Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको सियोन स्कुलका विद्यार्थीले आफैंले परिकार बनाएर चखाए, व्यवहारिक शिक्षामा जोड दिएको पाएँः मेयर हर्क साम्पाङ (६६ तस्वीर र भिडियो)

हाम्रो कोशी आवाज
माघ २० २०८१, आइतबार
धरानको सियोन स्कुलका विद्यार्थीले आफैंले परिकार बनाएर चखाए, व्यवहारिक शिक्षामा जोड दिएको पाएँः मेयर हर्क साम्पाङ (६६ तस्वीर र भिडियो)

धरानको सियोन स्कुलमा मेलादेखि दौड प्रतियोगिता र सियोन ट्यालेन्ट हन्टसम्म

धरानः धरान–१६ स्थित सियोन स्कुलमा विभिन्न कार्यक्रमहरू आयोजना भएका छन् ।
आइतबार बिहान ‘दोस्रो २ किलोमिटर सियोन दौड २०८१’ आयोजना भएको थियो । कक्षा–५ देखि ७, कक्षा–८ देखि १२ छात्रछात्रा र अभिभावक सो दौड प्रतियोगितामा सामेल भएका थिए । स्कुल अगाडिदेखि धरान–१६ स्थित इस्कोन मन्दिर, स्वामीचोक, गणेशमान चोक हुँदै स्कुल परिसरमा दौड प्रतियोगिता टुंगिएको थियो ।
धरान–१६ का वडाध्यक्ष मुरारीप्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न सो प्रतियोगिताको उद्घाटन बेलुन उडाएर गरिएको थियो । प्रतियोगितामा कक्षा–७ सम्म सहभागीका विद्यार्थीमध्ये छात्रतर्फ वियोग लिम्बू प्रथम, उज्ज्वल राई द्वितीय र रेशाङ तामाङ तृतीय बनेका छन् ।
यस्तै, छात्रातर्फ संस्कृति केसी, सोफिया राई, सेसेमा लिम्बू क्रमशः पहिलो, दोस्रो र तेस्रो बने । यस्तै, कक्षा–८ देखि १२ सम्म आयोजित दौड प्रतियोगितामा संयम लिम्बू, संयम राई, चन्चल लामा क्रमशः प्रथम, द्वितीय र तृतीय बनेका थिए । भने छात्रातर्फ नेहा लिम्बू, इक्सा लिम्बू, ऋतु मगर क्रमशः प्रथम, द्वितीय र तृतीय बने । कार्यक्रममा अभिभावकले पनि दौड प्रतियोगितामा भाग लिँदै पुरुषतर्फ रोजन साम्पाङ र महिलातर्फ कविता लिम्बू विजेता बने ।
कार्यक्रमका प्रमुख अतिथि धरान–१६ का वडाध्यक्ष मुरारीप्रसाद भट्टराई, स्कुलका प्रिन्सिपल तथा डाइरेक्टर खड्गबहादुर थापा मगर, सहायक प्रिन्सिपल राकेश चौधरीले उनीहरूलाई प्रमाणपत्र, मेडल साथै नगद पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीलाई क्रमशः नगद २५ सय, १५ सय र ५ सय प्रदान गरिएको थियो ।
दौड प्रतियोगिताअघि अध्यापकहरू उमेश प्रधान, प्रकाश तामाङ र अरुण तामाङ अगुवाइमा मार्चपास र ड्रिल आयोजना भएको थियो । शिक्षिकाहरूले जुम्बा डान्स पस्किएका थिए ।
सियोन कारनेभल अर्थात् सियोन मेला
यसैबीच आइतबार नै स्कुल प्राङगणमा कारनेभल अर्थात सियोन मेला आयोजना भएको थियो । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यार्थीले उनलाई मार्चपासले स्वागत गरेका थिए ।
कार्यक्रममा बोल्दै मेयर साम्पाङले सियोन स्कुलले ‘नयाँ कन्सेप्ट’ ले मेला आयोजना गरेको बताए । उनले विद्यार्थीलाई विभिन्न क्रियाकलापमा सहभागी गराएर सियोन स्कुलले अब्बलता कायम गर्दै आएको बताए । ‘विशेषतः किताबी ज्ञानमात्रै नभएर व्यवहारिक रुपमै विद्यार्थीलाई खरो उतार्नु ठूलो कुरा हो, त्यसका लागि सियोन स्कुलले यसमा जोड दिँदै गएको पाएँ,’ उनले भने, ‘सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’ व्यवहारिक शिक्षाको अभावमा सफल नागरिक बन्न नसक्ने उनको भनाइ थियो । उनले विद्यालयले अनुशासनलाई जोड दिँदै गएको आफूले पाएको बताउँदै घरेलु वातावरण साथै सामाजिकीकरणमा पनि जोड दिन आग्रह गरे ।
मेलामा विद्यार्थीले आफैंले बनाएका विभिन्न खानेकुराका परिकारहरू अभिभावकलाई चखाएका थिए । उनीहरूले आफैंले बनाएका खानेकुरा साथै अन्य सामग्रीहरू बिक्री वितरणका लागि राखिएको अभिभावकले किनेर खानुका साथै सामग्री किनेर लगेका थिए ।
विद्यार्थीले आफैंले सेलरोटी, मःम, चटपटे, मिठाइ, ससेज फ्राइ, वारिष्ठा कफी साथै खेलकुदका सामग्री, स्टेशनरी सामग्री, बेलुनलगायतका सामानहरू बिक्रीका लागि राखेका थिए । विद्यार्थीको उत्कृष्ट स्टललाई पुरस्कृत समेत गरिएको थियो । कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले अवलोकन समेत गरेका थिए ।
सियोन ट्यालेन्ट हन्ट आयोजना
स्कुलले सियोन ट्यालेन्ट हन्ट सिजन २ को फाइनल राउण्ड पनि आयोजना गरेको छ । गीत, नृत्य, स्ट्याडण्ड अफ कमेडीमार्फत् विद्यार्थीको प्रतिभा बाहिर ल्याउन यस्तो कार्यक्रम आयोजना गरिएको सहायक प्रिन्सिपल राकेश चौधरीले जानकारी दिए ।
कार्यक्रममा गायनतर्फ कक्षा–१० का सिर्जन श्रेष्ठ बिजेता, कक्षा–१२ का अर्विन राई फस्ट रनर अप, जुनियर नृत्यतर्फ कक्षा–४ का सिदार्थ तामाङ बिजेता र कक्षा–५ की प्रयुषा राई फस्ट रनर अप बनेकी छिन् । यस्तै, सिनियर नृत्यतर्फ रोयन राई कक्षा–१० बिजेता, सोनिया राई कक्षा–१२ फस्ट रनरअप, स्ट्यान्ड अप कमेडीतर्फ लोजीना लिम्बू कक्षा–८ बिजेता र निनम राई कक्षा–१० फस्ट रनरअप बनेका छन् । कार्यक्रम सञ्चालन कार्यक्रम संयोजक एवम् निर्णायक अध्यापक उमेश प्रधान र अध्यापक सुरज राईले गरेका थिए । कार्यक्रममा विभिन्न कक्षाका विद्यार्थी नृत्य पस्किएर भरपुर मनोरञ्जन दिलाएका थिए ।
विद्यार्थीमा लुकेर रहेको प्रतिभा बाहिर ल्याउन र व्यवहारिक शिक्षा, अनुशासनमा जोड दिनका लागि यस्तो कार्यक्रम आयोजना गरिएको स्कुलका प्रिन्सिपल तथा डाइरेक्टर थापा मगरले बताए ।
तस्वीरहरूः हाम्रो कोशी आवाज

प्रकाशित मिति: माघ २० २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend