खानेपानीमन्त्री प्रदीप यादवले धरानका नागरिकको वर्षौँदेखिको खानेपानीको समस्या समाधानका लागि पहल भइरहेको बताएका छन् ।
आज सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ) नेतृत्वको एक प्रतिनिधिमण्डलले खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि बजेट विनियोजन गर्न आग्रहसहितको मागपत्र पेस गरेपछि मन्त्री यादवले उक्त कुरा बताएका हुन् ।
मन्त्री यादवले भने, ‘धरानका नागरिकको खानेपानीको समस्याका विषयमा म सहित सिङ्गो मन्त्रालय जानकार छ । त्यहाँको खानेपानीको दीर्घकालीन रूपमा समाधान गर्नेतर्फ हामी लागिरहेका छौँ । समस्या समाधान गछौँ ।’
मन्त्री यादवले धरानको खानेपानीको समस्याका विषयमा आफू पहिलेदखि नै जानकार रहेकाले त्यहाँको खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधानका लागि दातृ निकायसँगको सहयोगमा समाधान गरिने आश्वासन दिएका थिए ।
नगरप्रमुख साम्पाङ नेतृत्वको एक प्रतिनिधिमण्डलले धरानको खानेपानी समस्याबारे विशेष ध्यानाकर्षण गराउँदै आगामी आर्थिक वर्ष २०८२/०८३ मा धरानमा खानेपानीका लागि बजेट विनियोजन गरिदिन मात्रपत्र बुझाएका थिए ।
गर्मी मौसम सुरु भएकाले अहिले धरानमा खानेपानीको निकै काकाकुल अवस्था सिर्जना भएको तथा पानी नभएका कारण नागरिकलाई साह्रै दु:ख भएको नगरप्रमुख राईले बताए । उनले भने, ‘पानीको समस्या पहिलेदेखि नै थियो, अहिले गर्मी सुरु भएकाले झन् समस्या भयो, स्थायी रूपमा पानीको समस्या समाधनका लागि बजेट माग गरेका छौँ ।’
