Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान रंगशाला झकिझकाउ, अन्तर्राष्ट्रिय बुढासुब्बा गोल्डकपको तयारी पूरा, धरानले विदेशी खेलाडी ल्यायो

हाम्रो कोशी आवाज
माघ १७ २०८१, बिहिबार
धरान रंगशाला झकिझकाउ, अन्तर्राष्ट्रिय बुढासुब्बा गोल्डकपको तयारी पूरा, धरानले विदेशी खेलाडी ल्यायो

धरानः धरानमा आयोजना हुने २५ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिताको तयारी पूरा भएको छ ।
धरानमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले प्रतियोगितालाई विशेष बनाउन सबै खालको तयारी पूरा भएको जानकारी दिए ।
माघ १९ गतेदेखि २६ गतेसम्म धरान–१६ स्थित रंगशालामा हुने प्रतियोगिताको लागि धरान रंगशाला सजिसझाउ, झकिझकाउ, रंगरोगन साथै मैदानमा रोलर लगाइ मैदान सम्याउने काम भइरहेको छ ।
यसपटक देशीविदेशी गरी ८ टिमले सहभागिता जनाउनेछन् । प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड क्लब एफसी, एनआरटी क्लब काठमाडौं, नेपाल पुलिस क्लब, काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर, राजा क्लब इटहरी, धरान फुटबल क्लब र भुटानको आरटिसी एफसी, भारतको युकेएफसी क्लबले यसपटक सहभागिता जनाउनेछन् ।
कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेतको प्रमुख आतिथ्यतामा उद्घाटन हुने कार्यक्रममा छात्रछात्राको मार्चपास, ८० जना छात्रछात्राको सामूहिक नृत्य, ५ पाउन्डको केक समेत काट्ने तयारी भएको अध्यक्ष तामाङले जानकारी दिए ।
यसपटक धरान फुटबल क्लब जित्ने लक्ष्यका साथ अघि बढिरहेको क्लबका क्लबका महासचिव नविन राई बताउँछन् । उपविजेतामै चित्त बुझाउँदै आएको क्लबले यसपटक राम्रै रणनीति तयार गर्दै पहिलादेखि नै तालिम, प्रशिक्षण पनि दिँदै आएको उनले जानकारी दिए । उनले यसपटक ए डिभिजन लिग खेलिसकेका तीनजना विदेश खेलाडी (अफ्रिकन खेलाडी) क्लबमा भित्र्याइएको उनले बताए । ‘उपविजेतामै चित्त बुझाउँदै आएका हामीले यसले पनि हामी जित्छौं भन्ने लाग्छ ।’ उनी भन्छन् ।
सरकारको बियरसहित मादक पदार्थको ब्रान्डलाई प्रचारको लागि खेलकुद प्रतियोगिता प्रयोजन गर्न नपाउने गरी रोक लगाएपछि यसपटक प्रतियोगिताका पुरस्कारका प्रायोजक समेत भएको जनाइएको छ । पहिलो पुरस्कार धरान बहराइन एकता समाज धरान युकेले १० लाख, दोस्रो पुरस्कार अरुण राई पोर्चुगलले ५ लाख, प्रत्येक खेलाडीको म्यान अफ दि म्याचको पुरस्कार माउन्ट एभरेष्ट ट्रेनिङ सेन्टरले दिनेछन् भने उत्कृष्ट खेलाडीका लागि केन्द्र लिम्बू पोर्चुगल, उत्कृष्ट खेलाडी ७ जनालाई नगद पुरस्कार र ट्रफीसहित केल्मेको ट्रेनर पनि प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले १ लाख पाउनेछन् । त्यस्तै आयोजकले प्रत्येक खेलको म्यान अफ दि म्याचले १५ हजार नगद पुरस्कार दिने व्यवस्था गरेको छ । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले नगद ३५ हजार पाउनेछन् भने उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले जनही नगद २५÷२५ हजार पुरस्कार पाउनेछन् ।
वि.स.२०५५ सालदेखि आयोजना हुँदै आएको प्रतियोगिता एक वर्ष ग्याप भएको थियो भने त्यसपछिका वर्षहरुमा दुखसुख प्रतियोगिता निरन्तर रुपमा हुँदै आएको आयोजक धरान फुटबल क्लबका अध्यक्ष तामाङले बताए । एन्फा खेल सुचिमा गोल्डकप (‘क’ श्रेणी) को मानिएको प्रतियोगिता हो । यसलाई ऐतिहासिक बनाइरहन स्थानीय, प्रदेश र संघ सरकारले अझै सहयोगको जरुरी रहेको धरान–८ का वडाध्यक्ष धनबहादुर राई बताउँछन् ।
यसपटकको निर्णायकमा श्याम हनुवार (फिफा रेफ्री), मनिष अधिकारी (राष्ट्रिय रेफ्री), सहायक निर्णायकमा प्रेम जिमी, महेश खड्का, किरण मगर, समयम बस्नेत, बलिदान राई, इन्द्र थापा मगर छन् ।

प्रकाशित मिति: माघ १७ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend