धरानः धरानमा लागूऔषध ब्राउन सुगरसहित एकजना युवा पक्राउ गरेका छन् ।
धरान उपमहानगरपालिका वडा नम्बर–११ बानडाँडा बस्ने ४८ वर्षीय बिरु भन्ने वीरबहादुर भुजेलले लागूऔषध कारोबार गरिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
घरकोठा कानुन बमोजिम खानतलासी गर्दा कोठाबाट लागूऔषध (ब्राउन सुगर) भेटेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्लास्टिकभित्र ३१ पोका फेला पारी मान्यता प्राप्त डिजिटल तराजुमा नापतौल गर्दा प्लास्टिक सहित ६.४२ ग्राम र प्लास्टिक बाहेक ३.६६ ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।
गाँजा बोकेको कारसहित चालक पक्राउ
यसैबीच धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थितबाट लागूऔषध गाँजा बोकेको कारसहित चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय भेडेटारबाट गस्तीमा खटिएको प्रहरी टोलीले भेडेटार रवी–राँके सडक खण्डमा को१च ३४७८ नम्बरको मारुती कारलाई शंका लागेर चेकजाँच गर्दा कारभित्र कालो प्लाष्टिकले वेरेको १० पोकामा ३ सय किलोग्राम लागूऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
गाँजा बरामद भएसँगै कार र चालक विराटनगर महानगरपालिका–१५ का २६ वर्षीय प्रिन्सकुमार साहलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । लागूऔषध गाँजा बोकेको कारसहित पक्राउ परेका चालकको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान तथा कानूनी कारवाही भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच सुनसरीको इटहरी उपमहानगरपालिका–५ का रोहित कार्कीलाई लागूपदार्थ स्कुफ–८ बोतल, मोरङको विराटनगर महानगरपालिका–१५ का ३७ बर्षीय प्रभात सिंह कटुवाललाई ब्राउन सुगर १ ग्राम ५ मिलिग्राम, मोरङको बेलबारी नगरपालिका–४ का ३० वर्षीय हर्कराज राई र ३० बर्षीय सुजन खवासलाई ५ ग्राम ६ मिलिग्राम ब्राउन सुगर सहित र बेलबारी –४ का २३ वर्षीय सरोज राईलाई ५ ग्राम २५ मिलिग्राम लागूपदार्थ ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो ।
उता उदयपुरको कटारी नगरपालिका–४ स्थितबाट नियन्त्रित लागूऔषध १० हजार ४ सय ६३ ट्याव्लेट र गाँजा १०० ग्राम सहित ओसार पसारमा संलग्न ७ जनालाई इलाका प्रहरी कार्यालय कटारीले पक्राउ गरेको छ । ओसार पसारमा संलग्न रहेका कटारी–७ का २९ वर्षीय हरिबहादुर तामाङ, कटारी–८ का १९ वर्षीय भक्तबहादुर तामाङ, २५ वर्षीय सोम कृष्ण राई, कटारी–४ का २३ वर्षीय अनमोल मगर, २० वर्षीया आरती राउत, २३ वर्षीय सरदकुमार सुनुवार र १९ वर्षीय बिक्रम साशंकारलाई टुरपिन टयाब्लेट ४ हजार ४ सय ३१ चक्की, स्पासपेन ५ हजार ९ सय १२ चक्की र १२० चक्की, गाँजा १०० ग्राम, नगद २ लाख ४७ हजार ७ सय २० रुपैयाँ र २ थान मोटरसाइकलसहित पक्राउ गरेको हो ।