसिस जारी नै छ, यसको साथै हामीले पठनपाठन जोड दिँदै अतिरिक्त क्रियाकलापका माध्यमबाट विद्यार्थीको प्रतिभा बाहिर निकाल्न हरतरहले लागिरहेका छौं’, उनले भने ।
उनले विभिन्न थरी अतिरिक्त क्रियाकलापले विद्यार्थीको सर्वाङ्गीण विकास हुन्छ भन्ने विद्यालयले पहिलादेखि नै बुझ्दै आएको र चौतर्फी विकासमा जोड दिएको पनि बताए । उनले प्लस टु तर्फ पनि विद्यार्थीको खेलकुदलगायतका गतिविधिमा पनि जोड दिँदै आएको बताए । उनले क्षमताका आधारमा शिक्षा दिने प्रणालीका कारण विष्णुमा विद्यार्थी थप सिर्जनशील बन्दै गएको समेत बताए । तस्वीरहरूः हाम्रो कोशी आवाज












































