धरान: धरानमा हुने २५ औं अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगितामा सुरक्षा व्यवस्था कडाइ गरिने भएको छ ।
आज धरानमा भएको बैठकले गोल्डकपको रजत जयन्तीलाई सफलतापूर्वक रुपमा सम्पन्न गर्ने गरी तयारी गर्ने निर्णय गरेको छ । गोल्डकपको आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङको अध्यक्षतामा भएको बैठकमा सशस्त्र प्रहरी बल सुरक्षा वेस क्याम धरानका प्रमुख प्रहरी नायव उपरिक्षक देवेन्द्रबहादुर सिंह, राष्ट्रिय अनुसन्धान केन्द्र प्रदेश कार्यालय प्रमुख अनुसन्धान अधिकृत नवराज न्यौपाने, जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी प्रमुख प्रहरी निरिक्षक विरेन्द्र थापा, इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक्षक कोमल ठाकुर, प्रहरी निरीक्षक जीवनकुमार गौतम, धरान हङकङ मञ्चका पूर्व अध्यक्ष नानोचन्द्र लिम्बू, १६ नं. वडाका वडाध्यक्ष मुरारीप्रसाद भट्टराई, ८ नं. वडाका वडाध्यक्ष धनबहादुर राईलगायतको उपस्थितिमा बैठक सम्पन्न भएको थियो ।
बैठकमा धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले गेट इन्ट्रीलाई व्यवस्थित गर्नका लागि पहिलाको भन्दा बेग्लै तरिकाले व्यवस्थापन गरेको बताए । उनले भने ‘गोल्डकप अवलोकन गर्न आउने पाहुनालाई भिभिआइपी कार्ड दिँदा त्यसको दुरुपयोग धेरै भएको पाइयो, यसलाई व्यवस्थित गर्नका लागि ए प्लस कार्डको व्यवस्था गरिएको र गेट इन्ट्रिका लागि समेत छुट्टै गेटको व्यवस्था गरिएको छ ।’ उनका अनुसार टिकट काट्ने दर्शकका लागि रंगशालकाको पूर्व उत्तरमा रहेको सानो गेट र मुख्य प्रवेशद्वारको दक्षिण तर्फको सानो गेट प्रयोग गरिनेछ । खेल चलिरहेको समयमा सुरक्षा व्यवस्थालाई चुस्त पारिने क्लबका अध्यक्ष तामाङले जानकारी गराएका थिए । उनका अनुसार क्लबका तर्फबाट ५० जना सुरक्षा स्वयंसेवक, नीजि सुरक्षा गार्डहरुको समेत व्यवस्था गरिएको छ ।
छफलफलमा आफ्नो विचार व्यक्त गर्दै इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरिक्षक कोमल ठाकुरले मदिरा निषेध गर्न सुझाएका छन् । उनले भने ‘मैदानभित्र रहने स्टलमा मदिराजन्य पदार्थ विक्री नगर्न, मदिरा खाएर लठ्ठ भएकाहरुलाई प्रवेश निषेध गर्न र झोला समेत चेकजाँच गर्न सुझाएका थिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी निरिक्षक विरेन्द्र थापाले पार्किङलाई व्यवस्थित गर्नकालागी सडकको बिकल्प खोजेर व्यवस्थापन गर्नुपर्ने धारणा राखेका थिए ।
क्लबले आइतबार खेल तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार पहिलो खेल सहिद स्मारक ए डिभिजन लिग बिजेता चर्च ब्वाइज र ४ पटकको बिजेता पुलिस क्लबबीच हुने आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिए । आगामी माघ १९ गतेदेखि २६ गतेसम्म हुने प्रतियोगितामा साविक विजेता एनआरटी, आयोजक धरान फुटबल क्लब, भारतको युकेएफसी, भुटानको आरटिसी एफसी, इटहरीको राजा क्लब, झापाको केएफटीसी, नेपाल पुलिस क्लब, चर्च ब्वाइज युनाइटेड गरी कुल ८ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले १० लाख रुपैयाँसहित ट्रफी हात पार्नेछ भने उपविजेता हुने टोलीले ५ लाख रुपैयाँ हात पार्नेछ । २०५५ सालबाट सुरु भएको गोल्डकपको पहिलो संस्करणमा दोस्रो भएको आयोजक धरान फुटबल क्लब भने सबैभन्दा बढी पाँच पटक उपविजेतामा चित्त बुझाउँदै आएको छ । यसपटक जित्ने लक्ष्यका साथ टोली तयार भएको अध्यक्ष तामाङको दावी छ ।
विसं।२०५५ सालदेखि शुरु भएको प्रतियोगिता कोभिडको कारण २ वर्ष रोकिए पनि त्यसपश्चात निरन्तर भइरहेको अध्यक्ष प्रताप बताउँछन् । धरान उपमहानगरपालिका १६ रङ्गशालामा हुने प्रतियोगितामा उत्कृष्ट खेलाडीले नगद १ लाख र प्रत्येक खेलको म्यान अप दि म्याचले १५ हजार, सर्वाधिक गोलकर्ताले ३५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले जनही २५ हजार पुरस्कार पाउनेछन् ।