धरानः धरानमा तामाङ समुदायले सोनाम ल्होछार पर्व धुमधाम र हर्षोल्लासपूर्वक मनाएका छन् ।
तामाङ समुदायले भानुचोकमा भेला भएर हर्षोल्लासपूर्ण सोनाम ल्होछार मनाएका हुन् । तामाङ जातिको नयाँ वर्ष २८६१ सोनाम ल्होछार मनाउनुअघि तामाङ पहिरनमा सजिएर रयाली पनि निकालिएको थियो ।
तामाङ घेदुङ संघका नगर अध्यक्ष सपन योन्जनका अनुसार २८६१ औं वर्ष शुरु हुँदै आजदेखि नै ड्रुक अर्थात् ड्र्यागन वर्गको विदाइ र डुल सर्प अर्थात वर्ग, वर्षमा प्रवेश भएको छ । हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्छोसार मनाउने गरिएको उनले जानकारी दिए ।
तामाङ घेदुङका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामकृष्ण लामाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङ, उपमहानगरकै उपमेयर अइन्द्रविक्रम बेघा विशेष अतिथि थिए । कार्यक्रममा धरान–२ का वडाध्यक्ष रमेश राईलगायत राजनीतिक दलका नेता, कार्यकर्ताहरूको समेत भव्य उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रामकृष्ण लामाले राज्यले तामाङ जातिलाई हेयको दृष्टिले हेरेको बताए । मेयर साम्पाङले बहुजातीय, बहुभाषिक, बहुभार्मिक मुलुकमा सबै जातजातिको भाषा, धर्म, संस्कार, संस्कृतिको जर्गेना गर्नुपर्ने बताए । आफूहरुले धरानमा श्रम अभियानबाट थुप्रै काम गरिरहेको बताउँदै मेयर साम्पाङले सबै धरानबासी यस्तो कामका लागि जुट्नु आवश्यक भइसकेको बताए ।
कार्यक्रममा बोल्दै उपमेयर अइन्द्रविक्रम बेघाले पुर्खाहरुले गरेको कामलाई स्मरण गर्दै सबै जातिले सांस्कृतिक पाटोलाई अघि बढाउँदै आएको बताए । उनले धरानमा सबै जातजातिहरु मिलेर बसेको बताउँदै सबै जातजातिको चाडपर्वलाई उत्तिकै सम्मान गर्दै अघि बढिरहनु सुखद् भएको बताए ।
आजको दिनलाई यो समुदायले नयाँ वर्षको रुपमा पनि मनाउने गर्दछन् । तामाङ समुदायको प्रमुख सांस्कृतिक पर्व सोनाम ल्होछार भएको नन्दलाल तामाङ बताउँछन् । घरघरमा छोरीचेली, छोराछोरी, बुहारी साथै अन्य आफन्तजनलाई डाकेर खानपिन, नाचगानको कार्यक्रम राखिने गरिएको उनले जानकारी दिए ।
तामाङ समुदायका बालबालिका, किशोरकिशोरीदेखि वृद्धवृद्धाहरू समेत घण्टाघर अगाडिको भानुचोकस्थित प्राङ्गणमा भेला भएका थिए । यसअघि धरानका विभिन्न स्थानमा रयाली, झाँकीसहितको प्रदर्शनी पनि आयोजना भएको थियो । मुसा, गाई, बाघ, बिरालो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको र सोहीअनुसार मनाइँदै आएको जनाइएको छ । तस्वीरहरुः हाम्रो कोशी आवाज





























































