Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा कोशी प्रदेशभरीबाट एसईई दिएका प्रतिभावान विद्यार्थी खोजियो, बिजेताले ५० र ६० हजार नगद र कक्षा-११ र १२ निःशुल्क पढ्न पाउने

हाम्रो कोशी आवाज
चैत्र ३० २०८१, शनिबार
धरानमा कोशी प्रदेशभरीबाट एसईई दिएका प्रतिभावान विद्यार्थी खोजियो, बिजेताले ५० र ६० हजार नगद र कक्षा-११ र १२ निःशुल्क पढ्न पाउने

धरानः धरानमा कोशी प्रदेशभरीबाट एसईई दिएका प्रतिभावान विद्यार्थीहरु खोजिएको छ ।
‘शिक्षाका लागि संगीत’ नाराका साथ कोशी प्रदेशस्तरीय ‘एसईई आइडल सिजन ५’ नाम दिइएको कार्यक्रममा गायन (सिङ्गीङ), नृत्य (डान्सिङ) र वक्तृत्वकला (बोल्नेकला अर्थात् स्पीच) गरी तीन विधामा विद्यार्थीको प्रतिभा खोजिएको हो ।
फक्ताङलुङ मिडिया हाउस प्रालिद्वारा सञ्चालित एफटिएल टिभी र फक्ताङलुङ खबर डटकमको आयोजनामा एसईई आइडल सिजन ५ ‘सिङ्गीङ, डान्सिङ र वक्तृत्वकला’ को लागि पहिलो अडिसन धरानमा भव्यताका साथ सम्पन्न भएको छ ।
शनिबार भएको फिजिकल अडिसनमा १५० जना एसईई दिएका छात्रछात्राले तीनवटै विधाका प्रतियोगितामा भाग लिएको आयोजक संस्था अर्थात् फक्ताङलुङ मिडिया हाउस प्रालिका अध्यक्ष एवम् प्रतियोगिताको परिकल्पनाकार डम्बरकुमार तुम्बापोले जानकारी दिए । ‘फिजिकल र डिजिटल गरेर करिब ७ सय जना विद्यार्थीले सहभागिता जनाउनेछन्’, उनले भने, ‘प्रदेशभरीका लगभग १४ वटै जिल्ला (सुनसरी, मोरङ, झापा, इलाम, ताप्लेजुङ, पाँचथर, धनकुटा, उदयपुर, तेह्रथुम, भोजपुर, संखुवासभा, खोटाङ, ओखलढुङगा, सोलुखुम्बु) का विद्यार्थीले अडिसनमा सहभागी जनाउनेछन् ।’
सेकेण्ड राउन्ड आगामी वैशाख १३ गते हुने आयोजकले जनाएको छ । ‘फिजिकल अडिसनमा आउन नभ्याउनेहरुका लागि र छुटेका अन्य विद्यार्थीको लागि वैशाख १२ गतेसम्म अडिसनका लागि खुल्ला गरिएको छ’, अध्यक्ष तुम्बापोले भने, ‘उनीहरुले पनि अडिसनमा सहभागिता जनाएर छनौटमा परे १३ गते सेकेण्ड राउन्डमा सहभागी हुन पाउनेछन् ।’
कार्यक्रमको निर्णायकहरुमा गायनतर्फ गायक विकास लिम्बू तुम्बापो, विनायक राई र नृत्यतर्फ राष्ट्रिय कोरियोग्राफर प्रितम सम्वाहाम्फे, नृत्यङ्गना रेश्मा राई रहेका थिए । यस्तै, वक्तृत्वकलातर्फ डा. सुभाष न्यौपाने र प्राध्यापक विद्या झा रहेका थिए । छनौट भएकाहरुको नतिजा भोलि प्रकाशित हुने आयोजकले जनाएको छ ।
बालबालिकाहरुमा लुकेर रहेको प्रतिभालाई बाहिर ल्याउन यस्तो कार्यक्रम गरिएको अध्यक्ष तथा परिकल्पनाकार तुम्बापो बताउँछन् । ‘हरेक बालबालिकामा कुनै न कुनै आन्तरिक क्षमता, प्रतिभा वा विशेषता हुन्छ । त्यो क्षमता वा प्रतिभा प्रदर्शनका लागि उनीहरूले उचित अवसर पाउनुपर्छ भनेर कार्यक्रम आयोजना गरिएको हो’, उनले भने ।
प्रतियोगिताअन्तर्गत नृत्य र गायनतर्फका बिजेताले नगद ५० हजारसहित कक्षा–११ र १२ निःशुल्क प्लस टु पढ्ने अवसर, निःशुल्क मुस्ताङ भ्रमणको व्यवस्था गरिएको छ भने वक्तृत्वकलातर्फको बिजेताले नगद ६० हजार र कक्षा–११ र १२ निःशुल्क प्लस टु पढ्ने अवसर, निःशुल्क मुस्ताङ भ्रमणको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
यस्तै, फस्ट रनरअपले ३० हजार, प्लस टु पढ्न ५० प्रतिशत छात्रवृत्ति, अन्य गिफ्ट ह्याम्पर, सेकेण्ड रनरअपले २० हजार, प्लस टु पढ्न ३० प्रतिशत छात्रवृत्ति, विभिन्न गिफ्ट हयाम्पर प्राप्त गर्ने आयोजकले जनाएको छ । यसका साथै विभिन्न सब–टाइटलहरू पनि प्रदान गरिने आयोजकले जनाएको छ ।
२०७५ सालमा पहिलोपटक ‘एसइई स्टेट १ आइडल’ नामक प्रतियोगिता शुरु भएका थियो । प्रतियोगिताको फाइनल जेठ अन्तिम साता हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: चैत्र ३० २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend