धरानः धरान उपमहानगरपालिका वडा नं. ६ का २६ वर्षीय राकेश परियार लागूऔषधसहित पक्राउ परेका छन् । पानबारीबाट खटिएको प्रहरी टोलीले कोठामा खानतलासी गर्दा २.३१० ग्राम लागूऔषध (ब्राउन सुगर) फेला पारेको प्रहरीले जनाएको छ । उनले प्रयोग गर्ने को १९ प ३७३३ नम्बरको मोटरसाइकलसहित उनका साथी २८ वर्षीय धर्मचन्द्र गिरीलाई समेत नियन्त्रणमा इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकही सुनसरीबाट खटीएको संयुक्त टोलीले जिल्ला सुनसरी कोशी गाउँपालिका वडा नं.–१ भन्सार कार्यालय अगाडि भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको जिल्ला भोजपुर अरुण गाउंपालिका वडा नं.–५ बस्ने २६ वर्षीय तेजेन्द्र कार्कीलाई फेला पारी शंका लागेर खानतलासी गर्दा निजको साथबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम फेला पारेपछि उनी पनि पक्राउ परेका छन् ।
उनलाई पक्राउ गरी सोधपुछ गर्ने क्रममा उनले चलाई ल्याएको प्रदेश १–०२–००२ च ५३४८ नम्बरको गाडी जिल्ला सुनसरी कोशी गाउँपालिका वडा नं.–१ लौकही बजारस्थितमा पार्किङ गरी राखेको छ भनी बताएको हुँदा सो गाडी समेत खानतलासी गर्दा गाडीभित्र ११ वटा बोरामा प्याक गरेको अवस्थामा लागूऔषध गाँजा ३२३ किलोग्राम बरामद गरेको प्रहरीले जनाएको छ ।
यस्तै, लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकही सुनसरीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले ब्राउनसुगरसहित पाँच जनालाई पक्राउ गरेको छ ।
कोशी गाउँपालिका वडा नं. १ भन्सार कार्यालय अगाडि भारतबाट नेपालतर्फ शंकास्पद रूपमा पैदल आउँदै गरेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ओखलढुङ्गाको चिसंखुगढी गाउँपालिका–४ निवासी २७ वर्षीय राजन बास्तोला, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ का २० वर्षीय अनोज कुमार उँराव, भोक्राहा ३ का २५ वर्षीय रुपेश कुमार यादव, इटहरी उपमहानगरपालिका–१७ का २० वर्षीय मो. समीर खान र सोही ठाउँका २० वर्षीय राजेश पुरी रहेका छन्।
सुनसरी प्रहरीका अनुसार पक्राउ परेका बास्तोलाको साथबाट १.८४ ग्राम ब्राउनसुगर, उँरावको साथबाट १.२० ग्राम ब्राउनसुगर, खानको साथबाट ५.११ ग्राम ब्राउनसुगर, यादवको साथबाट १.५१ ग्राम ब्राउनसुगर बरामद गरिएको हो । पक्राउ परेका पाँचै जनालाई प्रहरीले अनुसन्धान गरिरहेको छ । पछिल्लो समय सुनसरीमा लागूऔषध प्रयोगकर्तालाई प्रहरीले हरेक दिनहुँजसो नियन्त्रणमा लिने गरेको छ ।