धरानः साबिक विजेता न्युरोड टिम (एनआरटी) ले २५ औं अन्तर्राष्ट्रिय बुढासुब्बा गोल्डकपको उपाधि रक्षा गरेको छ । चर्च ब्वाइज युनाइटेडलाई शनिबार २–१ को गोलअन्तरले पराजित गर्दै एनआरटीले उपाधि रक्षा गरेको हो ।
धरानमा भएको उपाधि भिडन्तमा चर्च ब्वाइजले सुरुवाती अग्रता लिए पनि खेल भने आफ्नो पक्षमा राख्न सकेन् । २२ औं मिनेटमा चर्च ब्वाइजका एकराज बुढाथोकीको पासमा अनन्त तामाङले एनआरटीविरुद्ध गोल गरेर १–० को अग्रता दिलाएका थिए । तर, यो खुसी चर्च ब्वाइजका लागि ४ मिनेट पनि टिकेन । एनआरटीका रोबर्टको कर्नरमा हेनरी एडुसेट पोकोले गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा ल्याए ।
पहिलो हाफसम्म खेल बराबरीमा रह्यो । दोस्रो हाफमा एनआरटीले थप गोल गर्यो । ५७ औं मिनेटमा एनआरटीका हेनरी एडुसेट पोले पुनः गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए । अन्ततः एडुसेटको व्यक्तिगत दुई गोल नै एनआरटीलाई उपाधि दिलाउन पर्याप्त रह्यो ।
प्रतियोगिताको विजेता बनेको एनआरटीले ट्रफीसहित १० लाख पाएको छ । उपविजेता बनेको चर्च ब्वाइजले ट्रफीसहित पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।
फाइनल खेलको म्यान अफ द म्याच एनआरटीका हेनरी पोको घोषित भए । उनलाई नगद १० हजार पुरस्कार प्रदान गरिएको थियो ।
यस्तै एनआरटीले प्रतियोगिताको व्यक्तिगत विधातर्फ पनि बर्चस्व कायम गरेको छ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी एनआरटीका शिशिर लेखी घोषित भए । उनलाई नगद एक लाख पुरस्कार प्रदान गरिएको थियो ।
हाइ स्कोर चर्च ब्वाइजका खेलाडीद्वय समिर तामाङ र अर्माण्ड भिदोंग घोषित भए । समान ३–३ गोल गरेका उनीहरूलाई नगद ३५ हजार पुरस्कार प्रदान गरिएको थियो ।
त्यस्तै गरी प्रतियोगिताको बेस्ट गोल किपर एनआरटीका प्रमिजय गच्छदार, बेस्ट कोच एनआरटीका हरिओम श्रेष्ठ, बेस्ट फरवार्ड चर्च ब्वाइजका समिर तामाङ, बेस्ट डिफेन्डर चर्च ब्वाइजका पदम भट्टराई, बेस्ट मिड फिल्डर चर्च ब्वाइजका रोहन कार्की घोषित भए । उनीहरूलाई जनही नगद २५ हजार पुरस्कार प्रदान गरिएको थियो ।