धरानको युएन, नवोदय कलेजमा वार्षिकोत्सव, विदाइ तथा अभिनन्दन भव्य
धरानः धरान–१६ स्थित युएन, नवोदय कलेजको १५ औं वार्षिकोत्सव, विदाइ तथा अभिनन्दन कार्यक्रम शनिबार भव्यताका साथ सम्पन्न भएको छ ।
धरान–१५ स्थित चुम्लुङहीममा भएको कार्यक्रममा प्रदेश टपर (प्रदेश प्रथम), प्रदेश सेकेण्ड टपर र थर्ड टपरलाई नगदसहित सम्मान गरिएको थियो । कार्यक्रममा ३.८६ जीपीएका साथ बिएचएम दोस्रो सेमेष्टरमा ‘कोशी प्रदेश टपर’ कुसुम राई, ३.७९ जीपीए ल्याई ‘कोशी प्रदेश सेकेण्ड टपर’ रिष्ता तुम्बापो, ३.७८ जीपीए ल्याई ‘कोशी प्रदेश थर्ड टपर’ यन्छोहाङ लिम्बूलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगदसहित सम्मान साथै अभिनन्दन गरिएको थियो ।
त्यस्तै, बिएचम चौथो सेमेष्टरमा धरान प्रथम, धरान द्वितीय र धरान तृतीय हुने विद्यार्थीलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा ३.८९ जीपीए ल्याई धरान प्रथम हुने स्मारिका श्रेष्ठलाई १० हजार नगदसहित सम्मान गरिएको थियो भने ३.८८ जीपीएका साथ धरान द्वितीय हुने सिमरन तामाङ र ३.८४ जीपीएका साथ धरान तृतीय हुने जेसिका राईलाई क्रमशः तीन हजार नगदसहित सम्मान गरिएको थियो ।
अभिनन्दन साथै सम्मानित हुने छात्राहरुलाई कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गणेशप्रसाद खतिवडा, कलेजका म्यानेजिङ डाइरेक्टर ज्ञानेश्वर झा, क्याम्पस प्रमुख, प्रिन्सिपल डम्बरकुमार तुम्वापोले अभिनन्दन र सम्मान गरेका थिए ।
कलेजले विद्यार्थीलाई अवार्ड साथै नगद पुरस्कार समेत प्रदान गरेको थियो । कक्षा–१२ विज्ञान संकायकी ज्योतिकुमारी यादव, कक्षा–१२ कम्प्युटर साइन्सकी सिवानी भुजेल, कक्षा–१२ म्यानेजमेन्ट संकायकी असिम इङनाम लिम्बू, कक्षा–१२ होटल म्यानेजमेन्ट संकायकी रेसु याक्खालाई नगद ५ हजारसहित अवार्ड प्रदान गरिएको थियो ।
कार्यक्रममा वेल ग्रोम्ड स्पर्स याक्खा, मिलिना गुरुङ, मष्ट डिसिप्लिन एलेक्स गुरुङ र झरना राई, वेष्ट हस्पिटालिटी सरगम राई र हनिष्का खड्कालाई पनि सम्मान गरिएको थियो । यस्तै, कोअपरेटिभ स्टुडेन्ट जलन राई र आस्था श्रेष्ठ, सोसियल वर्कर एन्जिला कार्की, मष्ट रेगुलर स्टुडेन्ट अस्मिका राई, समीप लिम्बू, झरना राई, प्रमिस ढकाल, रचित राई, युना तामिल, लोचन कटुवाल, रेशु याक्खालाई पनि सम्मान गरिएको थियो ।
यसैबीच कलेजको कक्षा–१२, बिएचएम, बिबिएस सङकायको अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई बिदाई गरिएको थियो । कलेजका म्यानेजिङ डाइरेक्टर झा, प्रिन्सिपल तुम्बापो, होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगनमान श्रेष्ठ, पब्लिक रिलेसन अफिसर रामबहादुर लिम्बूलगायतले मायाको चिनो प्रदान गर्नुका साथै अविर र खदा लगाएर बिदाई गरे ।
युएन, कलेजका विद्यार्थीले ‘प्रदेश प्रथम’ बन्नु धरानको गौरव र उपलब्धिः शिक्षा महाशाखा प्रमुख
कार्यक्रममा बोल्दै धरान उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख खतिवडाले युएन, नवोदयका विद्यार्थीले कोशी प्रदेश प्रथम बनेर धरानको गौरव बढेको बताए । कलेजका विद्यार्थीले होटल म्यानेजमेण्ट र बिएचएममा कोशी प्रदेश टप, धरान टप गर्न विद्यार्थी सफल भएको बताउँदै भने, ‘यो कलेजको मात्रै उपलब्धि होइन, यो सम्पूर्ण धरानबासीको उपलब्धि हो, यसले हाम्रो धरानको गौरव बढाएको छ, त्यसैले म विद्यार्थी, अभिभावक र कलेज परिवारलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु ।’ उनले सबै कलेजले यसरी नै उत्कृष्ट नतिजा हासिल गर्दै जाने हो भने धरान शैक्षिक हबको रुपमा विकास हुने समेत ठोकुवा गरे ।
धरान उपमहानगरपालिकाले दीर्घकालीन योजना र भिजन (शिक्षा, स्वास्थ्य, पर्यटन, पर्यटकीय पूर्वाधार, बहुसांस्कृतिक आवासीय सहर) पूरा गर्न कलेजले भूमिका खेलेको समेत आफूहरुले पाएको बताए । धरानलाई शिक्षाको हिसाबले अब्बल सहर बनाउने दीर्घकालीन भिजन धरान उपमहानगरपालिकाले लिएको बताउँदै उनले भने, ‘धरानलाई शैक्षिक हव बनाउन युएन, नवोदय कलेजले खेलेको भूमिकालाई हृदयदेखि नै धन्यवाद दिँदै आगामी दिनमा पनि निरन्तरता कायम रहोस् भन्ने अपेक्षा चाहन्छु ।’ उनले युएन, नवोदयमै विद्यार्थी पढाउँदा विद्यार्थीको भविष्य सोच्ने अभिभावकप्रति धन्यवाद समेत दिए ।
सामाजिक काम साथै विद्यार्थीलाई हौसला दिन नगदसहित सम्मानः क्याम्पस प्रमुख तुम्बापो
कार्यक्रममा बोल्दै कलेजका क्याम्पस प्रमुख तुम्बापोले विद्यार्थीलाई हौसला दिन वर्षेनी प्रदेश टप, धरान टप हुने विद्यार्थीलाई नगदसहित सम्मान गर्दै आएको बताए । उनले कलेजले सामाजिक काम पनि गर्दै आएको बताए । ‘हामीले प्रदेश टप, धरान टप गर्ने विद्यार्थी मात्रै होइन डा. महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र, धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले चलाएको कोकाह खानेपानी आयोजनामा सहयोगदेखि विद्यार्थी, अभिभावकलाई परेको बेला सहयोग गर्दैलगायत विभिन्न सामाजिक योगदान पनि गरिरहेका छौं जस्ता लाग्छ ।’ उनी भन्छन् ।
उनले कलेजले अबदेखि छात्रछात्रा (विद्यार्थी) लाई एक विद्यार्थी एक ल्यापटप निःशुल्क बाँड्न थालेको समेत बताए । प्लस २ पढ्ने विद्यार्थीहरूले अबदेखि निःशुल्क ‘ब्रान्डेड’ ल्यापटप प्राप्त गर्ने उनले बताए । उनले यस वर्ष नै कलेजबाट प्लस टु पास गर्ने बिएचएम प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूलाई निःशुल्क ‘डेल ब्रान्ड’ का ल्यापटप वितरण गरिएको जानकारी दिए । यसपटक बिएचएम पढ्ने १४ जना छात्रछात्रालाई निःशुल्क ल्यापटप बाँडिएको उनले जानकारी दिए । शिक्षण सिकाईलाई प्रविधिमैत्री बनाउने उद्देश्यले उनीहरूलाई कम्प्युटर बाँडेपछि अभिभावक समेत हर्षित बनेको उनले जानकारी दिए ।
कलेजका निर्देशक झाले युएन, नवोदय कलेजले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको र अभिभावक समेत सन्तुष्ट रहँदै आएको बताए । उनले यसअघि विद्यार्थीले देशभरीमा ‘सेकेण्ड टप’ र वर्षेनी ‘कोशी प्रदेश टप’ गर्दा आफूहरुको मिहिनेत खेर नगएको ठानेको बताए ।
आफूहरुले सुरुदेखि नै कलेज र विद्यार्थीको उज्ज्वल भविष्यका लागि खाइनखाइ निरन्तर खटिरहेको बताए । उनले परीक्षाहरुमा मिहिनेतका साथ अध्ययन गरेर उत्कृष्ट अंक ल्याई कलेजको नाम राख्न सम्पूर्ण विद्यार्थीहरुलाई आग्रह समेत गरे । उनले कलेजले रोजगारमूलक शिक्षा प्रदान गर्दै नमूना कलेजका रुपमा स्थापित भइसकेको समेत बताए । उनले कलेजले अझै केही गर्न बाँकी रहेको बताउँदै हौसिएर नभई परिणाममुखी काम गर्दै जाने समेत बताए । उनले कलेजले पठनपाठन, विद्यार्थीको व्यक्तित्व विकासका लागि विविध अतिरिक्त क्रियाकलापहरुमा पनि सक्दो जोड दिइरहेको समेत बताए ।
कार्यक्रममा विद्यार्थीलाई लागूऔषध सचेतनाबारे नाटक, नृत्य, गायनकला प्रस्तुत गरेर भरपुर मनोरञ्जन प्रदान गरेका थिए । ार्यक्रममा विद्यार्थीहरुले आकर्षक नृत्य पस्किनुका साथै गीत गाएर पनि सुनाएका थिए । कार्यक्रममा स्वागत मन्तव्य होटल म्यानेजमेन्ट र बिएचएम कोअर्डिनेटर गगनमान श्रेष्ठले व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन अध्यापक दिव्या सोनम झा र अनिमेश बाँस्तोलाले गरेका थिए ।
तस्वीरहरुः हाम्रो कोशी आवाज










































