धरानः सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले नेपाली कांग्रेसका नेता तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेका छन् ।
पूर्वमन्त्री समेत रहेका विश्वकर्माले एक टेलिभिजनसँगको अन्तर्वार्तामा धरान खानेपानी योजनाको विषयमा बोलेको विषयलाई लिएर छानबिन गरी दोषी देखिएका कारबाही गर्न माग गरेका हुन् । उजुरीमा उनले विश्वकर्माले २१ करोड रुपैयाँको हिसाब किताब देखाउनुपर्ने समेत माग गरेका छन् ।
उनले उजुरी दिएको पत्र फेसबुकमा राख्दै लेखेका छन्, ‘अख्तियारलाई फेरि एउटा काम दिएँ मैले आज, हेरौँ कतिको इमानदार भएर काम गर्दो रैछ । २४ करोडको हिनामिना देखिन्छ ।’ विश्वकर्माविरुद्ध साम्पाङले आयोगको इटहरीस्थित कार्यालयमा उजुरी हालेका हुन् ।
विश्वकर्माले एक टीभी अन्तर्वार्तामा एडीबीबाट ऋण र अनुदानमार्फत १ अर्ब ५० करोड रुपैयाँ ल्याएर धरानमा खानेपानी योजना सञ्चालन गरेको बताए पनि उपमहानरको लेखा शाखाले १ अर्ब २८ करोड ६ लाख ७५ हजार ६२१ रुपैयाँ मात्रै खर्च गरेको साम्पाङको उजुरीमा छ ।
हिसाब नदेखाएमा कानुन बमोजिम कारबाही गर्न भन्दै उनले अख्तियारमा उजुरी दिएका हुन् । विश्वकर्मा धरान निवासी हुन् ।
हेर्नुहोस् हर्क साम्पाङले मीन विश्वकर्माविरुद्ध अख्तियारमा हालेको उजुरीः
