धरानः धरानमा अर्धनग्न अवस्थामा मृत भेटिएकी ३४ वर्षीया चुनकुमारी दाहाल (बुढाथोकी) को हत्या डरलाग्दो, क्रुर यातना र पासविक किसिमले भएको खुलेको छ ।
उनको हत्या गर्नका लागि कोरियामा रहेका श्रीमान् ३१ वर्षीय प्रेमबहादुर बुढाथोकीले नै योजना बनाएको र सोही योजनाअनुसार नेपाल र भारतमा रहेका आफन्तले नै मिलेर हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीको दावी छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमनकुमार तिम्सिनाका अनुसार श्रीमान् प्रेमबहादुरले आफ्नी श्रीमतीको हत्याका लागि पैसा समेत खर्चेको अर्थात् अर्पेको खुलेको अनुसन्धानले देखाएको छ ।
प्रहरीका अुनसार भारतमा रहेका नातामा आफन्त नै पर्ने आसाम राज्यको तेजपुर खकन बस्तीका ३५ वर्षीय राजु थापा मगर र प्रेमबीच पहिला नै लेनदेनको कारोबार रहँदै आएको थियो । राजु नाताले प्रेमको भाइको श्रीमतीको दाजु हुन् । प्रेमलाई राजुले तिर्नुपर्ने लेनदेनको करिब २२ लाख नेपाली रुपैयाँ हत्यापछि नतिर्नुसमेत भनेको पाइएको प्रहरी अनुसन्धान भन्छ । ‘खासमा भन्ने हो भने राजुले प्रेमलाई करिब २२ लाख नेपाली रुपैयाँ तिर्नुपर्ने रहेछ, काम सम्पन्न भएपछि सो पैसा तिर्नुपर्दैन समेत भनेको पाइयो’, एसपी तिम्सिना भन्छन् । वैदेशिक रोजगारका लागि कोरियामा रहेका प्रेमबहादुरलाई समेत प्रहरीले पक्राउ गरिसकेको जनाएको । उनले यसबारेमा प्रेमबहादुरबाट थप कुरा खुल्ने समेत बताए ।
मृतकका श्रीमान् प्रेमबहादुरलाई कोरियाबाट आएलगत्तै प्रहरीले वैशाख ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिसकेको छ । शुरुमा प्रेमबहादुरलाई झिकाउन प्रहरीले रेडकर्नर नोटिस जारी गर्ने तयारी गरेको थियो तर घटनाबारे थप अनुसन्धान गर्न ढिलो हुने हुनाले उनलाई नेपाल ल्याउन निकै फकाइफुल्याइ गर्नुपरेको प्रहरीले जनाएको छ । ‘शुरुमा आउन नचाहेको र पछि तपाई यस घटनामा मुछिनुहुन्नँ भनेर निकै फकायौं’, एसपी तिम्सिनाले भने, ‘त्यसपछि उनी आउन राजी भए र उनलाई वैशाख ३ गते विमानस्थलमा आइपुग्नेवित्तिकै नियन्त्रणमा लियौं ।’
अनुसन्धानले घटनामा कुल ६ जनाको संलग्नता रहेको देखाएको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगुका अनुसार घटनाको मुख्य योजनाकार धनकुटाको महालक्ष्मी नगरपालिका २ का प्रेमबहादुर नै हुन् । उनी दुई महिनाको छुट्टीमा नेपाल आउँदा नै हत्याको योजना बुनिसकेको प्रहरीको दावी छ । पछिल्लोपटक प्रेमबहादुर मंसिर २७ गते नेपाल आएका थिए भने माघ ५ गते पुनः कोरिया फर्किएका थिए । ‘खासमा भन्ने हो भने इटहरीस्थित हलगडामा रहेको श्रीमतीको डेरा कोठामा पनि दुईदिनमात्रै बसेको खुलेको छ, त्यही बेलादेखि नै उनले योजना बुन्दै दक्षिण कोरिया पुगेको र श्रीमती चुनकुमारीलाई हत्या गर्ने योजना बनाएको समेत पाइएको छ ।’ एसपी तिम्सिना भन्छन् ।
प्रहरीले मोरङ पथरी शनिश्चरे नगरपालिका ३ संगमचोक बस्ने प्रेमको आफ्नै भाइ २९ वर्षीय ढकेन्द्र बुढाथोकी र उनकी श्रीमती २५ वर्षीय सृष्टि बुढाथोकीलाई पनि पक्राउ गरेको छ । यस्तै, प्रेमका कान्छा ज्वाइँ पाँचथरको मिक्लाजुङ गाउँपालिका ७ लुमाङदिङ घर भई मोरङको उर्लाबारी नगरपालिका ५ फागुटोल बस्ने ३६ वर्षीय योगेन्द्र गौतम पनि पक्राउ परेका छन् । उनकी श्रीमती २८ वर्षीय डेनु गौतम र मोरङकै पथरी शनिश्चरे वडा नं ३ का ४० वर्षीय केशवराज दाहाल पनि पक्राउ परेका छन् ।
उनीहरु गत चैत २९ गते नै पक्राउ परेका हुन् । ढकेन्द्र बुढाथोकी, उनको श्रीमती सृष्टि, डोनु बुढाथोकी र केशवराज दाहाल घरबाटै पक्राउ परेका हुन् भने चैत ३० गते योगेन्द्र गौतमलाई नेपालबाट भारततर्फ भाग्दै गर्दा समातिएका हुन् ।
घटनामा संलग्न भारतीय नागरिक ३५ वर्षीय राजु थापा मगर भने भारततिरै लुकेका छन् । उनलाई पनि पक्राउ गरेर ल्याएपछि थप जानकारी आउने प्रहरीले जनाएको छ ।
धरान–६ स्थित पाँचकन्या सामुदायिक वनमा गत सोमबार दिउँसो गोठालाहरूले लसुनेको रुखमुनि अर्धनग्न अवस्थामा महिलाको शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि सुनसरी प्रहरी र प्रदेश प्रहरी कार्यालय विराटनगरले संयुक्तरूपमा अनुसन्धान थालेका थिए । प्रहरी अनुसन्धानबाट वैदेशिक रोजगारीका लागि कोरियामा रहेका प्रेम आफ्नी श्रीमतीको हत्याका लागि योजना बनाई कोरियाबाट नेपाल आएको खुलेको छ ।
सुनसरी प्रहरीले पक्राउ परेकाहरूको विरुद्धमा कर्तव्य ज्यान मुद्दामा सुनसरी अदालतमा ८ दिनको म्याद थपका लागि पेश गरेको छ । धनकुटाको महालक्ष्मी नगरपालिका १ की चुनकुमारी करिब २ वर्षअघिदेखि आफ्नो छोरालाई पढाउनका लागि सुनसरीको इटहरी उपमहानगरपालिका २, हलगडामा डेरा गरी बस्दै आएकी थिइन् । उनको माइती महालक्ष्मी नगरपालिका १ मा रहेको छ ।
घटना भइसकेपछि ती महिलाको टाउको र शरीरका विभिन्न भागमा चोट देखिएको थियो । प्रहरीले पोष्टमार्टम प्रतिवेदन र घटनास्थलको निरीक्षणपछि हत्या ठहर गरेको र केही शंकास्पद व्यक्तिको औंठा छापको नमूनासमेत संकलन गरेको थियो ।
प्रहरीका अनुसार पोष्टमार्टम रिपोर्टले पनि कुटपिटबाट चुनकुमारीको हत्या भएको निष्कर्ष निकालेको छ । इलाका प्रहरी कार्यालय धरानमा बिहीबार पत्रकार सम्मेलन गर्दै सो निष्कर्ष निकालेको हो ।
पारिवारिक बेमेलका कारण क्रुर तरिकाले यसरी हत्या भएको प्रहरीको निष्कर्ष छ । पारिवारिक बेमेल, चरम असन्तुष्टिका कारण सो जंगलमै ल्याएर योजनाबद्धरुपमा चुनकुमारीको हत्या भएको प्रहरीले जनाएको छ । ‘पक्राउ परेका केही व्यक्तिका अनुसार श्रीमान प्रेमले श्रीमती खासै राम्रो नभएको बताउँदै आएको पनि खुल्न आएको छ’, एसपी तिम्सिना भन्छन्, ‘भाइचाहिँले पहिलादेखि नै मारेर फालिदिन्छु समेत भन्ने गरेको पाइएको छ, यसबारेमा प्रमाणयोग्य बनाउन थप अनुसन्धान गरिरहेका छौं ।’
जसले मोटरसाइकलमा पुरयाए जंगल
गत चैत २५ गते मध्याह्न साढे १२ बजे स्थानीयले खबर गरेपछि प्रहरी साढे १२ बजेको पुगेको थियो । अघिल्लो राति नै कुटपिट गरेर बलात्कार गरेर हत्या गरेको जस्तो पारेर शव छाडेर हत्यामा संलग्नहरु जंगलबाट हिँडेका थिए । घटनामा प्रयोग तीनवटा मोटरसाइकल प्रयोग भएको र ती मोटरसाइकल जंगलनजिकै ल्याइपुरयाएको समेत पाइएको छ । उनका अनुसार घटनामा प्रयोग भएको योगेन्द्र गौतमको प्रदेश १–०२–०४३ प ६८६२ नम्बरको मोटरसाइकल एक थान, मधेस प्रदेश ०३–०२६ प ७१४४ नम्बरको मोटरसाइकल एक थान र प्रदेश १–०२–००४४ प १०५९ नम्बरको मोटरसाइकल एक थान गरी तीन थान मोटरसाइकलसमेत बरामद गरिएको छ ।
योजनाबद्ध ढङ्गले चुनकुमारीसँगै रहेका छोरालाई अघिल्लो दिन नै पहाड घर पठाएर प्रेमबहादुरले आफन्त भेट्न पठाएको र योजनाबमोजिम राति जंगलमा ल्याएर कुटपिट गरेको खुल्न आएको प्रहरीको भनाइ छ ।
‘मोटरसाइकलमा जंगलसम्म आइसकेपछि ला बाटो भुलिएछ भन्दै बाटो हेर्न जाउँ भन्दै उनलाई हत्या भएको स्थानसम्म पुरयाउँछन्’, एसपी तिम्सिनाले भने, ‘पक्राउ परेका योगेन्द्रले मोटरसाइकलमा राखेर मृतक चुनकुमारीलाई जंगलसम्म पुरयाउँछन् । ज्वाइँ (योगेन्द्र) ले आफन्तकोमा जाने भनेर लैजान्छन् । जंगल पुगिसकेपछि बाटो अलमलिएँ भनेर बाटो खोज्न भन्दै खोलातिर जान्छन् र घटना हुन्छ ।’
घटनामा तीनवटा मोटरसाइकल प्रयोग भएको, जसमा एउटा मोटरसाइकलमा योगेन्द्र, बाँकी दुईमा भारतीय नागरिक राजु र मृतकका देवर ढकेन्द्र संलग्न रहेको एसपी तिम्सिनाले बताए ।
‘मुख्यगरी योगेन्द्र र भारतीय नागरिकको संलग्नता देखिएको छ । मृतकका देवर पनि सँगसँगै रहेको अनुसन्धानबाट खुलेको छ,’ उनले थपे, ‘पहिला कुटपिट र पछि मृतकले बोकेको ब्यागको फिताले बाँधेर हत्या गरिएको खुलेको छ ।’
योजनाबद्ध तरिकाले पारिवारिक बेमेलका कारणले घटना भएको र श्रीमतीप्रति शंकाबाट उब्जिएको परिणाम हो भन्न सकिने थुप्र्रै आधार रहेको प्रहरीको भनाइ छ । पोस्टमार्टम रिपोर्टमा पनि कुटपिटबाटै हत्या भएको देखिएको एसपी तिम्सिना बताउँछन् ।