धरानः प्रहरीले धरान–६ पानबारीस्थित जंगलमा अर्धनग्न अवस्थामा मृत भेटिएकी चुनकुमारी बुढाथोकीको हत्या भएको निष्कर्ष निकाल्दै चाँडै सार्वजनिक गर्ने तयारी गरेको छ । करिब एकसाताअघि उनको शव जंगलमा भेटिएको थियो ।
‘१०० प्रतिशत सफल भइसकेका छौं, साँच्चै भन्ने हो भने हामी हत्याराको नजिक पुगिसकेका छौं’, सुनसरीका एसपी सुमनकुमार तिम्सिनाले फोन सम्पर्कमा भने, ‘चाँडै नै हत्यामा संलग्नलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गर्नेछौं ।’ चुनकुमारीको जंगलमै लगेर योजनाबद्ध ढङ्गले हत्या नै भएको अनुसन्धानमा देखिएको उनले जानकारी दिए । ‘उनको हत्या भएको निष्कर्षमा प्रहरी पुगेको र आरोपीहरूबारे अनुसन्धान भइरहेको छ, नयाँ क्लू भेट्टाइसक्यौं’, उनले भने ।
ती महिलाको टाउको र शरीरका विभिन्न भागमा चोट देखिएको र सशंकितहरुमध्ये चारजनालाई पक्राउ गरेर सोधपुछ गरिरहेको उनले जानकारी दिए । पोष्टमार्टम प्रतिवेदन र घटनास्थलको निरीक्षणपछि हत्या ठहर गरेको र केही शंकास्पद व्यक्तिको औंठा छापको नमूनासमेत संकलन गरिसकेको उनले जानकारी दिए ।
मृत भेटिएकी चुनकुमारीको शव पोष्टमार्टमपछि अन्त्येष्टी गरिसकिएको छ । कुकुरसहित अनुसन्धानमा परिचालित प्रहरीले घटनालाई सुक्ष्म ढङ्गले हेर्दै हत्याको निष्कर्षमा पुगेको हो । एसपी तिम्सिनाले अहिले प्रहरीले महत्वपूर्ण प्रमाण फेला पारिसकेको भएपनि अझै अनुसन्धान भने जारी राखेको जानकारी दिए ।
‘हामीले महत्वपूर्ण प्रमाण भेटाएका छौं, हामी अहिले शङ्का लागेकालाई सोधपुछ गर्नेदेखि नियन्त्रणमा लैजानेसम्मका काममा लागेका छौं, चार जना पक्राउ परिसकेको र अन्यको पनि खोजी भइरहेको छ, अनुसन्धानको नजरमा परेकाको घटनासँग संलग्न रहेको सत्यतथ्य र प्रमाणित प्रमाण जुटेपछि थप केही व्यक्तिलाई नियन्त्रणमा लिई हामी तपाईहरुलाई जानकारी दिन्छौं, अहिले सबै कोणबाट अनुसन्धान गरिरहेका छौँ, यति भनौं हामी हत्यारानजिक नजिक पुगेका छौं’, एसपी तिम्सिनाले भने । उनी थप्छन्, ‘हामीले पहिलो चरणको अनुसन्धान प्रक्रिया पूरा गरेका छौं ।
बाख्रा चराउन गएकाहरुले वनभित्र लसुनेको रुखमुनि अर्धनग्न अवस्थामा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । लसुनेको रुखमुनि अडेस लगाएर शव छाडिएको थियो । शवको कम्मरमुनिको कपडा खोलिएको अवस्थामा थियो । प्रहरीका अनुसार हत्या गरी महिलाको शव घिसारेको जस्तो, कोहीसँग ‘फाइट’ परेको जस्तो पनि देखिन्छ ।
धनकुटाको महालक्ष्मी नगरपालिका २ घर भएकी चुनकुमारी छोरा पढाउन इटहरीको हलगडामा डेरामा बस्दै आएकी थिइन् । उनको श्रीमान प्रेम वैदेशिक रोजगारीको क्रममा दक्षिण कोरियामा छन् । प्रहरीले शकास्पद ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान प्रभावकारीरुपमा अघि बढाएपछि पोस्टमार्टम गर्ने वातावरण बनेको थियो । र अन्यबारे थप अनुसन्धान थालिसकेको र अन्य केही व्यक्ति पनि पक्राउ पर्ने एसपी तिम्सिना बताउँछन् । पाँचकन्या जङ्ल रुखको फेदमा अडेस लागेको अवस्थामा मृत भेटिएकी बुढाथोकीको हत्यामा संलग्न रहेको आरोपमा उनका देवर, देवरानीसहित चारजनालाई प्रहरीले पक्राउ गरिसकेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा मृतकका देवर, देवरानी, नन्द र एक सहयोगी छन् । उनीहरुलाई गत बिहीबार राति झापा र मोरङबाट पक्राउ गरेको हो । घटनामा अन्यको पनि संलग्नता हुन सक्ने प्रहरीले जनाइएको छ ।
चुनकुमारीलाई फकाएर सो जङ्गल क्षेत्रमा पुरयाइ हत्या गरिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनको घाँटी र शरीरका अन्य भागमा चोट देखिएको प्रहरीको भनाइ छ ।