धरानः अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका–४ बाट दुईजनालाई ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
बा ०२–०३५ प १५३४ नम्बरको स्कुटर चालक धनकुटा नगरपालिका–४ देब्रेबासका २३ वर्षीय रोशन श्रेष्ठ र पछाडि सवार २४ वर्षीय निरज घिमिरेलाई १६ ग्राम ५६० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको प्रहरी सहायक निरीक्षक भलबहादुर कटुवालले जानकारी दिए ।
गस्ती टोलीले चेकजाँच गर्ने क्रममा धरानबाट धनकुटातर्फ जाँदै गरेका उनीहरूलाई पक्राउ गरिएको उनले जानकारी दिए । उनीहरूको साथमा लिसाइलो पदार्थ (ब्राउन सुगर) प्लास्टिकमा पोको पारिएको अवस्थामा एक पोका फेला पारेको उनले जानकारी दिए । लागूऔषध, युवा र स्कुटरसहित इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी झापाको मेचिनगर नगरपालिका–६ बाट लागूऔषध नियन्त्रण व्यूरो काकडभिट्टाको प्रहरी टोलीले मोरङको शनिश्वरे नगरपालिका–६ का ३० वर्षीय ईश्वर भुजेल र उनको श्रीमती ३८ वर्षीया शान्ति आङ्देम्बे भुजेललाई २ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो छ ।
यता विराटनगर–१५ स्थितबाट लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले सुनसरी इटहरी उपमहानगरपालिका–९ का २५ वर्षीय निशान चौधरीलाई ३ ग्राम २० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । यसैगरी उदयपुरको त्रियुगा नगरपालिका–४ का ३० वर्षीय सरोजकुमार सार्कीलाई एम्पुल १७ वटा, सिरिन्ज १ थानसहित पक्राउ गरेको छ ।