धरानः धरानमा हवाइ फायर गरी गाँजासहित एकजना पक्राउ परेका छन् ।
९ वटा बोरामा प्लास्टिकसहित २ सय ३० केजी र प्लास्टिकबाहेक २ सय २५ केजी गरी जम्मा ४ सय ५५ केजी लागूऔषध गाँजासहित ४३ वर्षीय हरिकुमार राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
धरान उपमहानगरपालिका वडा नं. २० चिमफुले खोलाबाट लागूऔषध (गाँजा) ओसार–पोसार भइरहेको छ भन्ने सुइँको पाएको प्रहरीले त्यतातर्फ गएको थियो । इलाका प्रहरी कार्यालय धरान, वडा प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट जोरसखुवा धरानबाट खटिएको प्रहरी टोलीले विष्णुपादुकाबाट रेल्वेतर्फ आउने जंगलको भित्री पैदल बाटो हुँदै भरियाहरू आउँदै गरेको अवस्थामा शंका लागेर चेकजाँच गर्न खोज्दा निजहरुले बोकेको भारीहरु प्रहरीले देख्नासाथ जंगलतर्फ भागेका थिए । आठजनाको समूहमा आएका उनीहरुले भारी परिणाममा गाँजा नाम्लो लाएर बोकी धरानतर्फ आउँदै थिए । त्यतिबेला जंगलमा आएपछि प्रहरीसँग जम्का भेट भएको थियो ।
भाग्दै गर्दा उनीहरुलाई नियन्त्रणमा लिन प्रहरी टोलीले टाइप ५४ पेस्तोलबाट तीन राउण्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ । हवाइ फायर गर्दा अन्य भागेको र हरिकुमारलाई भने नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ । धनकुटाको सागुरीगढी गाउँपालिकाको आहालेबाट धरानतर्फ गाँजा बोकेर आउँदै गरेका आठजनाको समूहलाई नियन्त्रण लिने क्रममा गोली हानेर गाँजा तस्कर गर्ने व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी सुमन कुमार तिम्सिनाले बताए । बिहीबार राति उनीहरुलाई जंगलमा समात्न खोजिएको तर उनीहरु रातिको समय भएको र जंगलैजंगल भाग्न सफल भएको प्रहरीले जनाएको छ ।
हरिकुमारलाई नियन्त्रणमा लिई साथमा बोकी ल्याएको बोरा खोली चेकजाँच गर्दा ९ (नौ) वटा बोरामा प्लास्टिक सहित २३० (दुई सय तीस) के.जी. र प्लास्टिक बाहेक २२५ (दुई सय पच्चिस) के.जी. लागूऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
सो लागूऔषध गाँजासहित पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अन्य फरार भएका भरियाहरुको खोजतलास कार्य भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।