धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नवनिर्मित फार्मेसी जलन र क्यान्सर भवन उद्घाटन भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री एवम् प्रतिष्ठानका सहकुलपति प्रदीप पौडेलले सो भवनको उद्घाटन गरेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले भवन उद्घाटन कार्यक्रममा बोल्दै प्रतिष्ठानमा एमआरआइ र सिटी स्क्यान मेसिन नहुनु दुःखद् रहेको बताए । उनले प्रतिष्ठानको मेसिन प्रतिष्ठान आफैंले सञ्चालन गर्न निर्देशन समेत दिए । ‘प्रतिष्ठानमा एमआरआइ र सिटी स्क्यान मेसिन नहुनु भनेको सर्वसाधारण जनताले ७० प्रतिशत सेवा नपाउनु हो, त्यसैले यहाँ चाँडोभन्दा चाँडो सो मेसिन सञ्चालनमा ल्याउनुपर्दछ ।’
उनले फार्मेसी सेवालाई नेपाल सरकारको परिकल्पना अनुरुप सञ्चालन गर्न निर्देशन दिए र फार्मेसीमा भएको औषधीहरु एवम् सो को मूल्य तालिका समेत सार्वजनिक गर्नेगरी राख्न अनुरोध गरे । नेपालमा स्वास्थ्य जनशक्ति पलायनको अवस्था भएकोले सो लाई निरुत्साहित गर्न स्वास्थ्यकर्मीहरुलाई सहज एवम् तनावरहित वातावरणमा कार्य गर्न दिनु आजको आवश्यकता रहेको उनको भनाइ थियो । स्वास्थ्यकर्मीहरुलाई सम्मान दिनु र उनीहरुलाई दिइने विभिन्न सुविधाहरुमा कटौती गर्न नमिल्ने उनको धारणाथियो । उनले प्रतिष्ठानमा २ सय जना विद्यार्थी पठनपाठन गर्ने क्षमता भएता पनि सो नभएको र त्यसका लागि नीतिगत संशोधन गर्नुपर्ने जरुरी भएको समेत बताए ।
प्रतिष्ठानको आफ्नै फार्मेसी
प्रतिष्ठानले आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ । प्रतिष्ठान र लाइफ केयर फार्मेसीबीचको सम्झौताबमोजिम र सरकारले पनि आफै फार्मेसी सञ्चालन गर्न निर्देशन दिएपछि प्रतिष्ठान आफैंले फार्मेसी सञ्चालन ल्याएको हो ।
नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीतिअनुरुप स्वास्थ्य सेवामा सर्वसाधारणको प्रभावकारीरुपमा पहुँच सुनिश्चित गर्नका लागि प्रतिष्ठान आफैले फार्मेसी स्थापना गरी पूर्णरुपमा सञ्चालनमा ल्याएको हो ।
प्रतिष्ठानको लगानीमा निर्मित उक्त भवनमा भुईतल्लामा फार्मेसी सेवा सञ्चालन ल्याइएको छ । पहिलो तल्लामा क्यान्सरका बिरामीहरुको उपचारका लागि २० शैथ्याको वार्ड सञ्चालनमा ल्याइएको प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले जानकारी दिए । अस्पताल हाताभित्रैबाट औषधीहरु उपलब्ध हुँदा बिरामीहरुलाई रातिको समयमा पनि अन्यत्र जानुपर्ने समस्याबाट राहत भएको रजिष्टार संग्रौलाले बताए । औषधी र औषधीजन्य सामग्रीहरुको उपलब्धतालाई सहज, व्यवस्थित एवम् प्रभावकारी बनाई भर्ना भएका बिरामीहरुलाई अन्यत्र कतै औषधि खरिद गर्न जानु नपर्ने गरी प्रतिष्ठान फार्मेसीबाट बेडमा नै औषधि पुरयाउने लक्ष्य लिइएको उनको भनाइ छ ।
विगत केही वर्षदेखि प्रतिष्ठानको मेडिसिन वार्डमा राखेर क्यान्सर रोगीहरुका उपचार गरिूदै आइएको छ र सो सेवालाई अझ प्रभावकारी र चुस्तदुरुस्त रुपले सञ्चालन गर्न छुट्टै वार्ड सञ्चालनमा ल्याइने उनले जानकारी दिए । त्यसैगरी, दोश्रो तल्लामा विभिन्न कारणले जलेर आएका बिरामीहरुको उपचारका लागि जलन वार्ड सञ्चालनमा ल्याइएको उनले बताए । ‘यसअघि प्रतिष्ठानमा जलेर आएका बिरामीहरुलाई जेनेरल सर्जरी विभाग अन्तर्गत बहिरङ तथा अन्तरङ्ग सेवा प्रदान गर्दै आएको भएतापनि सो सेवालाई अझ प्रभावकारी र चुस्तदुरुस्त रुपले सञ्चालन गर्न छुट्टै वार्ड सञ्चालनमा ल्याइँदैछ’, उनले भने ।
भवन १२ करोड ३७ लाख रुपैयाँ लागतमा निर्माण भएको हो ।
नेपाल सरकारले देशको सातै वटा प्रदेशमा एक एक वर्न सेन्टर स्थापना गर्ने नीति लिएअनुरुप प्रतिष्ठानले सेवा प्रदान गर्ने उनले जानकारी दिए । नेपाल सरकारको निर्देशन बमोजिम नै २५ शैंथ्याको वर्न वार्ड सञ्चालनमा ल्याइएपछि नेपालकै सबैभन्दा ठूलो वर्न सेन्टर हुने प्रवक्ता प्रा.डा. अन्जु प्रधानको भनाइ छ ।
कार्यक्रममा स्वास्थ्य सचिव डा. रोशन पोखरेललगायतको उपस्थिति थियो । कार्यक्रममा बोल्दै धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले बीपी प्रतिष्ठान सुधार्न सबैको हातेमालो जरुरी रहेको बताए । उनले सरकारले ध्यान नदिँदा प्रतिष्ठान उधोगतितर्फ धकेलिन थालेको समेत बताए । उनले मन्त्री पौडेललाई धरानमा खानेपानीको समस्या रहेकोले यसतर्फ पहलकदमी लिन आग्रह समेत गरे ।


प्रतिष्ठानमा उपचार खर्च अभावमा साथै औषधि किन्न नसकेर छटपटाइरहेकी महिला । (पूरा जानकारी भिडियोमा)








