Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा लसुनेको रुखमुनि अर्धनग्न अवस्थामा मृत भेटिएकी महिला प्रकरणः नयाँ ‘क्लू’ खोज्दै प्रहरी

हाम्रो कोशी आवाज
चैत्र २८ २०८१, बिहिबार
धरानमा लसुनेको रुखमुनि अर्धनग्न अवस्थामा मृत भेटिएकी महिला प्रकरणः नयाँ ‘क्लू’ खोज्दै प्रहरी

आफन्तले प्रहरीमा दिए जाहेरी, सोझियो आफन्ततिरै प्रहरी अनुसन्धान

धरानः गत सोमबार सुनसरीको धरानको जंगलमा अर्धनग्न अवस्थामा मृत भेटिएकी महिलाको पहिचान खुलसँगै आफन्तले इलाका प्रहरी कार्यालय धरानमा जाहेरी दिएका छन् ।
मृतकका दाजु यामबहादुर दाहालका अनुसार आशंकामा रहेका केही व्यक्तिहरुको नाम समेत दिइएको जानकारी दिए । मृतक महिला धनकुटाको महालक्ष्मी नगरपालिका–२ की ३४ वर्षीया चुनकुमारी दाहाल बुढाथोकी रहेको खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरी प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए । मृतक महिलाको माइती महालक्ष्मी नगरपालिका-१ मा पर्छ ।
मृतक ती महिला सुनसरीको इटहरी–२ हलगडामा कोरियन भाषा सिक्न र छोरा पढाउन भनी बस्दै आएको दाजु यामबहादुर बताउँछन् । प्रहरीका अनुसार उनका श्रीमान् प्रेम बुढाथोकी वैदेशिक रोजगारीका लागि कोरियामा छन् । केही महिनाअघि एक महिनाको छुट्टी लिएर श्रीमती बस्दै आएको डेरा कोठामा पुगेका थिए । वैदेशिक रोजगारीको क्रममा कोरियामा रहेको र उनी ५ वर्षपछि गत पुषमा करिब एक महिना विदा लिएर छुट्टीमा र पुनः कोरिया नै फर्किएका थिए । तर उनी कोठामा दुईदिनमात्रै बहिनीसँग बसेको पाइएको साथै केही मनमुटाव हुँदै आएको थियो । त्यतिबेलैदेखि बहिनी, ज्वाइँको बोलचालसमेत नरहेको खुलेको दाजु यामबहादुरले बताउँछन् ।
दाजु यामबहादुरका अनुसार घटना हुनु दुईदिनअघि मात्रै सँगै रहेका भान्जा (बहिनीकी छोरा) मावली पुगेका थिए । प्रेमले नै कोरियाबाट घटनाअघि शनिबार छोरालाई मावली पठाएको र मोरङमा मृतककी दिदीको जानु भनेर पठाएको पनि भर्खर प्रहरीमा आएर मात्र जानकारी पाएको दाजु यामबहादुरले बताए । कोरियामा रहेका ज्वाइँले यत्रो घटना हुँदा पनि अहिलेसम्म ज्वाइँले वास्ता नगरेको समेत बताए । ‘यत्रो घटना भइरहेको छ, ज्वाइँले एकपल्ट के कसो भयो सम्म नभनेको देख्दा घटना थप शंकास्पद रहेको हामीले महसुस गरेका छौं ।’ उनले भने ।
आफन्तका अनुसार यसअघि पटक पटक मृतक स्कुटी सिक्न भन्दै पथरी पुग्ने गर्थिन् । ‘इटहरीमै ड्राइभिङ सेन्टर थियो त पथरीसम्म किन स्कुटी सिक्नु पुग्नुपथ्र्यो’, उनले भने, ‘त्यही भएर हामीले घटनालाई अर्को रहस्यमय र शंकास्पद छ भनेका हौं ।’ उनले अहिलेसम्म मृतक बहिनीको मोबाइल फेला नपर्नु र घटनास्थलमा केही घम्साघम्सी भएकोजस्तो देखिनु रहस्यमय रहेको बताए ।
मृतकका दाजु यामबहादुरले उनलाई र स्कुटी सिकाउने व्यक्तिलाई पनि अनुसन्धानको दायरामा ल्याउन माग गरे । उनका अनुसार प्रेम र चुनिालाबीच मागी विवाह भएको हो । विवाह भएपनि केही वर्षसम्म सम्बन्ध राम्रै भएपनि ज्वाइँ कोरिया पुगेपछि सम्बन्धमा केही धमिलपन आउँदै गरेको आफूहरुले पनि महसुस गरेको आफन्तले बताएका छन् ।

घटनास्थलमा माडिएको जस्तो अवस्थाको तस्वीर ।
घटनाको गहिरो अनुसन्धान हुनुपर्ने र दोषीलाई कारबाही नभए शव जिम्मा नलिने बताउँदै अहिले पोष्टमार्टमको सहजताका लागि जाहेरी दिएको दाजु यामबहादुर बताउँछन् । अर्धनग्न अवस्थामा फेला परेकी महिलाको घाँटी, टाउकोमा समेत चोट छ ।
मृतकका ससुरा सूर्यबहादुर बुढाथोकीले घटनामा जोसुकै संलग्न भएपनि कडा कारवाही हुनुपर्ने बताए । ‘हामी पनि यसमा साथ दिन्छौं भनेर नै जाहेरी दिन इलाका प्रहरी कार्यालयमा आइपुगेका हौं ।’ उनले भने । आफूले जानेबुझेसम्म अहिलेसम्म छोराबुहारीको सम्बन्ध धमिलिएको नपाएको उनले बताए ।
धरान उपमहानगरपालिका–६ स्थित पञ्चकन्या सामुदायिक वनमा सोमबार दिउँसो महिलाको शव फेला परेको थियो । गोठालो गएकाहरुले वनभित्र लसुनेको रुखमुनि अर्धनग्न अवस्थामा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
महिलाको घाँटी कसेर हत्या गरेपछि लसुनेको रुखमुनि अडेस लगाएर शव छाडेजस्तो देखिएको प्रहरीको भनाइ छ । शवको कम्मर मुनिको कपडा खोलिएको अवस्थामा थियो । प्रहरीका अनुसार अन्यत्र हत्या गरी महिलाको शव घिसारेको जस्तो, कोहीसँग फाइट परेको जस्तो पनि देखिन्छ । दाजु यामबहादुरका अनुसार मृतकको कपालको चुल्ठोमा अहिले पनि घाँस रहेकोले त्यहाँ उनीहरुबीच केही घम्साघम्सी हुनसक्ने आंकलन गरेको बताए ।
महिलाको पहिचान खुलेपछि प्रहरीले हत्याको आशंकामा अनुसन्धान गरिरहेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा महिलाको हत्या गरी शव जंगलमा छाडेको जस्तो देखिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार ३३ वर्षीया ती महिलाको घाँटीमा चोट छ ।
सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले शव भेटिएपछि अनुसन्धान सुरु गरेको बताए । उनले घटनास्थलबाट शवलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिएको र पोष्टमार्टम रिपोर्ट आएपछि थप खुल्ने उनले जानकारी दिए । घटना शंकास्पद भएकाले सुक्ष्मरुपमा अनुसन्धान भइरहेको तिम्सिनाले बताए । ‘कतिपय घटना हेर्दा आफन्ततिरै सोझिएकोजस्तो देखिएपनि थप अनुसन्धान भइरहेको छ, हामी चाँडै निक्र्यौलमा पुग्छौं,’ उनले थपे, ‘आजदेखि थप नयाँ क्लू भेटेका छौं, सोही क्लू खोज्दै हामीले थप अनुसन्धान गरिरहेका छौं ।’

प्रकाशित मिति: चैत्र २८ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend