धरानः धरान–९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयले ‘ट्यालेन्ट हन्ट सिजन ३’ आयोजना गरेको छ ।
प्रतियोगितात्मक कार्यक्रममा विद्यार्थीले खुलेर आफूभित्र लुकेर रहेको प्रतिभा प्रदर्शन गरेका थिए । भनौं, विद्यालयका विद्यार्थी पढाइमा जति अब्बल छन्, त्यति नै अतिरिक्त क्रियाकलापमा पनि अब्बल छन् भन्ने देखाए । बिहीबार विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा नाच्न जान्नेले नृत्यकला, गाउन जान्नेले गायनकला साथै बोल्न रुचि भएकाले वक्तृत्वकला, कविता लेख्नेले कविता पस्किए । प्रतियोगितात्मक कार्यक्रममा छात्रछात्राले आफूभित्र लुकेको प्रतिभा प्रदर्शन गरेका थिए ।
विद्यार्थीले खुलेरै आफूभित्र लुकेको प्रतिभा प्रदर्शन गरेर दक्षता देखाउने प्रयास गरेका हुन् । विद्यालयले नृत्य र गायन प्रतियोगिता साथै अन्य प्रतिभा प्रदर्शन गर्ने ‘प्लेटफर्म’ आयोजना गरेको प्रिन्सिपल निलमकुमार श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा कक्षा–३ देखि कक्षा–८ कक्षा–९ सम्मका छात्रछात्राहरुले सहभागिता जनाएको प्राथमिक तहको संयोजक पुनम राईले जानकारी दिइन् । कार्यक्रममा विद्यार्थीले नृत्य, गायन, कविता, वक्तृत्वकलालगायतका विधामा प्रतिभा प्रदर्शन गरेका थिए । कार्यक्रममा प्रिन्सिपल श्रेष्ठ, अध्यापक विकास गिरीले गीत पस्किँदा विद्यार्थी उत्साहित हुँदै हुटिङ समेत गरेका थिए ।
पढाइका साथै अतिरिक्त क्रियाकलापअन्तर्गत वर्षेनी यस्तो प्रतियोगितात्मक कार्यक्रम आयोजना गर्दै आएको प्रिन्सिपल श्रेष्ठले जानकारी दिए । मानसिक, शारीरिक साथै भावनात्मकरुपमा विकासका लागि विद्यार्थीलाई सन्तुलित र गुणस्तरीय शिक्षा प्रदान गर्न हदैसम्मको कोसिस जारी रहेको समेत उनले बताए । ‘हामीले पठनपाठन जोड दिँदै अतिरिक्त क्रियाकलापका माध्यमबाट विद्यार्थीको प्रतिभा बाहिर निकाल्न हरतरहले लागिरहेका छौं’, उनले थपे । प्रिन्सिपल श्रेष्ठले आगामी दिनमा विद्यार्थीका लागि फरक फरक प्रतिभा पस्किने वातावरण मिलाइरहने समेत बताए ।
प्रतियोगितामा क कसले जिते ?
एकल गायनतर्फ कक्षा–५ का आयुष राई प्रथम, कक्षा–४ की सोफिया मगर द्वितीय र कक्षा–९ की रिकी राई तृतीय बनेका छन् ।
यस्तै, नृत्यतर्फ (जुनियर सोलो ग्रुप) समृद्धि कार्की (भेरी ४), सान्भी श्रेष्ठ (कोशी ४), रोशनी भण्डारी (कोशी ३) क्रमशः पहिलो, दोस्रो र तेस्रो बने । सिनियर सोलो ग्रुपतर्फ श्रेमी लिम्बू (९ मेची), रिया तामाङ (७ कोशी) स्टेला श्रेष्ठ (९ भेरी) क्रमशः प्रथम, द्वितीय र तृतीय बनेका छन् ।
यस्तै, डुओ डान्सतर्फ इशा राई (६ मेची), क्रिष्मा राई (७ मेची) प्रथम, गरिष्मा श्रेष्ठ (९ कोशी), साम्राज्ञी श्रेष्ठ (९ कोशी) द्वितीय र सुभना राई (९ मेची), सगुन लामिछाने (९ मेची) तृतीय बनेका थिए ।
प्रतियोगिताको निर्णायक नृत्य शिक्षक आयुष्मा राई, अध्यापकहरू विकास गिरी, दिवस गुरुङ र पुनम राई रहेका थिए । तस्वीरहरुः हाम्रो कोशी आवाज
















































