धरानः धरान-९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयमा ‘वार्षिक स्पोट्स मिट २०८१’ अन्तर्गत शुक्रबार बास्केटबलको फाइनल प्रतियोगिता सम्पन्न भएको छ ।
यसैबीच शुक्रबार भएको फाइनल प्रतियोगितामा कक्षा-१२ विज्ञान सङ्कायले जीत हासिल गरेको छ । व्यवस्थापन सङ्कायका छात्रले ९ स्कोर ल्याउँदा विज्ञान सङ्कायका विद्यार्थीले १० स्कोर ल्याएको प्लस टु इन्चार्ज नविन शाक्यले जानकारी दिए ।
कार्यक्रममा फुटबल, क्रिकेट, भलिबल र बास्केटबल विजयी खेलाडीहरुलाई शिल्ड, मेडल र प्रमाणपत्रलगायतको पुरस्कार वितरण गरिएको थियो । स्कुलका प्रिन्सिपल निलमकुमार श्रेष्ठ, प्लस टु इन्चार्ज शाक्यलगायत अध्यापकहरूले शुक्रबार नै सो पुरस्कार वितरण हो ।
गत पुस महिनामा नै फुटबल, क्रिकेट, भलिबल लगायतको प्रतियोगिता आयोजना भएको थियो भने बास्केटबलको शुक्रबार स्कुल प्राङ्गणमा फाइनल प्रतियोगिता आयोजना भएको हो । पुसमा पढाइसँगै विद्यार्थीलाई खेलकुदमा खरो उतार्न साथै मानसिक, शारीरिक विकाससँगै अनुशासनका लागि स्कुलले स्पोट्स मिट भव्यताका साथ आयोजना प्रिन्सिपल श्रेष्ठले जानकारी दिए । त्यतिबेला दौड प्रतियोगिता (१००, २००, ४०० मिटर रेस), क्रिकेट, भलिबल, फुटबल, फुटसल, बास्केटबल, टेबलटेनिस, डोरी तान्ने, स्लो साइक्लिङ रेस, कवड्डी, चेस, पासिङ बल, म्युजिकल चेयर, ब्यान्डिङ बुक, बुक ब्यालेन्सलगायत २५ भन्दा बढी खेल विधाअन्तर्गत मनोरञ्जनात्मक खेलहरुलगायतका खेलहरु समावेश गरी विद्यार्थीबीच प्रतिस्पर्धा गराइएको स्कुलका प्रिन्सिपल श्रेष्ठ बताउँछन् ।
‘पढाइसँगै अतिरिक्त क्रियाकलापले पनि पढाइलाई सहयोग गर्ने ठानेका छौं । प्रत्येक वर्ष खेलकुदका गतिविधि गराउँदै आएका छौं,’ प्रिन्सिपल श्रेष्ठले थपे, ‘यसले विद्यार्थीको पढाइसँगै खेलकुद विधामा अब्बल छन् भन्ने सावित गर्दछ ।’































