धरानः धरान बास्केटवल संघको आयोजना, सुनसरी बास्केटवल संघको प्राविधिक सहयोग तथा धरान उपमहानगरपालिकाको संयोजनमा यही वैशाख ३ गतेदेखि १० औं बास्केटवल ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्प सुरु हुने भएको छ ।
बास्केकटवल खेल विकास तथा खेलाडी उत्पादन गर्ने उद्देश्यले बास्केटबल संघले नियमितरुपमा ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्पको आयोजना गर्दै आइरहेको छ । विशेष गरेर एसईई दिएका विद्यार्थी लक्षित कार्यक्रम भएपनि बास्केटबल सिक्न इच्छुक सवैलाई प्रशिक्षण क्याम्पमा सहभागी गराइने सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदीले जानकारी दिए । ट्यालेन्ट हन्टमा सहभागी एसईई दिएका उत्कृष्ट विद्यार्थी खेलाडिहरुलाई भने धरानका विभिन्न कलेजमा छात्रवृत्ति सिफारिस गरिने बास्केटवल ंसंघले जानकारी दिएको छ ।
यसअघि ९ औ ट्यालेन्ट हन्टका करिव दुई दर्जन महिला पुरुष विद्यार्थीहरुलाई धरान मेघा हिमालयन कलेज र डिपो स्कुललमा कक्षा ११ र १२ कक्षाका लागि छात्रवृत्तिमा सिफारिस गरिएको उनले जानकारी दिए । अहिले उनीहरु विद्यालयबाट बास्केटबल खेल्दै अध्ययन समेत गरिरहेको अध्यक्ष सुवेदी बताउँछन् । संघले अहिलेसम्म दुईसय भन्दा बढी खेलाडी विद्यार्थीहरुलाई निःशुल्क छात्रवृत्तिमा अध्ययन गराइसकेको उनको भनाइ छ । प्रशिक्षण क्याम्प तीन हप्तासम्म चल्नेछ ।
प्रशिक्षण क्याम्प धरान १६ स्थित धरान रंगशालामा रहेको इन्डोर बास्केटबल कोर्टमा हुनेछ । बिहान ६ बजेदेखि ८ बजेसम्म चल्ने प्रशिक्षण क्याम्पमा सहभागीहरुलाई राष्ट्रिय बास्केटबल प्रशिक्षक विकास चाम्लिङ राई, राष्ट्रिय बास्केटवल खेलाडी डा. आशा राई, कोशी प्रदेश बास्केटबल खेलाडी सुशन श्रेष्ठ, दिवस राई, आस्था राई, एल्भिना गुरुङ, निवा लिम्बू, शितल तामाङ, युगल लिम्बू, चिरञ्जिवी गिरीलगायतले प्रशिक्षण दिने आयोजकले जनाएको छ ।