धरान एक्सपो–२०८१ को समय तीन दिन थपिएको छ। सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठका अनुसार, व्यापार र मनोरञ्जनप्रति दर्शकहरूको उच्च चासोलाई मध्यनजर गर्दै समय थप गरिएको हो।
माघ ६ गते लोकप्रिय ब्याण्ड रकहेड्सले दमदार प्रस्तुति दिएका थिए भने आज माघ ७ गते चर्चित र्यापर लाहुरेको प्रस्तुति रहनेछ। उनका एनर्जेटिक र हिट ट्र्याकहरूले दर्शकहरूलाई झन् उत्साहित बनाउने अपेक्षा गरिएको छ।
एक्सपोको अन्तिम दिन, माघ ८ गते सबैभन्दा प्रतीक्षित ब्याण्ड कुमा सागरको प्रस्तुति हुनेछ।
धरान एक्सपोले व्यापार, मनोरञ्जन र सांस्कृतिक प्रस्तुतिहरूको माध्यमबाट स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै दर्शक र ग्राहकहरूको मन जित्न सफल भएको छ। आयोजकका अनुसार, यो निर्णयले व्यवसायीलाई थप व्यापारिक सम्भावना दिनुका साथै दर्शकहरूलाई अझ मनोरञ्जनात्मक अनुभव प्रदान गर्नेछ।
धरान एक्सपोमा दुई महत्त्वपूर्ण गोष्ठी सम्पन्न, कृषि र पर्यटनका नयाँ सम्भावना उजागर
धरान एक्सपो–२०८१ अन्तर्गत आयोजित कृषि र पर्यटनसम्बन्धी दुई महत्त्वपूर्ण गोष्ठीहरू सफलतापूर्वक सम्पन्न भएका छन्। यी गोष्ठीहरूले स्थानीय उत्पादनलाई व्यवसायिक बनाउन, पर्यटन प्रवर्द्धनमा नयाँ दृष्टिकोण ल्याउन, र नवीनतम प्रविधिहरूको प्रयोगबारे जानकारी दिन महत्त्वपूर्ण भूमिका खेलेका छन्।
कृषि गोष्ठीमा प्रदेश १ का उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले स्थानीय उत्पादनलाई बजारीकरण गर्ने र आधुनिक प्रविधिको प्रयोगले उत्पादनशीलता बढाउने उपायहरूबारे चर्चा गरे। उनले भने, “कृषिमा युवाहरूको आकर्षण बढाउन र उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन योजनाबद्ध रूपमा अघि बढ्नुपर्छ।”
कार्यशालामा कृषि विज्ञ विष्णुप्रसाद काफ्लेले धरान वडा ४, ५, ६ र २० लाई कृषि उत्पादनका सम्भावनायुक्त क्षेत्रका रूपमा चिनाउनुपर्ने बताए। उनले अदुवा, बेसार, अम्लिसो, तेजपात, केरा, र कोदोजस्ता रैथाने बालीहरूको व्यवसायिक उत्पादनले किसानहरूको आय वृद्धि गर्न मद्दत गर्ने धारणा राखे। साथै, उनले भने, “रैथाने बालीमा प्रचुर पौष्टिक तत्त्व पाइने भएकाले यी बालीहरूलाई संरक्षण र प्रवर्द्धन गर्न विशेष ध्यान दिनुपर्छ।”
गोष्ठीमा नेपालको संविधान, राष्ट्रिय कृषि नीति २०६१, कृषि जैविक विविधता नीति २०६४, र कृषि विकास रणनीति २०१५ ले रैथाने बालीहरूको महत्वलाई उजागर गरेको चर्चा गरिएको थियो। साथै, सरकारको २०७५ देखि सुरु भएको प्राङ्गारिक कृषि प्रवर्द्धन मिसन अन्तर्गत रैथाने बाली प्रवर्द्धन अभियानले किसानहरूलाई थप सम्भावनाहरू सिर्जना गरिरहेको जनाइएको छ।
पर्यटन गोष्ठीमा प्रदेश १ का पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले स्थानीय पर्यटन क्षेत्रको महत्वबारे बोले। उनले धरानको प्राकृतिक र सांस्कृतिक विविधतालाई प्रवर्द्धन गरेर यहाँको पर्यटनलाई नयाँ उचाइमा पुर्याउन सकिने बताए। मन्त्री मण्डलले भने, “स्थानीय पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन यसको मौलिकता र विविधतालाई उजागर गर्न जरुरी छ।”
गोष्ठीमा सहभागी व्यवसायी, किसान, र पर्यटन व्यवसायका प्रतिनिधिहरूले आफ्ना अनुभव र धारणा राख्दै यस्ता कार्यक्रमले व्यावसायिक दृष्टिकोण फराकिलो बनाएको बताए।
धरान एक्सपो माघ ८ गतेसम्म सञ्चालन हुनेछ। यसपटकको एक्सपोमा नेपाल, भारत, बंगलादेश, र पाकिस्तानका १४२ वटा स्टलहरूमा विभिन्न उत्पादनहरू प्रदर्शनमा राखिएका छन्। विशेषगरी, क्यालिबर सुजको सीमित अफर, जैविक सख्खर, र बम्पर अफरले ग्राहकहरूको ध्यान खिचेको छ।
एक्सपो आयोजकका अनुसार, १० करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ। गोष्ठी र अफरले ग्राहक र सहभागीहरूको उत्साह थपेर स्थानीय व्यवसाय र उत्पादन प्रवर्द्धन गर्न विशेष भूमिका खेलेको छ।