Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अन्ततः धरानबासीलाई कोशीको पानी माग्दै मेयर हर्क साम्पाङले भेटिछाडे प्रधानमन्त्री, बजेटको प्रबन्ध हुन्छ, धरानबासीलाई सुनाइदिनुहोलाः प्रम

हाम्रो कोशी आवाज
चैत्र २५ २०८१, सोमबार
अन्ततः धरानबासीलाई कोशीको पानी माग्दै मेयर हर्क साम्पाङले भेटिछाडे प्रधानमन्त्री, बजेटको प्रबन्ध हुन्छ, धरानबासीलाई सुनाइदिनुहोलाः प्रम

धरानः अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीले धरानवासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सवा ५ बजे धरान उपमहानरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) सहितको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले धरानवासीले खानेपानी पाउने बताएका हुन् ।
कोशीको पानी धरानबासीलाई उपलब्ध गराउन माग गर्दै मेयर साम्पाङसहित धरान उपमहानगरपालिकाका प्रशासकीय अधिकृत अम्विका चौलागाईं, धरान खानेपानी बोर्डका निर्देशक राजु पोख्रेल, वरिष्ठ इन्जिनियर राजु पोख्रेलसहितको टोली सिंहदरबारको विभिन्न मन्त्रालय चहारिरहेको छ । ‘करिब सवा ५ बजे प्रधानमन्त्रीसँग भेट भएको छ’, निर्देशक पोख्रेलले भने, ‘प्रधानमन्त्री ज्यूले कोशीबाट पानी ल्याउने विषयमा नै प्रक्रिया अघि बढिसकेको बताउनुभएको छ ।’

धरानको खानेपानीको समस्यालाई दर्शाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार पुगेर उनले समाधानको लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
भेटमा प्रधानमन्त्री ओलीले भने, ‘धरानवासीले खानेपानी पिउन पाउनुपर्छ । यो प्रक्रिया आजैबाट अघि बढ्यो । यसका लागि संघीय सरकारले बजेटको प्रबन्धलगायत अन्य विषयमा आवश्यक सहजीकरण गर्नेछ । यो सन्देश धरानवासीलाई सुनाइदिनुहोला’, प्रधानमन्त्री ओलीले भने ।
मेयर साम्पाङले यसअघि स्रोत सुनिश्चितताका लागि अर्थ मन्त्रालयलाई आग्रह गरेको जानकारी गराएका थिए । प्रधानमन्त्री ओलीले धरानको फोहर व्यवस्थापनका लागि परम्परागत नभई आधुनिक प्रविधियुक्त ‘ल्याण्डफिल्डसाइट’ बनाउनुपर्नेमा जोड दिएका थिए ।
यसअघि रित्तो गाग्री लिएर सिंहदरबार छिर्न खोजेका उनले खानेपानी मन्त्रीलाई भेटेर फर्किएका थिए । उता मेयर साम्पाङले प्रमुख मानवीय आवश्यकता खानेपानी भएको बताएका छन् । प्रधानमन्त्रीसँगको भेटपछि पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले धरानको जनताका लागि मुख्य समस्या खानेपानी रहेको बताए । उनले सडक निर्माण दोस्रो प्राथमिकतामा राख्दै धुलो बाटोमा हिँड्न सकिने तर पानीबिना जीवन नचल्ने बताए । धरानको खानेपानी समस्याका बारेमा प्रधानमन्त्रीसँग भएको कुराकानी सकारात्मक भएको जानकारी दिए । खानेपानी व्यवस्थापनका लागि करिब पाँच अर्ब लाग्ने र बजेटमार्फत स्रोत व्यवस्था गर्ने प्रधानमन्त्रीको आश्वासन पाएको उनको भनाइ छ ।
प्रधानमन्त्रीको आश्वासनमा शंका गर्न नहुने तर बजेटले सम्बोधन नगरेसम्म विश्वास नलाग्ने उनको भनाइ छ । उनले धरानमा आफूले तीन हजार धारा थपिसकेको तर सहरीकरण बढ्दा माग पनि उतिकै बढेको उल्लेख गरे ।
मेयर साम्पाङले जीवन रहेसम्म समस्याले नछोड्ने भन्दै मुख्य समस्या समाधान पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए । काठमाडौंवासीले नियमित मेलम्चीको पानी खान नपाएको भन्ने पत्रकारहरूको जिज्ञासामा उनले श्रमदान गर्न आउन पर्‍यो कि भन्दै व्यङ्ग्य गरे ।

प्रकाशित मिति: चैत्र २५ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend