धरानः चौकीबारी युवा समाज धरानले चौकीबारी साँझ २०८१ नामक सांगीतिक कार्यक्रम गरी धरान १९ नम्बर वडाबाट प्रतिनिधित्व गर्दै विभिन्न खेलमा स्वर्णपदक विजेता खेलाडीहरू र वडाका जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने भएको छ ।
‘खेलाडी र कलाकारहरूलाई प्रोत्साहन, जेष्ठ नागरिकहरूलाई अभिनन्दन’ भन्ने उद्देश्यका साथ यही फागुन १४ गते शिवरात्रीको अवसरमा ‘चौकीबारी साँझ २०८१’ को आयोजना गरि धरान १९ बाट स्वर्णपदक विजेता खेलाडीहरुलाई नगदसहित सम्मान, ८५ वर्ष उमेरमाथिका वडा जेष्ठ नागरिकहरूलाई अभिनन्दन र दुव्र्यसनबाट पीडित विपन्न ३ जना युवाहरूलाई सुधार केन्द्रमा लाग्ने शुल्क प्रदान गर्ने र ३० घर परिवारलाई स्वास्थ्य बिमा गरिदिने घोषणा गर्न लागेको हो ।
सोमबार चौकीबारी युवा समाजले पत्रकार सम्मेलन गर्दै सो भव्य कार्यक्रम धरान–१९ स्थित जिमी चोकमा अपराहन ३ बजेदखि सञ्चालन हुने समाजका अध्यक्ष उत्तम तामाङले जानकारी दिए । उनका अनुसार कार्यक्रममा चर्चित पप स्टार धिरज राई र सोलो सिंगर धिरेन्द्र मालाकारको धमकेदार प्रस्तुति रहनेछ ।
तामाङका अनुसार कार्यक्रममा उर्जा ब्याण्ड, पुरानोकुपी ब्याण्ड, बदमास ब्याण्ड, द एलाइज ब्याण्डका कलाकारहरुले मनोरञ्जन गराउनेछन् । सो अवसरमा युनाइडेड मल्टी डान्स सेन्टरका कलाकारहरुसँगै रिङछिङ गुरुङ र सरु राईको नृत्य प्रस्तुति पनि रहनेछ । कार्यक्रममा हेटौंडाका रयापर एमएसडी, स्थानीय रयापरहरु वाजालुरे, गेन्जी फुजियोलाई समेत प्रस्तुत गरिनेछ ।
करिब १६ लाख ८० हजार लागतमा सम्पन्न हुने कार्यक्रममा धरान–१९ का हङकङबासीहरूको सहयोग रहने समाजका सचिव सुनिल सुब्बाले जानकारी दिए । कोरिया, बेलायत र अष्ट्रेलियामा रहेका धरानबासी तथा अन्य नेपालीहरूको सहयोगमा यो कार्यक्रम गर्न लागिएको हो । कार्यक्रममा धरान उपमहानगरपालिका, १९ नम्बर वडा समिति, भिजन फिट्नेस धरान, क्रन्च फिट्नेस, हरियाली सामुदायिक वन, चौकीबारी महिला समूह धरान–१९ लगायतको साथ र सहयोग रहने समाजका सचिव सुनिल सुब्बाले जानकारी दिए । युवाहरूलाई दुव्र्यसनबाट जोगाउँदै सत्कर्ममा लाग्न उत्प्रेरित गर्ने र विपन्नहरुलाई सहयोग गर्ने उद्देश्यले धरान वडा नम्बर १९ मा रहेका युवाहरूले चौकीबारी युवा समाज धरान स्थापना गरेका छन् ।