युवतीसहित को को पक्राउ परे ?
धरानः धरानमा प्रहरीले पनि सार्वजनिक बसमा लागूऔषध सेवन (लापसे) गरेर सवारी चलाउनेमाथि निगरानी गर्दै कडाइ गर्न थालेको छ ।
धरान–८ तीनकुनेमा गरिएको चेकजाँचका क्रममा विशेष गरेर सडक दुर्घटनाको न्यूनीकरण गर्ने उद्देश्यले यातायात सवारी चालकहरूको लापसे परीक्षण समेत गरिएको छ । सार्वजनिक यातायातका चालकले लागूऔषधको नशामा सवारी चलाउने गरेको पाइएको छ । जसले सार्वजनिक यातायातको यात्रा कति सुरक्षित छ भन्ने प्रश्न उब्जाएको छ ।
सचेतना फैलाउने उद्देश्यले किटमार्फत् गरिएको परीक्षणमा चालक र सहचालक गरेर १२ जनामा लापसे पोजेटिभ देखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए ।
युरिन टेष्टमार्फत् लापसेको चेकजाँच गर्दा यतिको संख्यामा सवारी चालक र सहचालकले लागूपदार्थ सेवन गरेर सवारी चलाएको समेत पाइएको उनले बताए ।
‘चालकले लागूपदार्थ ओसारपसार मात्रै होइन, आफैं सेवन गरेर अरू सवारी साधनलाई ठक्कर दिने, अंगभंग गराउनेसमेत गरेको पाइएपछि हामी एक्सनमा उत्रिएका हौं,’ उनले भने, ‘लागूपदार्थ सेवन गरेको पत्ता लगाउन हामी लागिपरयौं १२ जनाले लागूऔषध सेवन गरेको पाइयो ।’
चेकिङका क्रममा १२ जनामा पोजेटिभ देखिएको र पक्राउ गरी इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान थालिएको एसपी तिम्सिनाले जानकारी दिए ।
को को पक्राउ परे ?
(१) को१ख ५५४६ नम्बर गाडीको सहचालक धरान–८ बस्ने ३२ वर्षीय निखिल परियार ।
(२) को१ख ७९२३ नम्बर गाडीको सहचालक सोही स्थानका ३२ वर्षीय राजन राई ।
(३) प्र.१–०१–००२ ख ०१९९ नम्बर गाडीको चालक धरान–१७ बस्ने ३९ वर्षीय राजकुमार श्रेष्ठ ।
(४) मे१ख ३५७७ नम्बर गाडीको सहचालक सोही स्थानका ३२ वर्षीय राजेश दाहाल ।
(५) प्र.१–०२–००२ ख ६९९ नम्बर गाडीको चालक धरान–१३ बस्ने २५ वर्षीय जीवन मगर ।
(६) ना१ज १३५५ नम्बर गाडीमा सवार धरान–१५ बस्ने २४ वर्षीय आशिष मगर ।
(७) ना१ज १३५५ नम्बर गाडीमा सवार सोही स्थानका २० वर्षीया सरिता लिम्बू ।
(८) प्र.१–०१–००१ ख ४२०४ नम्बरको गाडीको सहचालक झापा भद्रपुर न.पा. ३ बस्ने २१ वर्षीय अनिल कुमार राजवंशी ।
(९) मे१ख २५५३ नम्बर गाडीको सहचालक मेची न.पा.१० बस्ने ४५ वर्षीय गणेश ठकुरी ।
(१०) मे १ ख २७९१ नम्बर गाडीको सहचालक मेची–७ बस्ने ३२ वर्षीय सुशिल श्रेष्ठ ।
(११) मे १ ख ४०६८ नम्बर गाडीको चालक जिल्ला झापा मेची–१० बस्ने ४६ वर्षीय दुर्गा तामाङ ।
(१२) ना१ज १३५५ नम्बर गाडीको सहचालक सप्तरी राजविराज न.पा. १ बस्ने ३० वर्षीय बरमदेव यादव ।
‘लागूऔषध दुव्र्यसनी नियन्त्रण र सडक यात्रालाई सुरक्षित गर्न हामीले लापसे जाँच अभियान चलाएका हौं,’ इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगूले भने, ‘यो अभियान हामी निरन्तर सञ्चालन गर्ने छौं ।’
जिल्ला प्रहरी कार्यालय सुनसरी, कोशी प्रदेश प्रहरी अस्पताल इनरुवा, जिल्ला ट्राफिक प्रहरी कार्यालय धरान, इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी तीनकुनेको आयोजनमा १५ जनाको संख्यामा प्रहरी टोलीले संयुक्त रुपमा लापसे चेकिङ गरेको थियो ।
‘नियन्त्रणमा लिएर राखिएका चालक र सहचालकलाई के कारबाही गर्न सकिन्छ भन्ने विषयमा हामी कानुनी परामर्शमा छौं,’ एसपी तिम्सिनाले भने । प्रहरीले स्वास्थ्यकर्मीको सहयोगमा लापसेसँगै चालकको सामान्य स्वास्थ्य जाँचसमेत गरेको थियो । विगतमा मादक पदार्थ सेवन (मापसे) मात्र जाँच गर्दै आएको प्रहरी र ट्राफिक प्रहरीले पछिल्लो समय लापसे पनि जाँच गर्न थालेको छ । मापसेजस्तै लापसे गरेर सवारी चलाएको गुनासोपछि प्रहरीले यो अभियान सञ्चालन गरेको हो ।
एसपी तिम्सिनाले दुर्घटनाका धेरै कारणमध्ये चालकले लागूऔषध सेवन गर्नु पनि रहेको बताए । ‘चालकले लागूऔषध सेवन गरेर सवारी चलाउने गरेको सूचना र गुनासा आइरहेका छन्’ उनले भने, ‘पछिल्लो समय दुर्घटना वृद्धि हुँदै जानुको कारण एउटा यो पनि हुनसक्छ ।’ उनका अनुसार लागूऔषध सेवनका कारण दुर्घटना बढ्नुका साथै समाजमा विभिन्न प्रकृतिका अपराध पनि बढेको पाइन्छ ।
उनी भन्छन्, ‘लापसे चेक गर्ने एक प्रकारको किट हुन्छ । यो किटको माध्यमबाट तत्कालै लापसेको रिजल्ट थाहा हुन्छ । उक्त किटले कुन लागूपदार्थ भन्ने छुट्टिँदैन । तर, गाँजा, चरेसलगायत सबै प्रकारका लागूपदार्थ डिटेक्ट गर्छ । पिसाब चेकजाँचका क्रममा पोजेटिभ रिजल्ट आएका सवारी चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिन्छ ।’
मापसे जस्तै लापसेका कारण पनि सडक दुर्घटनामा ज्यान गइरहेको छ, तर स्रोतसाधनको अभावले पर्याप्त जाँच हुन सकेको छैन ।
पछिल्लो समय प्रहरीले गरिरहेको जाँचमा सबै खाले रूटमा चल्ने सवारीसाधनदेखि मालवाहक, यात्रुवाहक, निजी सवारीसाधनका चालकसम्मले लापसे गरेको पाइएको छ । ‘एउटा चालकको गल्तीले धेरै मानिसको ज्यान जोखिममा पर्ने भएकाले सार्वजनिक बसमा केन्द्रित भएका हौं,’ उनी भन्छन्, ‘तर शंका लागेमा यात्रुसमेत गरी सबैलाई जाँच्छौं ।’
धरौटीमा छुटेपछि पनि कतिपय चालकले फेरि लापसे गरेको पाइएको एसपी तिम्सिनाको दावी छ । ‘अझ बढी जाँच गर्ने हो भने लापसे नियन्त्रण प्रभावकारी हुने ठानेका छौं,’ उनी भन्छन्, ‘यसका लागि स्रोतसाधन पर्याप्त हुनुपरयो ।’
लागूऔषधसहित किशोर पक्राउ

यसैबीच धरान–१५ सुवेदी टोलबाट लागूऔषधसहित एकजना किशोर पक्राउ परेका छन् ।
लागूऔषध कारोबार भइरहेको गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय धरानबाट प्रनानि रुद्रबहादुर खड्काको कमाण्डमा खटेको प्रहरी टोलीले टिनको छाना टाटी बेरा भएको खाली घरमा कालो झोलामा लुकाइछिपाइ राखेको अवस्थामा लागूऔषध ट्रामाडोल– ४२३० क्याप्सुल, प्रतिबन्धित औषधी स्पास्पेन–३२३० ट्याब्लेट फेला परेपछि धरान–१४ बस्ने १८ वर्षीय किसान तामाङ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।