Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको चर्चित स्कुल विष्णुमा अब मिनी ओलम्पिक साइजको सुविधासम्पन्न स्वीमिङ पुल र फुटसल बनाउने तयारी (भिडियोसहित)

हाम्रो कोशी आवाज
चैत्र २६ २०८१, मंगलबार
धरानको चर्चित स्कुल विष्णुमा अब मिनी ओलम्पिक साइजको सुविधासम्पन्न स्वीमिङ पुल र फुटसल बनाउने तयारी (भिडियोसहित)

धरानः धरान-९ स्थित चर्चित स्कुल विष्णु मेमोरियल माध्यमिक विद्यालयमा अब स्वीमिङ पुल र फुटसल बनाइने भएको छ ।
विद्यालयका संस्थापक अध्यक्ष वेनिन्द्र कट्वालका अनुसार करोडौं मूल्य पर्ने अढाइ कट्ठा जग्गा खरिद भइसकेको छ । ‘अहिले हामीले अढाइ कट्ठा जग्गा खरिद गरेर विद्यालयको नाममा नामसारी गरिसकेका छौं, यसअघि नै विद्यालयको नाममा पाँच कट्ठा जग्गा थियो, अब साढे सात कट्ठा जग्गा हुने र त्यही क्षेत्रफलमा हामी स्वीमिङ पुल र फुटसल निर्माण गर्नेछौं ।’ उनले अन्तर्वार्ताका क्रममा जानकारी दिए ।
उनका अनुसार मिनी ओलम्पिक साइजको स्वीमिङ पुल र सोही अनुसारको फुटसल पनि निर्माण हुनेछ । ग्राउन्डमा स्वीमिङ पुल र माथिल्लो भागमा फुटसल निर्माण गर्ने विद्यालयको योजना रहेको उनले जानकारी दिए ।
‘जग्गा विस्तार भइसकेको छ स्वीमिङ पुल चाँडै बनाइनेछ’, उनी भन्छन्, ‘यसै आर्थिक वर्षमा यसको काम सुरुवात हुनेछ, माथिल्लो भागमा फुटसल र ग्राउन्डमा स्वीमिङ पुल निर्माण हुनेछ ।’
विष्णु छुट्टै पहिचान बनाउँदै अघि बढेको स्कुल भएको बताउँदै उनले ‘गुणस्तरीय शिक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारालाई सार्थक बनाउन आफूहरु कुनै कसर बाँकी नराख्ने बताएका छन् । २०४६ सालमा स्थापना भएर अघि बढेको यो स्कुलमा वि.सं. २०५६ सालदेखि निम्न माध्यमिक तह, २०५९ सालदेखि माध्यमिक र २०६५ सालदेखि उच्च माध्यमिक तहसम्मको पढाइ सञ्चालन भइरहेको छ । २५ जना विद्यार्थीबाट शुरु भएको विद्यालयमा २५ वर्षको अन्तरालमा लगभग १३ सयको हाराहारीमा विद्यार्थी अध्ययनरत् छन् ।
नेपाल सरकार शिक्षा मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख भएअनुसार मुलुकमा सञ्चालित निजी शिक्षण संस्थाहरुमध्ये ११ औं स्थानमा पर्न सफल हुनु तथा प्रवेशिका एवम् उच्च माध्यमिक तहमा कोशी प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न निरन्तर सफल हुनुले पनि यस विद्यालयको गुणस्तरीयता निर्धारण भएको पुष्टि हुन्छ । ‘हाम्रा विद्यार्थी एसइईमा १८ पटक सहभागी भए, १८ पटक नै शतप्रतिशत नतिजा निकाल्न विद्यार्थी सफल भएका छन्’, प्रिन्सिपल श्रेष्ठ भन्छन्, ‘शुरुका २ वर्षचाहिँ जिल्ला प्रथम साथै सर्वोत्कृष्ट नतिजा निस्कियो ।’
दक्ष शिक्षक–शिक्षिका, परिश्रमी विद्यार्थी र अभिभावकको सहयोगले राम्रो नतिजा निकाल्न सफल भएको संस्थापक अध्यक्ष कट्वाल बताउँछन् । यो विद्यालयले जति सक्छौ, त्यति मात्रै भर्ना लेऊ । गुणस्तरमा सम्झौता नगर भन्ने नीतिबाट निर्देशित हुँदै आएको छ । भौतिक पूर्वाधार, शिक्षकको उपलब्धता र व्यवस्थापकीय सीमालाई ख्यालै नगरी विद्यार्थी हुल्ने परम्पराको विरोधीको रुपमा आपूmलाई उभ्याएको छ विष्णुले ।
गुणस्तरमा आपूmहरुले सम्झौता नगर्ने उनी बताउँछन् । ‘एसएलसीको कुरा गर्ने हो भने हामी ६० सालदेखि नै शतप्रतिशत रिजल्ट निकाल्न सफल भयौं’, उनले भने, ‘एकपल्ट राम्रो नतिजा आयो भनेर विद्यार्थी हवात्तै बढाएनौं ।’ संस्थापक अध्यक्ष कटुवालले पैसा कमाउनकै लागि ‘क्वान्टिटी’ रोज्दा हुने भए पनि आपूmहरुले ‘क्वान्टिटी’ मा कहिल्यै जोड नदिएको बरु ‘क्वालिटी’ लाई रोजेको बताउँछन् । ‘क्वालिटीलाई नै जोड दिँदै लग्यौं ।’ उनले भने, ‘त्यही कारण विद्यार्थीले सफलता प्राप्त गरिरहेका छन् ।’ २०६५ सालमा प्लस टुको अध्ययन–अध्यापन थालिएको विष्णुमा ९५ प्रतिशतभन्दा कम नतिजा छैन ।
एसईईमा धरानमै पहिलोपल्ट ऐतिहासिक र दुर्लभ नतिजा, गृष्माले ल्याइन् ४ जीपीए
विद्यालयले एसईई परीक्षा २०८० मा एक छात्राले ४ जीपीए ल्याएकी छिन् । इतिहासमै पहिलोपल्ट स्कुलले जीपीएसहित उत्कृष्ट नतिजा ल्याएको हो । विद्यालयले एसईई नतिजामा ४ जीपीए ल्याएकी गृष्मा लुइँटेलसहित एसईईमा उत्कृष्ट नतिजा लएका थिए । छात्राले इतिहासमै पहिलोपल्ट ४ जीपीए ल्याउँदै दुर्लभ नतिजा ल्याएकी हुन् । देशभरबाट १८६ जना विद्यार्थीले ४ जीपीए ल्याएकोमा गृष्मा पनि परेकी हुन् । १४२ जना परीक्षार्थी सामेल भएको यस विद्यालयबाट ३.६१–४.०० जीपीए (ए प्लस) सहित ९० जना, ३.२१–३.६ जीपीए (ए) सहित ४५ जना र २.८१–३.२ जीपीए (बि प्लस) सहित ६ जना विद्यार्थी उत्तीर्ण भएको प्रिन्सिपल श्रेष्ठले जानकारी दिए । प्रिन्सिपल श्रेष्ठले भने ‘देशभरीका विद्यालयमध्ये हाम्रो विद्यालयकी एकजना छात्राले ४ जीपीए नतिजा ल्याउन सफल भइन्, अहिलेसम्मको नतिजामध्ये राम्रो नतिजा आएको हामीले महसुस गरेका छौं ।’
२०५९ सालदेखि एसईई हुँदै एसईईसम्म आइपुग्दा यो इतिहासमै पहिलोपल्ट उत्कृष्ट नतिजा भएको संस्थापक अध्यक्ष कट्वाल बताउँछन् । संस्थापक अध्यक्ष कटवालले एस्.ई.ई. परीक्षामा चार जीपीए ल्याउने प्रत्येक विद्यार्थीलाई एक लाख नगदसहित सम्मान गर्ने घोषणा गरेका छन् । संस्थापक कट्वालका अनुसार ‘अहिले विद्यार्थी एसईईको तयारीमा लागिरहेकाले उनीहरुको मनोबल उच्च बनाउन नगद रुपैयाँसहित सम्मान गर्ने निर्णय गरिएको हो’ साथै ‘यसपछि हुने एसईई परीक्षामा ४ जीपीए ल्याउने विद्यार्थीलाई थप मनोबल बढ्छ भन्ने हेतुले यस्तो निर्णय गरिएको हो ।’ भनी बताए ।
अनुशासनमा विशेष जोड
विष्णुले नैतिक र कर्तव्यनिष्ठ नागरिक तयार गर्ने उद्देश्यबाट सञ्चालित छ । अनुशासनकै कारण उत्कृष्ट नतिजा र गुणस्तरीय शिक्षा कायम भएको उनको विश्वास छ । ‘अनुशासन भएन भने विद्यार्थीहरुले प्रगति गर्न सक्दैनन्, हामीले अनुशासनलाई पहिलो प्राथमिकतामा राखेका छौं’, प्रधानाध्यापक निलमकुमार श्रेष्ठ भन्छन्, ‘पहिलो हाम्रो पहिचान भनेको गुणस्तरीयता हो, साथै अनुशासनलाई हामीले दोस्रो पहिचानको रुपमा लिएका छौं । अनुशासनमा विशेष जोड दिन्छौं ।’
भौतिक पूर्वाधार
पूर्वाञ्चलस्तरीय आधुनिक विज्ञान प्रयोगशाला र सुविधासम्पन्न पुस्तकालय, स्तरीय कम्प्युटर ल्याब, स्कुल बस, खेलकुद सामग्री, लाखौं रुपैयाँका खानेपानी फिल्टर, शौचालय यस विद्यलयका अन्य आकर्षण तथा विशेषता हुन् । यस्तै, विद्यालयका विद्यार्थीले मासिकरुपमा विष्णु दर्पण नामक पत्रिका पनि प्रकाशन गर्दै आइरहेको छ ।
विद्यार्थीको अवस्था
योग्य जनशक्ति निर्माण गर्दै आइरहेको विष्णुबाट एसएलसी वा प्लस टु गरेका विद्यार्थीहरु देश–विदेशसम्म छरिएर रहेका छन् । कोही दक्ष भएर निस्किसके भने कोही अध्ययनरत् छन् । कसैले चिकित्सा (डाक्टर, नर्स) त कसैले कृषि, इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, चाटर्ड एकाउन्टेन्ट क्षेत्रमा हात हालेका छन् । शिक्षकलाई वक्ता र विद्यार्थीलाई स्रोताका रुपमा होइन, दुवैको सहकार्यबाट मात्रै गुणस्तरीय पढाइ सम्भव हुने प्रिन्सिपल श्रेष्ठको ठम्याइ छ ।
अतिरिक्त क्रियाकलापमा जोड
विष्णुले पाठ्यक्रम केन्द्रित शैक्षिक गतिविधिका साथै अतिरिक्त क्रियाकलापको महत्व बुझेर यसमा जोड दिँदै आएको छ । विष्णुले प्रत्येक शुक्रबार विभिन्न अतिरिक्त क्रियाकलाप, विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । १२ जना विषय प्रशिक्षक राखेर निःशुल्क अतिरिक्त क्रियाकलाप गराउँदै आएको उनले जानकारी दिए । ‘परम्परागत किताबको किरो हुने, रटन्ते, घोकन्ते पुरानो परिपाटी त्याग्नुपर्छ भन्ने हाम्रो जोड हो’, प्रिन्सिपल श्रेष्ठ भन्छन्, ‘यस उमाविमा विद्यार्थीलाई किताबी कीरो मात्रै होइन, अतिरिक्त ज्ञान र व्यावसायिक क्षेत्रमा पनि खरो उत्रिन अभिमुखीकरण गरिन्छ, यसका लागि विषयविज्ञ नै नियुक्त गरेर लागिपरेका छौं ।’
यही कारणले पनि विद्यार्थीहरुले कुनै प्रतियोगिता वा कार्यक्रममा हुने गरेको अतिरिक्त क्रियाकलापमा हारेका छैनन् । ‘अहिलेसम्म धेरैपटक विद्यार्थीले अतिरिक्त क्रियाकलाप (फुटबल, भलिबल, फुटसल, वक्तृत्वकला, वादविवाद, गीत–संगीत, नृत्य, साहित्य आदि) मा हारेका छैनन्’, प्रिन्सिपल श्रेष्ठ भन्छन्, ‘जुन कार्यक्रममा भाग लिए पनि १–२ वटा पुरस्कार लिएर आएकै हुन्छन् ।’ विद्यार्थीको प्रगतिप्रति अभिभावकलाई पनि उत्तिकै जिम्मेवार बनाउनुपर्ने भएकाले विद्यालय–अभिभावकको निरन्तर सम्पर्क र सम्बन्धमा जोड दिने गरेको उनी बताउँछन् ।

प्रकाशित मिति: चैत्र २६ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend