धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा प्रतिष्ठानकै शिक्षाध्यक्ष प्रा. डा. सञ्जीवकुमार शर्मालाई जिम्मेवारी दिइएको छ ।
उनले सो जिम्मेवारी आजदेखि सम्हालेका छन् । गत चैत २६ गते देखि प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले आफ्नो ५ वर्षे कार्यकाल पूरा गरी अवकाश पाएपछि बिपी प्रतिष्ठान उपकुलपतिविहीन भएको थियो ।
वैशाख ४ गते प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीको निर्णय अनुसार स्वास्थ्य मन्त्रालयले शर्मालाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएको हो ।
बिपी प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त नहुँदासम्मका लागि शैक्षिक, प्रशासनिक, आर्थिक कार्य सुचारु गर्न साथै प्रतिष्ठानको काम कारबाही गर्न प्रा. डा. शर्मालाई नियुक्ति गरिएको छ ।
डा. शर्मालाई स्वास्थ्य मन्त्रालयले निमित्त उपकुलपतिको जिम्मेवारी दिएको प्रतिष्ठानका प्रा.डा. अन्जु प्रधानले जानकारी दिइन् । ‘उहाँले मन्त्रालयबाट निमित्त उपकुलपतिको जिम्मेवारी पाएको पत्र पाउनुभएको छ ।’ निमित्त उपकुलपतिको जिम्मेवारी पाउँदै गर्दा केही अधिकार पनि दिइएको उनले बताइन् ।
सर्पदंश विशेषज्ञ तथा मुटु र मिर्गौला रोग विशेषज्ञ प्रा.डा. शर्मा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त चिकित्सक हुन् । उनलाई गत पुस पहिलो साता तत्कालीन स्वास्थ्यमन्त्री भवानी खापुङले शिक्षाध्यक्ष पदमा नियुक्त गरेका थिए । उपकुलपति डा. ज्ञानेन्द्र गिरी भ्रष्टाचार मुद्दामा निलम्बनमा परेपछि बरियतामा दोस्रो रहेका प्रा.डा. शर्मा स्वतः निमित्तको उपकुलपतिका हकदार थिए ।
केही महिनाअघि प्रतिष्ठानका उपकुलपति गिरीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि स्वतः निलम्बनमा परेका थिए । कुनै आधिकारिक निकायबाट प्राप्त नभएको प्रोफेसर पद उपकुलपति भएपछि प्रयोग गरेर दुरूपयोग गरेको भन्दै डा. गिरीलाई भ्रष्टाचार २०७९ माघ महिनामा मुद्दा दायर समेत भएको थियो । त्यतिबेला पनि डा. शर्मा उनी निमित्त उपकुलपति नै थिए ।