धरानः धरान–१६ स्थित धरान लिगामेन्ट रेसिडेन्सियल स्कुलको ११ औं अभिभावक दिव भव्यताका साथ सम्पन्न भएको छ ।
प्रमुख अतिथि कोशी प्रदेशका भौतिक पूर्वाधार मन्त्री भुपेन्द्र राईले पानसमा दीप प्रज्ज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै मन्त्री राईले विद्यालयहरू विदेशका लागि श्रमिक उत्पादन गर्ने थलो बन्न नहुने बताए । आफ्ना छोराछोरीहरु के का लागि पढाउँदै छु भन्ने कुरा बुझ्न अभिभावकहरुलाई आग्रह गर्दै आफ्नै देशमा पौरख गर्ने र देश बनाउने जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए ।
विद्यार्थीहरुका विभिन्न प्रकारका प्रतिभाहरु प्रदर्शन गरेका थिए । स्कुलका प्रिन्सिपल तेजमान लिम्बूले विद्यार्थीहरूको प्रतिभा बाहिर ल्याउन र बालबालिकालाई स्टेजमा प्लेटफर्म दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । उनले स्कुलले गुणस्तरीय शिक्षासँगै बालबालिकालाई अतिरिक्त क्रियाकलापमा पनि सक्दो जोड दिँदै आएको बताए ।
निर्देशक दुर्गा सुवेदीले धरान लिगामेन्टले गुणस्तरीय शिक्षासँगै विद्यार्थीको उज्ज्वल भविष्य दिने खालको शिक्षा प्रदान गर्दै आएको बताए । उनले ज्ञान, सीप, व्यवहार र अनुशासनमा विद्यार्थीले ध्यान दिँदै आएको र अहिलेसम्म विद्यालयले प्रगति गर्न सकेको बताए । उनले स्कुलबाट उत्पादन भएका विद्यार्थी डाक्टर, इन्जिनियर बन्ने तरखरमा रहेको बताउँदै भने, ‘डाक्टर, इन्जिनियर मात्रै होइन अन्य क्षेत्रमा पनि विद्यार्थीले अब्बलता कायम गरिरहेका छन् ।’
उनले समाजमा स्थापित हुने वातावरण सिर्जना गर्ने खालको शिक्षामा जोड दिँदै आएको बताए । ज्ञान, सीप, व्यवहार र अनुशासनमा आफूहरुको लगाव रहेको र विद्यार्थीले पनि सोहीअनुसार ‘फलो’ गर्दै जानुपर्नेमा उनले जोड दिए । ‘डाक्टर, पाइलट र इन्जिनियर हुने व्यक्ति मात्रै सफल व्यक्ति हो भन्ने हामीलाई लाग्दैन’, उनले भने, ‘जुन क्षेत्र हामी रोज्छौं, त्यसैमा सफल भयौं भने त्यो नै उपलब्धि हो, त्यही भएर हामी सफल र सक्षम नागरिक बनाउन लागिपरेका छौं ।’
कार्यक्रममा विद्यार्थीहरुले जनचेतनामूलक नाटक, कमेडी, गीत र आकर्षक नृत्य प्रस्तुत गरेर अभिभावकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरे । कार्यक्रममा धरान–१६ का वडाअध्यक्ष मुरारी भट्टराई, धरान–१६ का पूर्व वडाअध्यक्ष दिलकुमार गिरी, स्कुलका निर्देशक दुर्गा सुबेदी, सन्तोष लिम्बु, जनार्दन वस्ती, रमेश लिम्बूलगायतको उपस्थिति थियो । कार्यक्रममा शिक्षिका आशा लावतीले स्वागत मन्तब्य व्यक्त गरिन् ।
प्रिन्सिपल लिम्बूका अनुसार सो अवसरमा बाल विवाह सम्बन्धी चेतनामूलक नाटक, जातीय तथा राष्ट्रिय पहिरन प्रदर्शनी पनि समावेश भएको थियो । कार्यक्रममा कक्षा प्ले ग्रुपदेखि कक्षा १० सम्मको विद्यार्थीहरुले प्रतिभा प्रदर्शन गरेका थिए । कार्यक्रममा शिक्षिका साथै अभिभावकको समेत बेजोड डान्स प्रस्तुतिले मन जितेको थियो ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

































































