धरानः होली, आनन्द एवं उल्लासको पर्व हो । शिशिरको अन्त्य र वसन्तको प्रारम्भमा मनाइने यो उत्सवले शीतकालको अन्त्य तथा उष्ण तथा वसन्तको आगमनको उपक्रमलाई सङ्केत गर्दछ ।
‘होली’ या ‘होलिका’ उत्सव धरानमा पनि उल्लास, विन्दास अनि सौहाद्रपूर्णरुपमा मनाइएको छ । बिहानैदेखि बालबालिका, युवायुवती, वृद्धवृद्धा होलीको उल्लासमा झुमिरहे । यसपटक पनि दिल खोलेर होली मनाइएको धरान–५ की अमृता राईले बताइन् । भानुचोकमा आयोजना भएको विभिन्न ब्याण्डको कन्सर्टलगायत अन्य सांगीतिक कार्यक्रम कम भएकोले पनि युवापुस्ताको उपस्थिति धेरै रह्यो ।
अधिकांश धराने बालबालिका, युवापुस्ता र वृद्धवृद्धाले यसपटक होली खुलेरै मनाए । उमङ्ग र उल्लासका साथ मनाइने रङ्गको पर्व होली धरानमा यसपटक भने धेरै रसिलो बनेको धरान–१९ की वर्षा लिम्बूले बताउँदै जानकारी दिइन्, ‘जे होस् दिलखोलेरै मनाइयो ।’
यसपटक भानुचोकमा होलीका दिन पैदलै छिचोल्न समेत हम्मेहम्मे भयो । सयौं युवापुस्ता नाच्न र रमाइलो गर्न लाइन लागे । भानुचोकमा सयौं युवापुस्ता उपस्थित थिए र होलीको रङ्ग दल्दै ओहोरदोहोर गरिरहेका थिए । यसपटकको होली विन्दास पाराको बनेको धरानका सुदीप यल्मोले जानकारी दिए ।
सडकमा मोटरसाइकल र स्कुटी कुदाउँदै रङ्गीविरङ्गी अनुहार बनाएर युवायुवती हिँडेका थिए । धरानका सबै पसलहरु बन्द अवस्थामा रहेका थिए । होली पर्वमा धरानमा सयभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधन नियन्त्रणमा लिएर ‘होल्ड’ मा राखेको थियो । तर आयोजकको भने लापरवाही देखिएको छ । आयोजकले कार्यक्रममा भएका फोहोरहरु त्यतिकै छाडेर हिँडेको थियो । भानुचोकको लोकतान्त्रिक चौतारी अगाडिपट्टि अर्थात् घण्टाघर अगाडि आयोजित कार्यक्रममा फोहोर (पानीको बोतल, अन्डाका खोल, रंगका खोल आदि) जताततै छरिएको थियो ।
तस्वीरहरुः हाम्रो कोशी आवाज























































































