धरानः सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेको विरोधमा धरानमा प्रदर्शन भएको छ ।
स्वतन्त्र नागरिक समाज धरान र धरानका एमालेबाहेकका राजनीतिक दलहरुले विरोध प्रदर्शन गर्दै सडकमा उत्रिएका हुन् । विरोध कार्यक्रमको रयालीमा नेपाली कांग्रेसका केही व्यक्तिसहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगायतका नेता कार्यकर्ताहरुको उपस्थिति थियो ।
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले पनि कुलमान हटाइएको विषयमा साङ्केतिक विरोध प्रदर्शन गरिसकेका छन् । उनले मुख नखोलेपनि हाहाहा भन्दै हाँसेर साङ्केतिक विरोध जनाइसकेका छन् ।
प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमानलाई हटाउने सरकारको निर्णयको चौतर्फी विरोध भइरहेको छ । सत्तारुढ दल कांग्रेसबाटै कुलमानलाई हटाउने निर्णयको विरोध भइरहेको छ ।
उनीहरूले ‘कता हिँडेको ? बिजुली मारेर, कुलमान फालेर’, हामी जनता हेरेको हेरयै, ‘सरकार जान्ने भो धेरै’ लगायतका भाषण छाट्दै कडा प्रदर्शन गरे सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । प्रधानमन्त्री केपी शर्माले ओलीले आफ्नो ज्वाइँलाई नियुक्त गरेको भन्दै भानुचोकमा उत्रिएर नेकपा माओवादी केन्द्रका इन्चार्ज चोत्लुङले सिंहदरबारसम्म छिर्ने समेत चेतावनी दिए ।
यसैबीच सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णय आधिकारिक रूपमा सार्वजनिक गरेको छ ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले घिसिङलाई पदमुक्त गरेको निर्णयबारे पनि जानकारी गराएका हुन् ।
‘नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमानलाई हटाउने निर्णय भएको छ । प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य (ललितपुर) लाई नियुक्त गर्ने निर्णय पनि भएको छ,’ उनले भने । उनले कुलमानसँगको निर्णय सुशासनसँग जोडिएको पनि बताए ।
‘यो सुशासनसँग जोडिएको विषय हो । हरेक विषयमा हामी व्यापारी होइनौँ । नाफा–नोक्सान हेरिएको हुँदैन,’ उनले भने, ’लोकतन्त्रमा मान्छे सडकमा निस्किइहाल्छन् ।’
















